चरणकमलमा लम्पसार परें बा.
सन्चै छु बा. र, पशुपतिनाथका कृपाले संबिधान बन्ने नबन्ने टुंगो भइनसके पनि बाचैं उनै भगवानका कृपाले सन्चै हुनुहोला भन्ने पुरापुरी विश्वासका साथ यो चिर्कटो कोर्दैछु.
बाटामा
म सुबिस्तैसँग आइपुगें भन्दा हुन्छ बा. बाटामा अलिअलि परेको अलमल बाहेक कुनै कठिनाई भएन यो पैसा टिप्न पाइने ठाउँमा आइपुग्न बा. 'वायुका बेगले रथ हो उडाई पुर्यायो दैंतेका देस' भन्ने बाको पुरानु शिलोक कै ताकमा त्यहाबाट हिनेका भोलिपल्ट मलाई त्यो उडाउनेले उडाको उडाई ल्याइपुर्यायो यो बिरानो देशमा. बाटामा लन्डन भन्ने ठाउमा एक रातको बास बस्नु परो बा. विमानस्थलमै गुल्जार गरियो. बाहिर निस्किन पाउनु छैन के गर्नु बा. हुन त बाहिर निस्किन पाए नै पनि कहाँ जानु थ्यो र. कहाँ जान्छस् हराउने बिलाउनेका देसमा भने झैं. त्यहाँ न सुत्न पाइयो न भनेजस्तो केही खान पाइयो. नाम नजानेका दुदुईटा पाऊरोटीका लामालामा सुम्ला किनेर निल्यौं र रातभरि एक अर्को नेपाली साथी र म बरालियौ तेतैहुँदो. एउटा कामदारले चिया पसलका बेन्चिमा सुत अब ग्राहक आउदैनन भनो र राति एक बजेपछि एसो झोलाको सिराने लाएर झकाउन थाल्या अर्को आएर खाँउलाझैं गरेर उठायो बा. दुई लाती भेटेको खिच्चोझैं झोला टिपेर त्यहाँबाट उठी अलि पर गएर बसियौ हामी रातिमास. बाले ठान्नु भो होला किन बास बस्ने ठाउँ थिएन र भनेर.थ्यो नि बा. अस्ति ओगटीसक्नु पर्ने रछ नेट वा फोनबाटै बास बस्ने ठाउँ. कहाँ हाम्रो पाख्रिबास, खन्युबास अमलेबास जस्तो सिधै गएर लजमा सुत्न पाइने हो र छ र बा. एउटीले कोठा छ त भनी एक ठाउँमा. कति खाको बसेको भनेर सोधेको त हाम्रो पाखो बारीको दाम जति भनी बा. गरिब रुपियाँलाई धनी डलरमा साटेर कम्मरमा बाँधेको ख्याउटे बिटोले आँट गर्नै सकेन नि बा. तै जसोतसो रात काटियो र फेरि उडियो आकाशमा.
कामधन्दा
के काम गर्छस के पाउँछस जाने बित्तिकै चिठी लेखिहाल्नु भन्नु हुन्थ्यो बा. काम पाउनै एता ढुन्मुनिदा उता ढुन्मुनिदा महिना दुएक त एसै बितिगए. अहिले बल्लतल्ल काम पाको छु बा. अब काम चैं के गर्छस भन्ने खुल्दुली बालाई लाग्ने नै भयो. यता जस्तो के गर्छस भन्दा काम गर्छु भनेर सुख पाइने होइन रछ हाम्रो चलन. के काम मह्नामारी कति दाम अर्काको सबै खुन्खोत्रो पहिल्याउन पाए मात्रै खाको आंग लाग्ने हाम्रो चलनमा बालाई पनि अघि मनमा पसिसको होला के र कति भन्ने. अरु कुरा तेस्तै हो बा म काम गर्छु र तलब रुपियामा होइन डलरमा आउछ. अब म कमाइ होइन खर्चको विवरण दिन्छु तेत्रो बार छोरा तेरा नातिका धनि भुक्तभोगी बाले आफैँ जान्नु. महिनामा साठी हजार कोठाभाडा, खान्तेपिन्ते अरु महिनाको पैंतीस हजार, फोनसोन, मटर कुदाउदा अरु लाखार्लुखुर महिनाको अर्को बीस हजार खर्च. औंला भाँचेरै क्यालकुलेटरलाई जित्ने हाम्रा बालाई अब के भनिरहनु पर्ला र. यसमा अलेली बचेखुचेको छोराकै कमाइ हो भनी जान्नु बा.
कामकै कुरा गर्नु पर्दा बा म गोरु नै नार्छु भने हुन्छ. झिसमिसे हुँदा नारने गोरुलाई बाले भालेका डाकमा उठेर घाँसपराल हालेझैं म नि यहाँ बिहान झिसमिसेमै उठाउने गरी घडीचराको आवाज निकाल्ने धून मिलाएर मोबाइललाई कानैका छेउमा सुताएर सुत्छु. तेसले बिहान 'कुखुरी काँ' भनेर बासेपछि म जुरुक्कै उठ्छु. म घरमा हुदा बाले उठ भनेको १ घण्टा पछि बल्लतल्ल तिनसल्ली घामले ढाड तताएपछि मात्र उठ्थें नि बा त्यो सब अब इतिहास भयो बा. घरमा हुदा जस्तो एकभारी टाँकीका सेउला झारेर आउदा ऐया ऐया मरें मरें भनेर धर पाउदिन बा मैले यहाँ. थाकें गलें, खुइय, ऐया सबै गाएप भका छन् बा. बाआमा छन् भनेर पो मरें गलें भुतुक्क भएँ भन्न मन लाग्दोरछ त,कोहि नदेखेपछि त गलाइ, थकाइ, हिउँ, असिना, पसिना सबै कुन बाटो आउछन कुन बाटो जान्छन पत्तै नहुने रछ नि. छोरो बनाउनु छ भने घरबाट लखेट्नु भनेको त तेसै कहाँ हो रछ र तिमी पुर्खाहरुले. जीवन भोगाइका अनेक प्रसङ्गमा तिमीहरुले जानेरै उखानटुक्का रचेका रछौ नि. यहाँ जस्तो ऐया आत्था नभनी खट्नु हो भने बा त्यो हाम्रा घरमाथिको मैनाचुली खारेर हवाइजाज गिराउन बनाउन त बेर नै नलाग्ने रछ नि. हामी त नेताले देस बनाएनन बनाएनन भनेरै बिहानदेखि बेलुकासम्मको बार घन्टामा मुस्किलले ४/५ घण्टा काम गरेर अरु जम्मै समय फलाना र ढिस्कानालाई सराप्दै उसका कुरा काट्दै बिग्रेको जति उसैका थाप्लामा मात्रै पार्दै आफूचैं जगतकै भलो अरु सबै बिगाती भन्दै चोक चौतारो रुगेरै बिग्रेका रहेछौं बा. देश बनाउने त जनताले रहेछ बा यहाको देखिजानेको कहन मिल्छ भने. नेताले चैं रित बाँधिदिएर आफू पनि रितमा बस्ने अरुले नटेरे तलबाट तरल र ठोसएकैचोटी निस्किने गरी पेल्ने व्यवस्था मिलाउने रछ बा. एति गरे आधाउधी देश तेसै बन्ने रहेछ बाँकी आधा तिनका घोषणापत्रले बनाउने रहेछ बा. हाम्रामा त अस्ति कानुन नमान्ने चोरका खन्तिले कता प्रहरीलाई नै माफी पो माग्न लगाए रे नि कानुन रित पालना गर भन्दा. यहाँ त बा काल, कर र कानुन यी तीनसँग जोरी खोज्नु भनेको साढेसातलाई सिधै निमन्त्रणा कार्ड पठाउनु जस्तै हो रे. यहाँ त सरकारी जागिर खाऊ कि सडकमा गिट्टी कुटेर पेट पाल आफ्नु कमाइको गच्छेअनुसार सरकारका ढिकुटीमा नहाली घर लान्छु भनेर नचिताए पनि हुन्छ बा. हाम्रामा त के भन्नु र यी तीनसँग जसले बढी जोरी खोज्छ उही पुज्य हुन्छ. हाम्रो देश त नेताले बिगारेको जनताले सघाएको देश रहेछ बा. हाम्रामा त छोराले कर छलो भने बाठो छोरो जन्माएकोमा बाबु दङ्ग, लोग्नेले कर छले कागका फुल चोर्ने लोग्ने पाएकोमा स्वास्नी दङ्ग.बालाई एउटा सानो चिठीमा कस्ताकस्ता जुँगामुठेहरुले बनाउन नसकेको पुरै देश नै बनाउने योजनाका मन्त्र सुनाउदा दिक्क लागिसको होला. मुले के खान्की खान्छ, के लाउछ, उकालोओरालो, खोलानाला, खेतबारी के कसो छ लेख्छ होला भन्या त अनेकका कैरन ल्याएर झिंझो पो लाउछ भनिसक्नु भो होला बा.
खानपान
बा म मुख्यरुपमा पाउरोटी बढी खान थालेको छु अचेल. पिज्जा भनिने अनेकथोक हालेर साँधेको गहुँको भुकुरचाँदे रोटि भनेपछि यहाँ सबै हिरिक्क हुन्छन्. बा सबै भन्दा ठुलो कुरा त गहुँ पो रछ त गहुँ. यहाँ गहुँले नै बचाको हुदोरछ जुनमा पनि पुग्ने अनेकथरिका यन्त्र बनाउने बैज्ञानी(क)हरुलाई पनि.गहुँको पीठोले बनाका मात्रै चौराशी थरिका ब्यन्जन छन् यहाँ. पिज्जा भनिने त्यो भुकुरचाँदे रोटि खाएपनि, नुडल भनिने आन्द्रे लुर्का सुलुलु निलेपनि, बर्गर भनिने पाउरोटिका पाप्राका बीचमा घाँसपात च्यापेर खाएपनि, हट डग भनिने अर्को खाले पाउरोटी चपाए पनि, पास्ता भन्ने खाए पनि, स्पाघेट्टी हुले पनि जे खाए पनि जसो गरे पनि गहुँ कै वरिपरि च्यापू हल्लाइरहेको हुन्छ मान्छे. म नि झोलामा तेही भुकुरचाँदे रोटि च्यापेर कामथलो र बासथलो गर्न जान्ने भैसकेको छु बा अहिले. अनि चामल पाइदैन त भन्नु होला. किन नपाउनु नि. भारत स्लमडग मिलिनियर बनाएर आफ्नो गरिबी र भोकमरी देखाएर भएभरका अस्कर एक्लै कुम्ल्याउछ. उता एक पाप्रो रोटी नपाएर हाहाकार एता भारतीय बासमती चामल फालाफाल बा. चोर औंलाको आधिआधि लामा सुरिला कन्चन बियाँ भुस ढुङ्गा केही केलाउनु नपर्ने चामलका राजस्थानी, कश्मिरी प्रकार पाइन्छन बा. मान्छे संसारका सबै देशबाट आको भएर तिनका खान्की पनि आउने नै भए आका छन् बा यहाँ. काममा भात खाने छुट्टीमा छेउको अफ्रिकी इन्जरा भन्ने कोदाको रोटी जस्तो देखिने थोक खान्छ, छेउकी चिनियाँले एउटा सुँगुरको खुर र अलिकति रायोका सिंगै पातसँग मिसाएर पकाको एक मुठी भात खान्छे, अर्को पोल्यान्डको ठिटो छाला तरेको गोरुको पुच्छरको उसिनेको परिकारलाई पाउरोटीमा मिसाएर हसुर्छ, देब्रे पट्टिको इरानी भिल भनिने बाच्छाबाच्छीको मासुमा जिब्रो फड्कार्छ बा. कहिलेकाहीं खानेकुराहरु बाँडेर खाने चलन पनि गर्छन. त्यो बेला सारै सकस पर्छ. म 'धन्यवाद, म पूर्ण छु' भन्दै उम्किन्छु. म गाई खान्न गोरु खान्न पनि भन्दिन बा. तेसो भए घिच्छस त भन्नु होला फेरि बाले. होइन बा. एकपल्ट एउटा बेल्जियमको अधबैसेलाई म खान्न म हिन्दु हुँ भनिहेरेको त्यो मुलाले त अंग्रेजहरुले भारतमा २०० बर्षसम्म गरेको राज्यदेखिको कुरा ल्याएर मलाई पेल्न खोज्यो. हिन्दु संकीर्ण हुन्छन, जातभात छुवाछुत मान्छन, फुटाउ र राज गरमा यी माहिर छन् आदि आदि अनेक भनेर फतुर लायो.अनि उसको क्रिस्तानी धर्मचैं राम्रो, मानवताबादी, भेदभाव नगर्ने भन्दै भन्दै ल्याएर बाइबलमा कुरा पुर्यायो र गफ गर्न घरमै बोलाउन थाल्यो. म तेसको पुराण सुन्नु पर्ने डरले अनेक भनेर तर्किएँ जाँदैगइन. मैले नि हाम्रो गीताको 'कर्म गर फलको आश नगर' भन्ने महानबाणी ठोक्दिउ कि ब्ज्यालाई भन्ने ठान्या हुँ एकपल्ट त तर नपुंसक घोगा फल्ने हाम्रै देशमा मात्रै होला यसको अर्थ भन्ने लागेर फेरि केही भनिन. फेरि मैले तेसो भन्या भए तेसले मेरो धतुरो झार्ने निश्चित थियो बा. उनीहरु कर्म गरेर फलको परिणामको आशा नगरी बस्नै सक्दा रैन छन्, कसो मैले मुख खोलिन र.....
आफू शुद्ध नेपाली आहार गर्छु भन्नेलाई सबै कुरा छ बा यहाँ. रोटीबेटीको सम्बन्ध भका हाम्रा दख्खिनका छिमेकीहरु उहिले बराजुका पालामा आइवरी आफ्नू खानपान, भेषभूषा, चाडबाड, उठबसको थिति बसाइसक्या भएर हामीलाई सजिलो रछ यहाँ. मैले यहाँ सबैथोक भेटें बा. जस्तै चामल, मैदा, आँटा, मुसुरो, रहर, कालोदाल, मेथी ज्वानु,घीउ, दोइमोइ, कागतीको अचार, इस्कुस, रायो, घिरौंला, बोडी, हिउँदे सिंबी, करेला, बैगुन, घर तरुल ...नाम नजानेका अरु सागपात र फलफुल उति छन् बा. बरु फर्सीका मुन्टा र बरेलो भने मैले देखिन अरु छ सबै थोक. बाले चिन्ता नलिए हुन्छ आहारबिहारमा छोरो गइन्न छ र अभछे गरेको छैन.
भेषभूषा
बा यहाँको पहिरनका बारेमा म अलिकति भन्छु अब. हाम्रोमा जस्तै यहाँ पनि भदौबाट चिसो बढ्दै जाने र फागुनबाट न्यानो पलाउन थाल्ने रहेछ.चिसोमा चिलिमै फर्किने गरिको चिसो बा यहाँ. गर्मीमा पुर्पुरोको रंग फेरिनेगरि घामले पोल्ने ठाउँ रछ. त्यही भएर मान्छेका पहिरन पनि उसै किसिमका छन् बा यहाँ. अझ कुरो नचपाई भन्नु पर्दा गर्मीमा लगाको लुगा भन्नै नसकिने जाडोमा लगाको लुगा गन्नै नसकिने भने नि हुन्छ. केटा बज्याको त जहाँ गएपनि उही रछ बा लाउने कुरो. तेही हर्ल्यांगहर्ल्यांग जिनिसको प्यान र ज्याकेट, गन्जीसन्जी तेस्तैउस्तै. महिलाबृन्दका पहिरनका भने अनेक भाँति छन् बा. झन्डैझन्डै सर्वस्व देखाएर हिड्नेदेखि केही छ्याँनबिबेक राख्ने पनि छन्. कुन बुडी माऊ कुन तरुनोबरुनो सबैका टांगमा जिनिस घुस्रेको हुन्छ बा. अनि दारी र फेट्टा कसेका पन्जाबी पनि उतिनै छन्.
घुमघाम वरपर
यहाँ घुम्ने, हेर्ने, मन बहलाउने, टोलाउने, लोलाउने ठाँउहरु धेरै छन् बा.यहाको सरकार नै पशुपतिनाथले चलाए जस्तो छ. देश चलाउने भए, प्रान्त चलाउने भए, नगरको रितथित बसाल्ने भए सानसँग चलाउ होइन भने लाखार्लुखुर चल्दैन भनेजस्तो छ यहाको चलन. नदी, तलाउ, पोखरी, बागबगैंचा, सार्बजनिक स्थलका बारे सरकारको धेरै ध्यान छ. अलिकति ओरालो भिरालो खोल्सी डांडो देख्यो कि तेस्लाई सिंगारपेटार पारेर इन्द्रजी को बगैंचा बनाइदिन्छन. जंगलका माझमा पोखरीका वरिपरिको पक्कि चक्रपथमा फन्को मार्दै साँझको हावा खाने कि गर्मी भो डुबुल्की मार्न जाने कि आफ्नै इच्छा. फूल छोएर फोटो खिचे पनि गल्लिपिच्छेका केएफसि र म्याक डोनाल्डमा पसेर जति घिचे पनि तपाई उन्मुक्त बा. कसैले कहाँ कता किन भनेर सोध्नेवाला छैन तपाइले कानुन नमिचेसम्म सार्बजनिक जीवनका संहिता नभत्काएसम्म. सबै घरका दैलासम्म पक्कि सडक पुर्याउनु पर्ने महानगरपालिकाको मापदण्डमा छिसिक्क खोट छैन. सडकको गुणस्तर, राज्याधिन रेल र बसको भरपर्दो सेवाले तपाईलाई बा मिलिक्क एक कुनाबाट एर्को कुनामा पुर्याइहाल्छन. अस्ति नदी तलाउतिर घुम्न गको बा. एकजना नयाँ नेपाली साथी पनि साथमा. किनारका बडेमानका ढुङ्गामा, रुखका फेदका फलैंचामा जतासुकै परेवाका जोडीझैं चुच्चो जोडेर प्रीति साट्नेहरुको बथान सम्ममा साथी आँखा लुकाइलुकाई मज्जा लिदै थिए. अलिपर्तिर एउटी तरुनी चर्का घाममा ढुङ्गामाथि बसेकी थी. लाउनेका नाममा नछोपी नहुनेबाहेकमा केही थिएन. एउटा हातमा चुरोट धुवाइरहेको छ अर्को हातमा एउटा पुस्तक छ. ढुङ्गामाथि पध्माशन बाँधेकी छ तेसले. छेवैमा अन्टारियो लेक जिउदो प्राणी सरह चलमलाई रहेको छ. डुंगामा सपरिवार आनन्द लिने लिइरहेका, तलाउको छातीमा तोरीको फूल देख्नेगरि पानी फ्याँक्दै के के कुदाउने जिनिस कुदाइरहेका, सबै घुमन्ते आआफ्नै सुरमा अनि त्यो एक्ली केटी केहीको वास्ता बेगर किताबमा मुन्टो जोतिरहेकी. मान्छेको शौख र शैली देखेर त्रिभुवन विश्वविद्यालयका एम फिल मेरा साथीले जिब्रो टोके. किनभने उनको पालो थियो जिब्रो टोक्ने, मैले पहिले नै टोकिसकेको थिएँ.
भाषा/बोलीचाली
बाउन्न देसका त्रिपन्न जातिको देश रछ बा यो. हाम्रो 'सयौं थुंगा फूलका हामी एउटै माला.....' यहालाई पो मिल्छ झन सारो.यहाँ काला गोरा खैरा होचा पुड्का थसुल्ले सुरिलाका अनेक रुप र बान्की छन्. हाम्रा एकजना सोलुका शेर्पा दाइले भन्नु हुन्थ्यो "राउन्ने(रावण) खोज्न अन्त जानै पर्दैन याम भाइ".उहाको भनाइ अफ्रीकातिर सोझिएको हो भन्ने मैले लाख काटें. तेसो भएर बा यहाँ मान्छेका आफ्नै भाषा छन्. बसमा रेलमा को को के के बोल्छन बोल्छन सयथरी बाजा एकठाउ भेला पारेर सुर न ताल जजसले जेजे भेट्छ तेहीतेही बजाए जस्तो ध्वनि कानमा गुन्जिरहन्छ. तर सबैलाई सबैले बोलाउने भाषा अँग्रेजी नै हो. तर बा हामीले पढेको अँग्रेजी र यहाँको अँग्रेजीमा कहाँ मेसो मिल्नु, मिल्दैन. हामी कति मज्जाले 'ट्वान्टी टु' भन्छौं यहाँ ' ठवाडी ठु' भनेको सुनिन्छ. म 'टोरन्टो' मा बस्छु भनो उनीहरु 'ट्वाटो' कोहि 'टोनो' कोहि 'ट्वानो' कोहि 'टोरनो' 'ठोरनो'अनेक भनेर अलमल गोत्राय पार्दिन्छन्. तै बाले तेही अँग्रेजी नै पढाको भएर कन्न सम्म काम लाग्या छ फरर्र पारेर काम फत्ते गर्न त खोइ लाग्ला बा अझै ट्याम. यहाँकाले बोलेका कुरा 'हँ' 'के रे' फेरि भन भन' 'लाखे है' नभनी हतपत टिप्न सकिदैन. तै बिस्तारै बानी पर्दै जाँदो रछ अलिक बीसको उन्नाईस हुन थालेको छ अहिले त. ती माथि बा यहाँ छोरा मान्छेलाई 'गाई' भन्छन्. मलाई कतिपटक 'ए गाई' भनेका छन् मान्छेले. के गर्नु, के भनिस अरे भनेर दाँतमा हान्न मिलेन 'हजुर' भनेर बोल्नु पर्छ.
समाज/परिवार
यहाँ सबैलाई कामको बित्तो हुन्छ. के जोई के पोइ दुवै काममा जोतिन्छन सकेसम्म. कामले गर्दा मान्छे
एकचित्ते हुँदा रछन्. काम गर्न र जीवनको बिल रसिद बुझाउन मै मान्छेलाई फुर्सद छैन. तर हप्तामा दुई दिन मस्ती पनि यिनले नै जानेका छन्. हाम्रामा जस्तो लोग्नेले के भन्छ भन्ने होइन यहाँ स्वास्नीले के भन्छे भन्ने कुरा अलिक मुख्य हुने रहेछ बा. यहाँ स्वास्नी कथम् भड्कि भने लोग्नेको बार बजेर तेर बज्ने रहेछ तेस्लाई फकाएर घर बस्ने पार्न. हाम्रो म्यानेजर बेलाइती छ. उसलाई उसकी जहानले घरबाट फोन गरी. डार्लिङ मलाई आउदा केएफसिबाट कुखुराको साँप्रो ल्याइदेउ है भनी रे. उसले हुन्छ भनो. अरु पनि के के मा उस्ले तीन चार 'हुन्छ' लायो. नाइनास्ती किन के केही नभनी उसले खुरुक्क हस भनेको भएर मैले के भनी भनेर सोधेपछि उसले कैरन ल्यायो. ऊ ३० बर्षदेखि यहाँ छ. उमेर ४८ रे. बच्चा नपाउने सर्त दुबैलाई मन्जुर भएपछि उसले हंगकंगकि चिनियाँ तरुनीलाई ६ बर्ष सम्म एउटै डेरा गरि बसेपछि अस्ति भर्खर दुलही बनाको रे. एक दुई बर्ष दुवै जना लिट्टी कसेर काम गर्छन रे अनि बिदा मनाउन कहिले अम्रिका कहिले युरोप जाने रे उनको शौख. भुराभुरी बनाउनु भनेको आफ्नो स्वतन्त्रामा बन्चरो हान्नु हो रे. उसले भनेको जहानलाई खुसी राख्न पुरुषले निक्कै पापड बेल्नु पर्ने देश हो रे यो. बच्चाको रेखदेख स्याहारसुसारमा नि बाउको पानीपेदु निकाल्ने रछन् बा महिलाले. मैले देखेको कुरा यो. बाले सिकुवा टेक्न नदिने कुकुर यहाँ त ओछ्यानमा ढलिमली गर्छ. छोराछोरी सरह हो बा यहाँ कुकुरबिरालो भन्या त. किरो कारका अगाडि सिटमा बसेर झ्यालबाट मुन्टो निकालेर घुम्न निस्किन्छ सहरतिर. तर बा कुकुर मुले जति गरे नि कुकुर नै रछ, जति चाटेपनि जति पजेरोमा राखेर कुदाएपनि जिब्रो निकालेर पानी काढ्न र बुटो ढिस्को देखे देब्रे खुट्टो उचालिहाल्न चैं उही रछ कुकुरको. अस्ति एउटी ९ बर्ष जातिकी 'जिना' नाम कि कुकुर्नीले चम्ची निलिछन्. सके बाआमाका डिनरमा लामो जिब्रो गर्दैथिन होला. के चाल परो चम्ची निलिन. रुवाबासी भो घरमा. छोराछोरी मुर्छा परुँलाझैं गरि रुन थाले. बाले हतपत कता फोन लाए मिलिक्क आइपुग्यो कुइँकुइँ गर्दै 'कुकुर एम्बुलेन्स'. एक्सराइ भिडियो एक्सराइ सबैथोक तुरुन्तै भो. चम्ची छर्लंगै देखियो पेटमा सुतिरहेको. कुकुर डाक्डरहरुले तुरुन्तको तु शल्यक्रिया गरी चम्ची झिके . भोलिपल्ट पत्रपत्रिकाले सचित्र देखाए. खर्च मुलाको बालनै भएन मुख्य कुरा कुकुर्नी बचिन. छोरो बयस्क भएपछि तरुनी लेर छुट्टै बस्छ बाआमा छोड्छ तर कुकुरले नमरुन्जेल छोड्दैन रे. यहि हो कुकुरबिरालाको मूल्य प्रणाली बा यहाँ. यहाँ छोराछोरीलाई पनि सारै चर्को स्वरले बोलाउनु कराउनु हुदैन रे. यिनले बाउआमाले मलाई थर्काए कुटे भनेर नौ एघार पार्न बेर लाउदैनन रे. बा आठ बार परो हुदैन भन्नु हुन्थ्यो आठ बार देखि डराउनु हुन्थ्यो नि यहाँ नौ एघारदेखि डराउछन् मान्छे. नौ एघार भनेको पुलिस बोलाउने नम्बर हो बा. यहाको पुलिस फेरि नेपालको जस्तो होइन कालले छोड्छ बरु कानुन मिच्नेलाई पुलिसले छोड्दैन यहाँ. यसरी भन्दा यहाँ सबै भन्दा माथि बच्चा अनि बुढाबुढी अनि महिला अनि कुकुर अनि पुरुष रे बा. यो उट्पट्याङले बनाको होला हुन त तर देख्दा तेस्तै देखिन्छ.
लु बा अब गन्थन गर्दै गरौला. छुटपुट लेख्दै गरौला. धेरै लामो भयो होला चिठी पनि. बाको एक बिहान नै जाने भो पढ्दैमा.
छोरो
No comments:
Post a Comment