about

Sunday, 28 October 2012

तिमीले मुखै खोलेनौ
उल्टै मलाई बोलिनौ
आँखाले कति डाकें
इसाराले मनै साटें
तिमीले बुझ्ने कोसिस गरेनौ
मैले तर्नु थियो काली
पारि जाने तिमी पनि
हातेमालो गर्न रोक्यो
केले केले फेरिपनि
तिम्ले मुखै खोलेनौ
उल्टै मलाई बोलिनौ
नफक्रिदै  प्रितको फूल
सुकेपछि पानी मूल
जस अपजस केलाई कसलाई    

Saturday, 19 May 2012

पिउने चक्र


आइतबार धुम्मधाम्म तताउन खाइयो
सोमबार चर्को घामले पोल्दा चिस्याउन लाइयो

मंगलबार साथी चैं को टेन्सन धपाउनु थ्यो
बुधबार झ्वाँकैझ्वाँकमा  बिनाकारण खाइयो

बिहिबार स्याउको शुद्ध भन्दै भिराइ छाडे
शुक्रबार त ह्याप्पी फ्राइडे लाउने नै हो लाइयो

शनिबार त  नखाने है भन्दै बसेको थें
अरब गको साथी आएछ कहाँ धर पाइयो ?
चक्र यहि हो अहिलेसम्म घ्याम्पा मात्रै होइन

भर्नु भने फेवा रारा दुइटैलाई सुकाइयो !!

Friday, 6 April 2012

बालाई चिठी

चरणकमलमा लम्पसार परें बा.
सन्चै छु बा. र, पशुपतिनाथका कृपाले संबिधान बन्ने नबन्ने टुंगो भइनसके पनि बाचैं उनै भगवानका कृपाले सन्चै हुनुहोला भन्ने पुरापुरी विश्वासका साथ यो चिर्कटो कोर्दैछु.

बाटामा 
म सुबिस्तैसँग  आइपुगें  भन्दा हुन्छ बा. बाटामा अलिअलि  परेको अलमल बाहेक कुनै कठिनाई भएन यो पैसा टिप्न पाइने ठाउँमा आइपुग्न बा. 'वायुका बेगले रथ हो उडाई पुर्यायो दैंतेका देस' भन्ने बाको पुरानु शिलोक कै ताकमा त्यहाबाट हिनेका भोलिपल्ट मलाई त्यो उडाउनेले उडाको उडाई ल्याइपुर्यायो यो बिरानो देशमा. बाटामा लन्डन भन्ने ठाउमा एक रातको बास बस्नु परो बा. विमानस्थलमै गुल्जार गरियो. बाहिर निस्किन पाउनु छैन के गर्नु बा. हुन त बाहिर निस्किन पाए नै पनि कहाँ जानु थ्यो र. कहाँ जान्छस् हराउने बिलाउनेका देसमा भने झैं. त्यहाँ न सुत्न पाइयो न भनेजस्तो केही खान पाइयो. नाम नजानेका दुदुईटा पाऊरोटीका लामालामा  सुम्ला किनेर  निल्यौं र  रातभरि एक अर्को नेपाली साथी र म बरालियौ तेतैहुँदो. एउटा कामदारले चिया पसलका बेन्चिमा सुत अब ग्राहक आउदैनन भनो र राति एक बजेपछि एसो झोलाको सिराने लाएर झकाउन थाल्या  अर्को आएर खाँउलाझैं गरेर उठायो बा. दुई लाती भेटेको खिच्चोझैं झोला टिपेर त्यहाँबाट उठी अलि पर गएर बसियौ हामी रातिमास. बाले ठान्नु भो होला किन बास बस्ने ठाउँ थिएन र भनेर.थ्यो नि बा. अस्ति ओगटीसक्नु पर्ने रछ नेट वा फोनबाटै बास बस्ने ठाउँ. कहाँ हाम्रो पाख्रिबास, खन्युबास अमलेबास जस्तो सिधै गएर लजमा सुत्न पाइने हो र छ र बा. एउटीले कोठा छ त भनी एक ठाउँमा. कति खाको बसेको भनेर सोधेको त हाम्रो पाखो बारीको दाम जति भनी बा. गरिब रुपियाँलाई धनी डलरमा साटेर कम्मरमा बाँधेको ख्याउटे बिटोले आँट गर्नै सकेन नि बा. तै जसोतसो रात काटियो र फेरि उडियो आकाशमा.

कामधन्दा         
के काम गर्छस के पाउँछस जाने बित्तिकै चिठी लेखिहाल्नु भन्नु हुन्थ्यो बा. काम पाउनै एता ढुन्मुनिदा उता ढुन्मुनिदा महिना दुएक त एसै बितिगए. अहिले बल्लतल्ल काम पाको छु बा. अब काम चैं के गर्छस भन्ने खुल्दुली बालाई लाग्ने नै भयो. यता जस्तो के गर्छस भन्दा काम गर्छु भनेर सुख पाइने होइन रछ हाम्रो चलन. के काम मह्नामारी कति दाम अर्काको सबै  खुन्खोत्रो  पहिल्याउन पाए मात्रै खाको आंग लाग्ने हाम्रो चलनमा बालाई पनि अघि मनमा पसिसको होला के र कति भन्ने. अरु कुरा तेस्तै हो बा म काम गर्छु र तलब रुपियामा होइन डलरमा आउछ. अब म कमाइ होइन खर्चको विवरण दिन्छु तेत्रो बार छोरा तेरा नातिका धनि भुक्तभोगी बाले आफैँ जान्नु. महिनामा साठी हजार कोठाभाडा, खान्तेपिन्ते अरु महिनाको पैंतीस हजार, फोनसोन, मटर कुदाउदा अरु लाखार्लुखुर महिनाको अर्को बीस हजार खर्च. औंला भाँचेरै क्यालकुलेटरलाई जित्ने हाम्रा बालाई अब के भनिरहनु पर्ला र. यसमा अलेली बचेखुचेको छोराकै कमाइ  हो भनी जान्नु बा.
कामकै कुरा गर्नु  पर्दा बा म गोरु नै नार्छु भने हुन्छ. झिसमिसे हुँदा नारने गोरुलाई बाले भालेका डाकमा उठेर घाँसपराल हालेझैं म नि यहाँ बिहान झिसमिसेमै उठाउने गरी घडीचराको आवाज निकाल्ने धून मिलाएर मोबाइललाई कानैका छेउमा सुताएर सुत्छु. तेसले बिहान 'कुखुरी काँ' भनेर बासेपछि म जुरुक्कै उठ्छु. म घरमा हुदा बाले उठ भनेको १ घण्टा पछि बल्लतल्ल तिनसल्ली घामले ढाड तताएपछि मात्र उठ्थें नि बा त्यो सब अब इतिहास भयो बा. घरमा हुदा जस्तो एकभारी टाँकीका सेउला झारेर आउदा ऐया ऐया मरें मरें भनेर धर पाउदिन बा मैले यहाँ. थाकें गलें, खुइय, ऐया सबै गाएप भका छन् बा. बाआमा  छन् भनेर पो मरें गलें भुतुक्क भएँ भन्न मन लाग्दोरछ त,कोहि नदेखेपछि त गलाइ, थकाइ,  हिउँ, असिना, पसिना सबै कुन बाटो आउछन कुन बाटो जान्छन पत्तै नहुने रछ नि. छोरो बनाउनु छ भने घरबाट लखेट्नु भनेको त तेसै कहाँ हो रछ र तिमी पुर्खाहरुले. जीवन भोगाइका अनेक प्रसङ्गमा तिमीहरुले जानेरै  उखानटुक्का  रचेका रछौ नि. यहाँ जस्तो ऐया आत्था नभनी खट्नु हो भने बा त्यो हाम्रा घरमाथिको मैनाचुली  खारेर हवाइजाज गिराउन बनाउन त बेर नै नलाग्ने रछ नि. हामी त नेताले देस बनाएनन बनाएनन भनेरै बिहानदेखि बेलुकासम्मको बार घन्टामा मुस्किलले ४/५ घण्टा काम गरेर अरु जम्मै समय फलाना र ढिस्कानालाई सराप्दै उसका कुरा काट्दै बिग्रेको जति उसैका थाप्लामा मात्रै पार्दै आफूचैं जगतकै भलो अरु सबै बिगाती  भन्दै चोक चौतारो रुगेरै बिग्रेका रहेछौं बा. देश बनाउने त जनताले रहेछ बा यहाको देखिजानेको कहन मिल्छ भने. नेताले चैं  रित बाँधिदिएर आफू पनि रितमा बस्ने अरुले नटेरे तलबाट तरल र ठोसएकैचोटी निस्किने गरी पेल्ने व्यवस्था मिलाउने रछ बा. एति गरे आधाउधी देश तेसै बन्ने रहेछ बाँकी आधा तिनका घोषणापत्रले बनाउने  रहेछ बा. हाम्रामा त अस्ति कानुन नमान्ने चोरका खन्तिले कता प्रहरीलाई नै माफी पो माग्न लगाए रे नि कानुन रित पालना गर भन्दा. यहाँ त बा काल, कर र कानुन यी तीनसँग जोरी खोज्नु भनेको साढेसातलाई सिधै  निमन्त्रणा कार्ड पठाउनु जस्तै हो रे. यहाँ त सरकारी जागिर  खाऊ कि सडकमा गिट्टी कुटेर पेट पाल आफ्नु कमाइको गच्छेअनुसार सरकारका ढिकुटीमा नहाली घर लान्छु भनेर नचिताए पनि हुन्छ बा. हाम्रामा त के भन्नु र यी तीनसँग जसले बढी जोरी खोज्छ उही पुज्य हुन्छ. हाम्रो देश त नेताले बिगारेको जनताले सघाएको देश रहेछ बा. हाम्रामा त छोराले कर छलो भने बाठो छोरो जन्माएकोमा बाबु दङ्ग, लोग्नेले कर छले कागका फुल चोर्ने लोग्ने पाएकोमा स्वास्नी दङ्ग.बालाई एउटा सानो चिठीमा कस्ताकस्ता जुँगामुठेहरुले बनाउन नसकेको पुरै देश नै बनाउने योजनाका मन्त्र सुनाउदा दिक्क लागिसको होला. मुले के खान्की खान्छ, के लाउछ, उकालोओरालो, खोलानाला, खेतबारी के कसो छ लेख्छ होला भन्या त अनेकका कैरन ल्याएर झिंझो पो लाउछ भनिसक्नु भो  होला बा.

खानपान 
बा म मुख्यरुपमा पाउरोटी बढी खान थालेको छु अचेल. पिज्जा भनिने अनेकथोक हालेर साँधेको गहुँको भुकुरचाँदे रोटि भनेपछि यहाँ सबै हिरिक्क हुन्छन्. बा सबै भन्दा ठुलो कुरा त गहुँ पो रछ त गहुँ. यहाँ गहुँले नै बचाको  हुदोरछ जुनमा पनि पुग्ने अनेकथरिका यन्त्र बनाउने बैज्ञानी(क)हरुलाई पनि.गहुँको पीठोले बनाका मात्रै चौराशी थरिका ब्यन्जन छन् यहाँ. पिज्जा भनिने त्यो भुकुरचाँदे रोटि खाएपनि, नुडल भनिने आन्द्रे लुर्का सुलुलु निलेपनि, बर्गर भनिने पाउरोटिका पाप्राका बीचमा घाँसपात च्यापेर खाएपनि, हट डग  भनिने अर्को खाले पाउरोटी चपाए पनि, पास्ता भन्ने खाए पनि, स्पाघेट्टी हुले पनि जे खाए पनि जसो गरे पनि गहुँ कै वरिपरि च्यापू हल्लाइरहेको हुन्छ मान्छे. म नि झोलामा तेही भुकुरचाँदे  रोटि च्यापेर कामथलो र बासथलो गर्न जान्ने भैसकेको छु बा अहिले. अनि चामल पाइदैन त भन्नु होला. किन नपाउनु नि. भारत स्लमडग मिलिनियर बनाएर आफ्नो गरिबी र भोकमरी देखाएर भएभरका अस्कर एक्लै  कुम्ल्याउछ. उता एक पाप्रो रोटी नपाएर हाहाकार एता भारतीय बासमती चामल फालाफाल बा. चोर औंलाको आधिआधि लामा सुरिला कन्चन बियाँ भुस ढुङ्गा केही केलाउनु नपर्ने चामलका राजस्थानी, कश्मिरी प्रकार पाइन्छन बा. मान्छे संसारका सबै देशबाट आको भएर तिनका खान्की पनि आउने नै भए आका छन् बा यहाँ. काममा भात खाने छुट्टीमा छेउको अफ्रिकी इन्जरा भन्ने कोदाको रोटी जस्तो देखिने थोक खान्छ, छेउकी चिनियाँले एउटा सुँगुरको खुर र अलिकति रायोका सिंगै  पातसँग मिसाएर पकाको एक मुठी भात खान्छे, अर्को पोल्यान्डको ठिटो छाला तरेको गोरुको पुच्छरको उसिनेको परिकारलाई पाउरोटीमा मिसाएर हसुर्छ, देब्रे पट्टिको इरानी  भिल भनिने बाच्छाबाच्छीको मासुमा जिब्रो फड्कार्छ बा. कहिलेकाहीं  खानेकुराहरु बाँडेर खाने चलन पनि गर्छन. त्यो बेला सारै सकस पर्छ. म 'धन्यवाद, म पूर्ण छु' भन्दै उम्किन्छु. म गाई खान्न गोरु खान्न पनि भन्दिन बा. तेसो भए घिच्छस त भन्नु होला फेरि बाले. होइन बा. एकपल्ट एउटा बेल्जियमको अधबैसेलाई म खान्न म हिन्दु हुँ  भनिहेरेको त्यो मुलाले त अंग्रेजहरुले  भारतमा २०० बर्षसम्म गरेको राज्यदेखिको कुरा ल्याएर मलाई पेल्न खोज्यो. हिन्दु संकीर्ण हुन्छन, जातभात छुवाछुत मान्छन, फुटाउ र राज गरमा यी माहिर छन् आदि आदि अनेक भनेर फतुर लायो.अनि उसको क्रिस्तानी धर्मचैं राम्रो, मानवताबादी, भेदभाव नगर्ने भन्दै भन्दै ल्याएर बाइबलमा कुरा पुर्यायो र गफ गर्न घरमै बोलाउन थाल्यो. म तेसको पुराण सुन्नु पर्ने डरले अनेक भनेर तर्किएँ जाँदैगइन. मैले नि हाम्रो गीताको 'कर्म गर फलको आश नगर' भन्ने महानबाणी ठोक्दिउ कि ब्ज्यालाई भन्ने ठान्या हुँ एकपल्ट त तर नपुंसक घोगा फल्ने हाम्रै देशमा मात्रै होला यसको अर्थ भन्ने लागेर फेरि केही भनिन. फेरि मैले तेसो भन्या भए तेसले मेरो धतुरो झार्ने निश्चित थियो बा. उनीहरु कर्म गरेर फलको परिणामको आशा नगरी बस्नै  सक्दा रैन छन्, कसो मैले मुख खोलिन र..... 
आफू शुद्ध नेपाली आहार गर्छु भन्नेलाई सबै कुरा छ बा यहाँ. रोटीबेटीको सम्बन्ध भका  हाम्रा दख्खिनका छिमेकीहरु उहिले बराजुका पालामा आइवरी आफ्नू खानपान, भेषभूषा, चाडबाड, उठबसको थिति बसाइसक्या भएर हामीलाई सजिलो रछ यहाँ. मैले यहाँ सबैथोक भेटें बा. जस्तै चामल, मैदा, आँटा, मुसुरो, रहर, कालोदाल, मेथी ज्वानु,घीउ, दोइमोइ, कागतीको अचार, इस्कुस, रायो, घिरौंला, बोडी, हिउँदे सिंबी, करेला, बैगुन, घर तरुल ...नाम नजानेका अरु सागपात र फलफुल  उति छन् बा. बरु फर्सीका मुन्टा र बरेलो भने मैले देखिन अरु छ सबै थोक. बाले चिन्ता नलिए हुन्छ आहारबिहारमा छोरो गइन्न छ र अभछे गरेको छैन. 

भेषभूषा       
बा यहाँको पहिरनका बारेमा म अलिकति भन्छु अब. हाम्रोमा जस्तै यहाँ पनि भदौबाट चिसो बढ्दै जाने र फागुनबाट न्यानो पलाउन थाल्ने रहेछ.चिसोमा चिलिमै फर्किने गरिको चिसो बा यहाँ. गर्मीमा पुर्पुरोको रंग फेरिनेगरि घामले पोल्ने ठाउँ रछ. त्यही भएर मान्छेका पहिरन पनि उसै किसिमका छन् बा यहाँ. अझ कुरो नचपाई भन्नु पर्दा गर्मीमा लगाको लुगा भन्नै नसकिने जाडोमा लगाको लुगा गन्नै नसकिने भने नि हुन्छ. केटा बज्याको त जहाँ गएपनि उही रछ बा लाउने कुरो. तेही हर्ल्यांगहर्ल्यांग जिनिसको प्यान र ज्याकेट, गन्जीसन्जी तेस्तैउस्तै. महिलाबृन्दका पहिरनका भने अनेक भाँति छन् बा. झन्डैझन्डै सर्वस्व देखाएर हिड्नेदेखि केही छ्याँनबिबेक राख्ने पनि छन्. कुन बुडी माऊ कुन तरुनोबरुनो सबैका टांगमा जिनिस घुस्रेको हुन्छ बा. अनि दारी र फेट्टा कसेका पन्जाबी पनि उतिनै छन्. 

घुमघाम वरपर    
यहाँ घुम्ने, हेर्ने, मन बहलाउने, टोलाउने, लोलाउने ठाँउहरु धेरै छन् बा.यहाको सरकार नै पशुपतिनाथले चलाए जस्तो छ. देश चलाउने भए, प्रान्त चलाउने भए, नगरको रितथित बसाल्ने भए सानसँग चलाउ होइन भने लाखार्लुखुर चल्दैन भनेजस्तो छ यहाको चलन. नदी, तलाउ, पोखरी, बागबगैंचा, सार्बजनिक स्थलका बारे सरकारको धेरै ध्यान छ. अलिकति ओरालो भिरालो खोल्सी डांडो देख्यो कि तेस्लाई सिंगारपेटार  पारेर इन्द्रजी को बगैंचा बनाइदिन्छन. जंगलका माझमा पोखरीका वरिपरिको पक्कि चक्रपथमा फन्को मार्दै साँझको हावा खाने कि गर्मी भो डुबुल्की मार्न जाने कि आफ्नै इच्छा. फूल छोएर फोटो खिचे पनि गल्लिपिच्छेका केएफसि र म्याक डोनाल्डमा पसेर जति घिचे पनि तपाई उन्मुक्त बा. कसैले कहाँ कता किन भनेर सोध्नेवाला छैन तपाइले कानुन नमिचेसम्म सार्बजनिक जीवनका संहिता नभत्काएसम्म. सबै घरका दैलासम्म पक्कि सडक पुर्याउनु पर्ने महानगरपालिकाको मापदण्डमा छिसिक्क खोट छैन. सडकको गुणस्तर, राज्याधिन रेल र बसको भरपर्दो सेवाले तपाईलाई बा मिलिक्क एक कुनाबाट एर्को कुनामा पुर्याइहाल्छन. अस्ति नदी तलाउतिर घुम्न गको बा. एकजना नयाँ  नेपाली साथी पनि साथमा. किनारका बडेमानका ढुङ्गामा, रुखका फेदका फलैंचामा जतासुकै परेवाका जोडीझैं चुच्चो जोडेर प्रीति साट्नेहरुको बथान सम्ममा साथी आँखा लुकाइलुकाई मज्जा लिदै थिए. अलिपर्तिर एउटी तरुनी चर्का घाममा ढुङ्गामाथि बसेकी थी. लाउनेका नाममा नछोपी नहुनेबाहेकमा केही थिएन. एउटा हातमा चुरोट धुवाइरहेको छ अर्को हातमा एउटा पुस्तक छ. ढुङ्गामाथि पध्माशन बाँधेकी छ तेसले. छेवैमा अन्टारियो लेक जिउदो प्राणी सरह चलमलाई रहेको छ. डुंगामा सपरिवार आनन्द लिने लिइरहेका, तलाउको छातीमा तोरीको फूल देख्नेगरि पानी फ्याँक्दै के के कुदाउने जिनिस कुदाइरहेका, सबै घुमन्ते आआफ्नै सुरमा अनि त्यो एक्ली केटी केहीको वास्ता बेगर किताबमा मुन्टो जोतिरहेकी. मान्छेको शौख र शैली देखेर त्रिभुवन विश्वविद्यालयका एम फिल मेरा साथीले जिब्रो टोके. किनभने उनको पालो थियो  जिब्रो टोक्ने, मैले पहिले नै टोकिसकेको थिएँ. 

भाषा/बोलीचाली       
बाउन्न देसका त्रिपन्न जातिको देश रछ बा यो. हाम्रो 'सयौं थुंगा फूलका हामी एउटै माला.....' यहालाई पो मिल्छ झन सारो.यहाँ काला गोरा खैरा होचा पुड्का थसुल्ले सुरिलाका अनेक रुप र बान्की छन्. हाम्रा एकजना सोलुका शेर्पा दाइले भन्नु हुन्थ्यो "राउन्ने(रावण) खोज्न अन्त जानै पर्दैन याम भाइ".उहाको भनाइ अफ्रीकातिर सोझिएको हो भन्ने मैले लाख काटें. तेसो भएर बा यहाँ मान्छेका आफ्नै भाषा छन्. बसमा रेलमा को को के के बोल्छन बोल्छन सयथरी बाजा एकठाउ भेला पारेर सुर न ताल जजसले जेजे  भेट्छ तेहीतेही बजाए जस्तो ध्वनि कानमा गुन्जिरहन्छ. तर सबैलाई सबैले बोलाउने भाषा अँग्रेजी नै हो. तर बा हामीले पढेको अँग्रेजी र यहाँको अँग्रेजीमा कहाँ मेसो मिल्नु, मिल्दैन. हामी कति मज्जाले 'ट्वान्टी टु' भन्छौं यहाँ ' ठवाडी  ठु' भनेको सुनिन्छ. म 'टोरन्टो' मा बस्छु भनो उनीहरु 'ट्वाटो' कोहि 'टोनो' कोहि 'ट्वानो' कोहि 'टोरनो' 'ठोरनो'अनेक भनेर अलमल गोत्राय पार्दिन्छन्. तै बाले तेही अँग्रेजी नै पढाको भएर कन्न सम्म काम लाग्या छ फरर्र पारेर काम फत्ते गर्न त खोइ लाग्ला बा अझै ट्याम. यहाँकाले बोलेका कुरा 'हँ' 'के रे' फेरि भन भन' 'लाखे है' नभनी हतपत टिप्न सकिदैन. तै बिस्तारै बानी पर्दै जाँदो रछ अलिक बीसको उन्नाईस हुन थालेको छ अहिले त. ती माथि बा यहाँ छोरा मान्छेलाई 'गाई' भन्छन्. मलाई कतिपटक 'ए गाई' भनेका छन् मान्छेले. के गर्नु, के भनिस अरे भनेर   दाँतमा हान्न मिलेन 'हजुर' भनेर बोल्नु पर्छ. 

समाज/परिवार 
यहाँ सबैलाई कामको बित्तो हुन्छ. के जोई के पोइ दुवै काममा जोतिन्छन सकेसम्म. कामले गर्दा मान्छे 
एकचित्ते हुँदा रछन्. काम गर्न र जीवनको बिल रसिद बुझाउन मै मान्छेलाई फुर्सद छैन. तर हप्तामा दुई दिन मस्ती पनि यिनले नै जानेका छन्. हाम्रामा जस्तो लोग्नेले के भन्छ भन्ने होइन यहाँ स्वास्नीले के भन्छे भन्ने कुरा अलिक मुख्य हुने रहेछ बा. यहाँ स्वास्नी कथम् भड्कि भने लोग्नेको बार बजेर तेर बज्ने रहेछ तेस्लाई फकाएर घर बस्ने पार्न. हाम्रो म्यानेजर बेलाइती छ. उसलाई उसकी जहानले घरबाट फोन गरी. डार्लिङ मलाई आउदा केएफसिबाट कुखुराको साँप्रो ल्याइदेउ है भनी रे. उसले हुन्छ भनो. अरु पनि के के मा उस्ले तीन चार 'हुन्छ' लायो. नाइनास्ती किन के केही नभनी उसले खुरुक्क हस भनेको भएर मैले के भनी भनेर सोधेपछि उसले कैरन ल्यायो. ऊ ३० बर्षदेखि यहाँ छ. उमेर ४८ रे. बच्चा नपाउने सर्त दुबैलाई मन्जुर भएपछि उसले हंगकंगकि  चिनियाँ तरुनीलाई ६ बर्ष सम्म एउटै डेरा गरि बसेपछि अस्ति भर्खर दुलही बनाको रे. एक दुई बर्ष दुवै जना लिट्टी कसेर काम गर्छन रे अनि बिदा मनाउन कहिले अम्रिका कहिले युरोप जाने रे उनको शौख. भुराभुरी बनाउनु भनेको आफ्नो स्वतन्त्रामा बन्चरो हान्नु हो रे.  उसले भनेको जहानलाई खुसी राख्न पुरुषले निक्कै पापड बेल्नु पर्ने देश हो रे यो. बच्चाको रेखदेख  स्याहारसुसारमा नि बाउको पानीपेदु निकाल्ने रछन् बा महिलाले. मैले देखेको कुरा यो. बाले सिकुवा टेक्न नदिने कुकुर यहाँ त ओछ्यानमा ढलिमली गर्छ. छोराछोरी सरह हो बा यहाँ कुकुरबिरालो भन्या त. किरो कारका अगाडि सिटमा बसेर झ्यालबाट मुन्टो निकालेर घुम्न निस्किन्छ सहरतिर. तर बा कुकुर मुले जति गरे नि कुकुर नै रछ, जति चाटेपनि जति पजेरोमा राखेर कुदाएपनि  जिब्रो निकालेर पानी काढ्न र बुटो ढिस्को देखे देब्रे खुट्टो उचालिहाल्न चैं  उही रछ कुकुरको. अस्ति एउटी ९ बर्ष जातिकी 'जिना' नाम कि  कुकुर्नीले चम्ची निलिछन्. सके बाआमाका डिनरमा लामो जिब्रो गर्दैथिन होला. के चाल परो चम्ची निलिन. रुवाबासी भो घरमा. छोराछोरी मुर्छा परुँलाझैं गरि रुन थाले. बाले हतपत कता फोन लाए मिलिक्क आइपुग्यो कुइँकुइँ गर्दै  'कुकुर एम्बुलेन्स'. एक्सराइ भिडियो एक्सराइ सबैथोक तुरुन्तै भो. चम्ची छर्लंगै देखियो पेटमा सुतिरहेको. कुकुर डाक्डरहरुले तुरुन्तको तु शल्यक्रिया गरी  चम्ची झिके . भोलिपल्ट पत्रपत्रिकाले सचित्र देखाए. खर्च मुलाको बालनै भएन मुख्य कुरा कुकुर्नी बचिन. छोरो बयस्क भएपछि तरुनी लेर छुट्टै बस्छ बाआमा छोड्छ तर कुकुरले नमरुन्जेल छोड्दैन रे. यहि हो कुकुरबिरालाको मूल्य  प्रणाली बा यहाँ. यहाँ छोराछोरीलाई पनि सारै चर्को स्वरले बोलाउनु कराउनु हुदैन रे. यिनले बाउआमाले मलाई थर्काए कुटे भनेर नौ एघार पार्न बेर लाउदैनन रे. बा आठ बार परो हुदैन भन्नु हुन्थ्यो आठ बार देखि डराउनु हुन्थ्यो नि यहाँ नौ एघारदेखि डराउछन् मान्छे. नौ एघार भनेको पुलिस बोलाउने नम्बर हो बा. यहाको पुलिस फेरि नेपालको जस्तो होइन कालले छोड्छ बरु कानुन मिच्नेलाई पुलिसले छोड्दैन यहाँ. यसरी भन्दा यहाँ सबै भन्दा माथि बच्चा अनि बुढाबुढी अनि महिला अनि कुकुर अनि पुरुष रे बा. यो उट्पट्याङले बनाको होला हुन त तर देख्दा तेस्तै देखिन्छ.  
लु बा अब गन्थन गर्दै गरौला. छुटपुट लेख्दै गरौला. धेरै लामो भयो होला चिठी पनि. बाको एक बिहान नै जाने भो पढ्दैमा.
छोरो  
  

Saturday, 18 February 2012

स्यालको खुच्चिङ्


सबै एउटा न एउटा लक्ष्यले
एउटा न एउटा इरादाले
घुम्न निस्किन्छ
भन्ने हेक्कै नराखी
कालक्रममा मैले
सहरमा एकदिन पाइलो राख्दा
तँ बैगुनी मान्छे होइनस
मेरा नाममा
एकथान उखान नै बनाएर खिल्ली गर्ने ?

लौ म त दसा लागेरै सहर पसें रे
तँ चैं कुन आशिर्बादले छोपिएको छस् सहर पसेर ?
तेरा बाउले
गाउँमा बारीका कांल्लाको चिलाउने ढालेर
बर्षभरिलाई दाउरा जोहो गर्दैगर्दा
तँ आशिर्वाद  पाएर सहर पसेको मान्छे
रित्तो ग्याँसको भाँडो काँधमा हालेर
बाबुरामका नाममा एकभारी सराप
मुखाग्रे पारेर कुददैछस गल्लीमा

बेलुका काँचो चामल  भिजाएर चिनी छर्केर
टारेको छाकले छोडेर
तेरो कन्दनी घुँडाबाट तलै झरिसक्दा पनि
तँ दसा  नलागेर सहर पसेको
मनुवा लिट्टी कसेरै लागेको छस सहर पस्न

तेरा बाउले गाउमा छंगछंग काबेलीमा
'हरि हरि' जप्दै  पुण्य कमाउदै स्नान गर्दैगर्दा
तँ एक जर्किन पानीले सिर पाऊ पुछपाछ गर्छस
र अर्को एकभारि गालिसराप
पस्किन्छस केयूकेएलका नाममा
दशाले नभेट्दै सहर पसेको तँ मान्छे
डुंगडुंगति गनाउदै बस्छस
तर सहर नै बस्छस

तेरा बाउले एकदिनको बाटो हिनेर आई
अड्डाको काम सकेर फर्किसक्दा पनि तँ
पेट्रोलको ताँतीमै उँघिरहेको हुन्छस
एक डोको गालिसराप
आयल निगम र सरकारका नाममा तर्पण दिंदै

तँ भाग्य चम्केर सहर पसेको मनुवा
सरकारलाई सरापेर
मरितरी बाँच्न बानी  परिसकेको
दुर्व्यसनी होस दुर्ब्यसनी

तेरी आमाले
बारीका बोडी मूला रायो ल्याई केलाउदै गर्दा
तँ यहाँ एक मुठो साग किन्दा
अठार गाँठा पारेको गोरु अघाउने पराल छान्दै हुन्छस
ढलमतीमा स्नानादी कर्म गराएका
काउली र गाँजरमै दिल बसेको तँलाई
भोलि बिहानै पाइखानामा
पचहतर...पचहतर....पचहतर
गनेर टोलै थर्काउनु छ तँलाई
भाग्य चम्केर सहर पसेको जो परिस

उता
तेरा घरमाथिको सल्लेरी सुनसान छ
डाँडाका जुन भका
बाउआमाका जिर्ण  पाखुरीले कति थेग्नु ?
खेतबारीको  चाकर नपुगेर
मुरी घटेर मुठीमा पुगीसको
घाँसपात सेउला
पत्कर रनवन अलपत्र छ
निर्जन छ

अचेल
भेडाबाख्रा चर्न जंगल आउन छोडेकाले
आँगन बारीमा डुल्ने कुखुरालाई
तँ बैगुनी मनुवाले पोल्ट्री फार्म भन्दै
झ्यालखाना हालेपछि
गाउँमा आहारको चरम  अभाव हुन थालेर
हामी स्यालहरु लोप हुने खतरा बढ्दै जाँदा
सहरमा खाद्यान्न स्थिति बुझ्न
अध्ययन भमणमा निस्किदा
उखान बनाई बनाई पेल्ने तँ बैगुनी मनुवा
भेटिस अहिले
खुच्चिङ!!!!! खुच्चिङ!!!!!!!

बस सहर नै बस
पस अझै सहर नै पस
भोकले कन्दनी खुकुलो भए पनि बस
तिर्खाले काकाकुल भए पनि बस
अभाब, महँगी, भिड, प्रदुषण
बिना बाँच्नै नसक्ने भइसकेको तँ
लेकको याकलाई नेपालगन्ज होस न
तँलाई सफा शान्त सुन्दर
हराभरा गामबेंशी होस

बस सहर नै बस
पस अझै सहर नै पस
छिरिसकेको कन्दनी बरु अलिक कस
तर सहर नै बस.

 यम घिमिरे
टोरन्टो, क्यानाडा


 






काकाकुल नै बाँच्छस  
 
  

Sunday, 15 January 2012

पिछडिएको लिंग- लघुकथा

लौ सुन कथा यस्तो हो  भन्दै कथा भन्नको रिपु  सुरज कथा भन्न तम्सियो: 
बेदनिधि साथीहरु माझ कहिले घुलमिल नहुने. सधैं सटका सिरानैसम्मका टाँक लाएर किलकिले कसेर हिड्छ. सगैका साथीहरु बजारमा निस्किने अनेक भाँतिका नयाँनयाँ पहिरनमा खुलेर हिड्छन ऊ भने एउटा पुरानो छालाको खुइलिसकेको पेटी कसेर सधैं सटका बाउला लमतन्न फेदैसम्म झारेर हिंड्छ. ऊ प्राय लुगा सधैं एउटै जसो लाउछ. नपुगेर नभएर पनि होइन. खोइ अहिलेको जमानाको भएर पनि के भाका टिपेन टिपेन बेदनिधिले उसलाई कसैले पनि आफ्नो चित्तको साथी बनाउन कोहि अघि सरेन. सबैसँग उसको उही 'हल्लो' दोस्ती मात्रै छ. प्राय कलेजमा पनि लुखुरलुखुर एक्लै आफ्नो बाटो नापिरहेको देखिन्छ. पढाइमा पनि तेती अब्बल छैन ऊ. पढ्न लाई ऊ सबै बेला पढिनै  रहेको हुन्छ तर जाँचको  परिणाम आउदा ऊ सोचे जस्तो केही ल्याउन सक्दैन. सगैका दौतरीले साथीभाई, भेला जमघट, घुमघाम, पिकनिक, मनोरंजन, डेटिङलाई दिने समय ऊ पढाइलेखाइ  मै लाउछ  र पनि अहँ ऊ कलेजको गन्तीमा आउने विद्ध्यार्थी हुन सकेको छैन.

डेराको विद्यार्थी जीवन हेर्दा निक्कै नै सादगीपूर्ण छ बेद्निधिको. सामान्य दालभात औशी पुर्न्यामा एसो बोइलर्को फिलो र एक मुठो किन्दा गोरु अघाउने पराल पनि सँगै आउने तेही साग र पानी चडेको अररो काउलीको झोल. ऊ एक्लै बस्छ.पहिला साथीसँग बस्थ्यो तर साथी अलिक उच्छट परो भनेर ऊ एक्लै बस्न थालो. साथी कि एउटी केटी लेर आउने र उसलाई नाकका चालले बाहिर जा मलाई चान्स दे भन्ने कि रातभरि केटीसँग फोनमा गफ गरेर न सुत्न दिनु न पढ्न दिनु पारेपछि उसले एक्लै बस्ने निर्णय गरेको.

बेद्निधिले एकदिन रत्नपार्कका सडक पेटीबाट "सर्बाङ्ग'' भन्ने बाहिर गाताको तस्बिरमा एउटी केटीको सबैथोक जसो देखाएको एउटा पत्रिका किनेर ल्यायो कोठामा. उसलाई त्यो तस्बिरले नै किनौ किनौ पारेको हो. उसले उचालेर एसो पल्टायो, भित्र अझ तामझामका कुरा देखेपछि खुरुक्कन रु. २५ झिकेर बुझाएको हो उसले त्यसलाई. कोठामा आएर उसले चित्त दिएर त्यो किताब जस्तो पत्रिका पढो, पल्टायो, दोहोर्यायो र मनमनै के के सोच्यो. त्यस साँझ वेदनिधिले एउटा कविता लेख्ने बिचार गरो. अनेक पल्ट केरकार गरेपछि उसको लेखनीले अन्तिम रुप पायो.
'क्याम्पसको पढाइ डेराको बास
कता पर्छ चाबी कता पर्छ साँचो
भात पकायो भातै काँचो,
शरीरलाई पनि खोइ तिम्रै हो कि खाँचो

बेदनिधि एकपल्ट पढेर मुस्कुरायो. अब त ऊ रत्नपार्क जाँदा एउटा न एउटा मनकारी सर्दाम बोकेरै आउन थालो. कहिले कामसुत्र, कहिले हटगल.....

क्याम्पसमा पिकनिक जानेबारे बठैक बस्ने भो. बेदनिधिलाई मन त थिएन तर एउटा साथीले तानेरै घिस्यायो उम्कनै  दिएन र ऊ पनि बैठकमा बस्यो. केटी लाने कि नलाने पिकनिकमा भन्नेबारे तेतिकै कुरा उठ्यो. खासमा केटी बिनाको पनि पिकनिक हुन्छ भन्ने सबैलाई थाहा छ. गर्दागर्दै केटाहरु अनेक भन्न थाले. कोहि पहिलो समागमको अनुभव दिन थाले, कोहि ह्याट्रिक गरेको गर्व सुनाउन थाले. बेदनिधिलाई केटाहरुको यहि बानी ठीक नलागेर हो बैठकमा बस्न नमानेको अघि. 'खाली अर्काका चेलीबेटीलाई गिद्दे लाउन मात्रै जानेका'  उसका मनले यहि भनो.
'गिद्दे, चमेरे, चिले, कागे, ढुकुरे जे लाउनु अर्कैका चेलीबेटीलाई नै त  हो भन्ने पनि भुल्यो कि क्या हो बेदेले' कथाको बीचैमा नरेशले रयाक हानो.
'सुन न सुन, हा हा हाहा'  सुरजले एक पल्ट हाब्रो च्यातेर हाँसो र फेरि कथा भन्न थालो. 
बेदनिधिले पिसाब आयो भनेर त्यहाँबाट उठेर चम्पट हानो होइन. पिकनिक तय भयो फागुन ७ गतेलाई. भोलिपल्ट क्याम्पसमा पिकनिकमा जानेको नाम टिप्दै हिड्दा बेदनिधिले आफ्नो नाम दिएन. १५ दिन पछि पिकनिक हुने भो केटाकेटी सबैको जमघट. खुलेर रमाइलो गर्ने, नाच्ने, केटाकेटी 'नो  डीस्क्रिमिनेसन'   
पिकनिकको नीति निर्माण भयो. बेदनिधिले सबै सुन्यो तर नसुने जस्तो गरो. ऊ नजाने  भो पिकनिक.

भाग्यको लेखा बेदनिधि एउटा सवारी दुर्घटनामा पर्यो तेही साँझ. उसलाई सिकिस्त स्थितिमा अस्पताल पुर्याइयो तर ऊ बाँचेन. सबै साथीले दुख माने र बिर्सिए. फागुन ७ को पिकनिकमा सबै रमाए झुमे. बेदनिधि त ढिलो ढिलो गरी पिकनिक पो पुग्छ त गाँठे !!!!! सबैले प्रेत भनेर डराए. डराएर काम थिएन. बिरेनले साहस गरेर बेदनिधिलाई सोध्यो- 'ए तिमी त बितेको होइन दुर्घटनामा ?' 'हो नि तर फर्किनु पर्यो नि फेरि' बेदनिधिले रुन्चे मुख लाएर भन्यो. 'किन नि के भो मरेर पनि कोहि फर्किन पाउछ?' अर्कोले डराइडराइ  सोध्यो. 'चित्रगुप्तले खाता पल्टायो र मलाई घुरेर हेर्यो  र खाता लिएर  मलाई पछि पछि आइज भन्दै यमराजका मा पुर्यायो   र खाता जाहेर गर्यो. खाता हेर्ने बित्तिकै यमराजले खाउँलाझैँ गरेर 'थुक्क' भन्दै जोडले भुइमा थुक्यो र मलाई एक चड्कन लायो.....' 'अनि?' बिरेनले भन्यो. अरु सास दबाएर बेदेको जागित्रका कुरा सुन्दैछन. '...अनि ए मुर्ख नालायक युवक, तेरो के हो चाला ? तेत्रो गणतन्त्र आयो तेरो देशमा अझै तँ.... 'किन महाराज ? आउन ता आको छ महाराज'  मैले भने. 'लौ भन युवक तेरो पहिलो यौन आनन्दको कथा, सुना तेरो पुरुषार्थ' भनेर ऊ गर्जियो. 'म त महाराज कुमार नै छु, एकदम पबित्र महाराज' मैले भने. ' तेरीमा पिछडीएका लिङ्ग, उन्तीस उन्तीस बर्ष सम्म   प्रकृतिको मुलधारमा अनाइकन के हेरेर बसिस त तँ ? यस्ता पिछडीएका लिङ्गलाई यहाँ ठाउ छैन' भनेर एउटा चन्ड बोलाएर मुन्टयाउन लगायो अनि घरै नगई सोझै पिकनिक आको म त' भनेछ अरे बेदेले. केटाहरु गलल हाँसे. 'लू यार म त तेसो भा आउनु पर्ने रछ फर्केर' अशिकले भनो. हाँसोको अर्को एक राउण्ड चल्यो. पकाउने तयारीमा लागेका केटीहरु केटाको हाँसो सुनेर फर्किएर हेरे र फेरि काममा लागे. केटा पनि  आफ्नो भागमा परेको काममा लागे.

'हि हि हि पिछडिएको लिङ्ग' जनक ढुंगाको चुलो बनाउदै एक्लै हास्छ.  
   

Saturday, 14 January 2012

गजल

सबै भन्दा चिप्लो हुने सम्बन्धको बाटो रैछ
सजिलो छ ठान्ने मान्छे एक नम्बरको लाटो रैछ

छेउ भित्ता अघि पछि खुब नियालिहिड्दा पनि
भित्रभित्रै गुम्सिआउने नजानिँदो फाटो रैछ

कोहि छ कि नचिप्लिने तेन्जिंग जस्तो बुझिहेर्दा
कोहीका आला घाउ भेटें  कोहीका भर्खर खाटो रैछ

प्रेममा भन मित्रतामा नातेदारमा जेमा पनि
जस्तै मिहिन पारें भन्नू  बार हातको राँटो रैछ

बाँच्न सके खुसी मनले रिस राग पखालेर
सबले सोचौं यो नि एउटा जिन्दगीको पाटो रैछ   

Tuesday, 10 January 2012

आँखाको बन्ध्याकरण

मन भालेको बाससँगै हरेक बिहान
डुल्न निस्किन्छ बाहिर

दिनभरिमा ककसको  के के
पुगिसरी देखेर आउँछ
हरेक साँझ आखाहरुलाई गर्भवती बनाउछ
अनि उज्यालो हुन नपाउदै
आँखाले कोरल्छे सपनाका चल्लाहरू
धेरै जसो  बिल गेट्स या लक्ष्मी मितल  जन्माउछे
आठपाँज देवकोटा र बाबुराम
टम क्रुज, ब्रिटनी स्पेयर्स
र माइकल ज्याक्सन

लालनपालन गर्ने
हुर्काउने सक्षम बनाउने
हुती बिचारै नगरी
लबस्तरो मन
हरेक साँझ यसरी नै
आँखाहरुलाई दुइजिउ बनाउदै
बिल गेट्स, देवकोटा र बाबुरामलाई
क्रुज, स्पेयर्स र ज्याक्सनलाई
सडकमा लगेर फालदिन्छ
र फर्केर साँझमा पुन:
आँखामाथि जाइलाग्छ

आँखा अनेकौं बेत ब्याएर
खोक्पा बुढी भइसकी
तेत्रो सन्तान उसका कहाँ गए
कुनै हिसाबै नदिइकन
लबस्तरो असन्तोकी  मन सधैं.....

अब आँखाले स्थायी बन्ध्याकरण सोच्दै छे
आफ्नु गच्छेअनुसार
त्यही बाँचेको एउटा बिर्खेलाई
हुर्काएर ठुलो मान्छे पार्छे रे ऊ.