about

Saturday, 18 February 2012

स्यालको खुच्चिङ्


सबै एउटा न एउटा लक्ष्यले
एउटा न एउटा इरादाले
घुम्न निस्किन्छ
भन्ने हेक्कै नराखी
कालक्रममा मैले
सहरमा एकदिन पाइलो राख्दा
तँ बैगुनी मान्छे होइनस
मेरा नाममा
एकथान उखान नै बनाएर खिल्ली गर्ने ?

लौ म त दसा लागेरै सहर पसें रे
तँ चैं कुन आशिर्बादले छोपिएको छस् सहर पसेर ?
तेरा बाउले
गाउँमा बारीका कांल्लाको चिलाउने ढालेर
बर्षभरिलाई दाउरा जोहो गर्दैगर्दा
तँ आशिर्वाद  पाएर सहर पसेको मान्छे
रित्तो ग्याँसको भाँडो काँधमा हालेर
बाबुरामका नाममा एकभारी सराप
मुखाग्रे पारेर कुददैछस गल्लीमा

बेलुका काँचो चामल  भिजाएर चिनी छर्केर
टारेको छाकले छोडेर
तेरो कन्दनी घुँडाबाट तलै झरिसक्दा पनि
तँ दसा  नलागेर सहर पसेको
मनुवा लिट्टी कसेरै लागेको छस सहर पस्न

तेरा बाउले गाउमा छंगछंग काबेलीमा
'हरि हरि' जप्दै  पुण्य कमाउदै स्नान गर्दैगर्दा
तँ एक जर्किन पानीले सिर पाऊ पुछपाछ गर्छस
र अर्को एकभारि गालिसराप
पस्किन्छस केयूकेएलका नाममा
दशाले नभेट्दै सहर पसेको तँ मान्छे
डुंगडुंगति गनाउदै बस्छस
तर सहर नै बस्छस

तेरा बाउले एकदिनको बाटो हिनेर आई
अड्डाको काम सकेर फर्किसक्दा पनि तँ
पेट्रोलको ताँतीमै उँघिरहेको हुन्छस
एक डोको गालिसराप
आयल निगम र सरकारका नाममा तर्पण दिंदै

तँ भाग्य चम्केर सहर पसेको मनुवा
सरकारलाई सरापेर
मरितरी बाँच्न बानी  परिसकेको
दुर्व्यसनी होस दुर्ब्यसनी

तेरी आमाले
बारीका बोडी मूला रायो ल्याई केलाउदै गर्दा
तँ यहाँ एक मुठो साग किन्दा
अठार गाँठा पारेको गोरु अघाउने पराल छान्दै हुन्छस
ढलमतीमा स्नानादी कर्म गराएका
काउली र गाँजरमै दिल बसेको तँलाई
भोलि बिहानै पाइखानामा
पचहतर...पचहतर....पचहतर
गनेर टोलै थर्काउनु छ तँलाई
भाग्य चम्केर सहर पसेको जो परिस

उता
तेरा घरमाथिको सल्लेरी सुनसान छ
डाँडाका जुन भका
बाउआमाका जिर्ण  पाखुरीले कति थेग्नु ?
खेतबारीको  चाकर नपुगेर
मुरी घटेर मुठीमा पुगीसको
घाँसपात सेउला
पत्कर रनवन अलपत्र छ
निर्जन छ

अचेल
भेडाबाख्रा चर्न जंगल आउन छोडेकाले
आँगन बारीमा डुल्ने कुखुरालाई
तँ बैगुनी मनुवाले पोल्ट्री फार्म भन्दै
झ्यालखाना हालेपछि
गाउँमा आहारको चरम  अभाव हुन थालेर
हामी स्यालहरु लोप हुने खतरा बढ्दै जाँदा
सहरमा खाद्यान्न स्थिति बुझ्न
अध्ययन भमणमा निस्किदा
उखान बनाई बनाई पेल्ने तँ बैगुनी मनुवा
भेटिस अहिले
खुच्चिङ!!!!! खुच्चिङ!!!!!!!

बस सहर नै बस
पस अझै सहर नै पस
भोकले कन्दनी खुकुलो भए पनि बस
तिर्खाले काकाकुल भए पनि बस
अभाब, महँगी, भिड, प्रदुषण
बिना बाँच्नै नसक्ने भइसकेको तँ
लेकको याकलाई नेपालगन्ज होस न
तँलाई सफा शान्त सुन्दर
हराभरा गामबेंशी होस

बस सहर नै बस
पस अझै सहर नै पस
छिरिसकेको कन्दनी बरु अलिक कस
तर सहर नै बस.

 यम घिमिरे
टोरन्टो, क्यानाडा


 






काकाकुल नै बाँच्छस