about

Friday, 23 December 2011

सत्ताकब्जा

प्रिय,
बर्षौदेखि तिमीले
ठुलाठालुको मात्रै भरणपोषण
गरेको देखेर
उनकै लैबरिको भाकालाई मात्रै
भाका मानेर
तेसैमा मात्रै कम्मर हल्लाउने
र छाती उफार्ने गरेको देखेर
मुठीभरहरुलाई मात्रै
माया जस्तो सबैलाई चाहिने कुराले छोपेर
अनेक रुप र तालमा  दाउ र बहानामा
हामी मायाबिहीनहरुलाई
गन्दै नगनेपछि
नहुने बैंसालुले टालो नपाएर आंग देखाउँदा
तिमि भने छालका छाल पहिरन
भंडारमा गुम्स्याएर
आंग देखाउदै हिड्न थालेपछि
बन्द कोठामा साहुमहाजनसँग खुसामत गरेर
मायाबिहीनहरुलाई
अझ  पाखै लाउने तिम्रो चेस्टा बुझेपछि
तिम्रो उछितो काढेरै छोड्ने
तिम्रो मनपरी
पक्ष्यपाती मायाजाल तोड्ने
सबैलाई एकैनासले
माया र घरबारी जोड्ने
लौह कसम
ओसीएका मकै भटमाससँग खादै
हामीले मुठी कसेका थियौं.

गरिबलाई सपना  बाँडेर
बेकामेलाई
काम, माम र दामको आशा दिएर
जातैपिच्छे देश नै अंश लाइदिने भन्दै
"कि जित्यो संसार कि हार्यो एक लुर्को जिन्दगी" भन्दै
बाआमाले खाइनखाई हुर्काका छोराछोरीलाई
भावावेशले सम्मोहित पारेर
तिम्रा पिंडूला फुटाउने भनी जमात तयार पार्यौं

तिम्ले कुम्ल्याएको
अथाह हिरा जवाहरात
जसरिपनि खोसेर नहुनेलाई बाँड्ने
फेरिफेरि कसैले पनि मनखुसी
कुम्ल्याउन नपाउने गरेरै  छाड्ने
भन्दै मानेका माने लाएर भासन ठोक्दै
भिर पहरा दगुर्दै
नखाई नसुती
पातमा ज्यान राखेर हिंडियो हिंडाइयो
कतिको सपना गिंडीयो
कतिको जीवनलीला गिंडाइयो
तिमि डराए जस्तो त गरेउ
तर गल्दै गलिनौ
मेरा खाइलाग्दा यौनिक जुँगाले
कहिले तिम्लाई मोहनी लाएछ लाएछ
जसरिपनि मायाजालमा फंसाएरै छोड्ने
बाचा कसिछौ भित्रभित्रै
कदम कदममा गाँज्दै लगेउ

मैले ठानेको थिएँ
तिम्रो चरित्रको
मुख्य माउलाई मासेपछि  त
तिमि आफैँ थान्को लागौली
जीवनरक्षाको बिलाप गर्दै पाउ परेर रौली
तर  प्रिय,
सबै मिथ्या कल्पिएछ
तिम्लाई
जतिजति ठुल्ठुलो स्वरले थर्कायो तर्सायो
तेतीतेती मायाको डोरीले अँठ्याउदै पो लगेउ
आज हुदैन भनो भोलि हुन्छ बनायौ
पिंढीमा सम्म बस न त भन्या
ओछ्यान नै मागेउ
ओछ्यान देको
अब हृदयमै बास पाउ खसम भनेर अड्डी कसेउ
तिम्रो चिर हरण गरेर
अस्तित्व नै नामेट पारौंला भनि
अनेक दुर्योधन लगाइयो
अनेक सकुनी जालदेखि महाजाल इन्द्रजाल खेलियो
तर खै
तिम्लाई सघाउने अदृश्य कृष्णहरुले
सारीको फन्को कहाँबाट पठाउँछन् पठाउँछन्
तिमी कहिले नांगिनौ
हामीले खुइय्य गर्यौं
बिना उतेजना बिना आवेग बिना हतारो
तिमी हाती लम्के झैं लम्की रह्यौ
हामी घोडा चम्केसरि
चम्किएछौ कि क्या हो

प्रिय,
आखिर जित तिम्रै भयो
तिमीले प्रितले जोडेर
दोबाटोमा चर्किएको गमलालाई
बार्दलीमा उचालेर
बडो स्नेह र ममताले सम्हालेर
माने धुलिसात हुन बाट जोगायौ
र, मेरो भ्रमलाई
प्रेयसीलाई बैरी देख्ने मेरो बालसुलभ बुद्धिलाई फिरायौ
तर सम्झी ल्याउँदा पातली,
तिमीले हाम्रा जिबाले भन्ने गरेको
उखानको बोहोरा नै बनाई छोडेउ नि
उखान -" बिर्ता पायो बोहोराले बेंशी गयो बस्दै, बेंशी लाग्या खहरेले जस्ताको तस्तै"
भैगो
अब तिमी जे भन्छेउ
बरु हनिमुनका लागि चैं
गोवा या  न्यूयोर्क नै ठीक होला, कसो ?
बाँकी जीवन तिम्रै भो
अब मनखुसि गर
भू-धन बटुल कि धातुधन कुम्ल्याउ
जे गर
बरु प्रिय,
किरण अलिक ढिलो कुरा बुज्छ
तेस्लाई छु-मन्तर गरेर लेउ
तिम्रा पुराना पतिहरुको हुलमा
समेल हाम्लाई पनि
जात जार कै  भए पनि मिलिजुली खाऊँला
तर पातली,
यति नबिर्स
भत्ता कब्जा भैसक्या छ अब सत्ता कब्जा भका दिन चैं........           

No comments:

Post a Comment