about

Thursday, 29 December 2011

मेरो पहिलो सिनेमा


सिनेमासँग मेरो चिनजानको आरम्भ हिन्दी फिल्म 'जाल' बाट भएको हो.  शिव सिनेमा हल नामको एउटा ओसिलो घरभित्र छिराउनु भएको थियो मामाले टिकट किनेर. मिथुन चक्रबर्ती हिरो र नाम बिर्सिएकी(शायद नचिनेकी होला मैले किनभने श्रीदेवी नै थि हिरोइन भने पनि मैले चिन्ने कुरै थिएन त्यो बेला, मिथुन चैं तेहीबेलाको कपाल र मान्छे संझेर पछि उसका अरु फिल्म हेर्दा ठाम्याएको)हिरोइन भएको सिनेमामा के कस्तो जाल गरिएको थियो मैले केही बुझेको थिइन सिनेमा सकेर बहिर निस्किंदा. पहिलो कुरा भाषाको मारमा परियो,हिन्दी कुरै बुझिएन दोस्रो जीवनकै पहिलो सिनेमा हेराइ बुझ्ने कुरै भएन.

त्यो पनि अबसर नपाइने हो खासमा भन्नुपर्दा. बाआमा सिनेमा भनेको छेतकीपातकीले मात्रै हेर्ने कुरा हो, सत्तेधर्म धान्नेले सिनेमा हेर्नै हुँदैन भन्ने मन्यताका पक्षपाती. कोही कोही साथीहरुको जस्तो शनिबार बाबुआमासँग सिनेमा हेरेको गफ दिने भाग्य कहाँ हुनु आफ्न. फेरी ति माथि पढ्ने केटाकेटीले सिनेमा हेर्यो  भने पढ्न आउँदैन भनिदिएपछि  त केटाकेटि बुद्धी हो न हो पढ्नै आएन भने त सिद्धेन भनेर उसै छेरभालु भइन्थ्यो सिनेमा हेर्ने कुरादेखि. धन्न मेरा मामा देवीप्रसाद खनाल पहाडबाट मधेसमा जग्गा किन्ने ध्याउन्नमा झर्नु भए को थियो त्यो बेला र उहाँका पछि  लागेर हिंड्ने भाग्य जुर्दा सिनेमा पनि जुरेको हो. केटाकेटी  उमेरमा ठुला मान्छेका पछि  लागेर हिड्दा  मिठोमिठो खान पाइन्छ, मटर चढ्न पाइन्छ उस्तै परे आनासुको गोजीमा पर्छ भन्ने लोभले मैं चाहिँ छनोटमा परेदेखि ताल पर्थ्यो भनेर भित्रभित्रै औडाहाले सकिहाल्थ्यो उ बेला.

मामा हुनुहुन्थ्यो जीवनको संसारिक लीलालाई, मान्छेको आचरण र प्रवृतिलाई अलिक दार्शनिक र व्यंग्य चेतले हेर्नेबुझने खालको मान्छे. अहिले सम्झिन्छु उहाँले के के भनेर हसाइरहनु हुन्थ्यो. हाम्रा घरमा आएका बेला सबै जना सिकुवामा बसिराख्या बेला 'जई सिरिराम' भन्दै एउटा साधु आयो. त्यसलाई देख्ने बित्तिकै मामाले 'बरु यो जागिर चैं सबै भन्दा सजिलो हौ' भन्दै सबैलाई हँसाएको सम्झिन्छु. अहिले बुझ्दा उहाँले संसारिक व्यथागाथामाथि निकै गमी कुरा गर्नु भएको रछ. मधेस झर्दा एउटा सिनेमा चैं हेरेरै जाने गरेको सुनाउनुहुन्थ्यो मामा. अनि मामाका पछि लागेपछि सिनेमा त कतै नजा भन्ने लाग्थ्यो मनमा.

जाल हेर्न भित्र बस्दा गर्मीले पाकेर झन्डै मर्या म. झापाको कुन महिनाको घाममा परिएकोथ्यो को नि आम्ममम भित्र त हपहपी. त्यो वायुपंखा टाउकामाथि नबिसाइकन फंकेकोफन्केकै  थियो र पनि तेस्को कुनै भर थिएन भित्र. मान्छे हम्केको हम्केई रुमालले पुछेको पुछेई गर्थे तर तेती बिधि कास्टि खप्नु पर्दा पनि त्यो भावरबाट बाहिर कोहि निस्केन छोडेर. मध्ये बार्दा बिजुली बल्यो. अघिको कालीओढार सबै छ्यांगछुंग देखियो. मेरी बास्सै ! शरीर त लुगै नखोली खोलामा हामफालेर बाहिर निस्के जस्तो पो भएको छ ए. सानासाना काला केटा 'ए पापड, ए अनारस, ए मकै, ए कोक' भन्दै छिन्द्रिंग र मिन्द्रिंग बजाउदै भित्र पसे. मामाले अनारसका चिरा किन्नु भो, मैले एउटा चमकाएँ.  फेरि एउटा किरिरिरी घन्टी बजो र ढोका बन्द भो. उही काली ओढार फेरि. साँच्ची भन्नु पर्दा मलाई अघि नै दिक्क लागेको थियो, कतिखेर निस्किनु जस्तो भएको थियो. न बोलेको केही कुरा बुज्नु छ न त सिनेमाको भाषा रस थाहा छ. भडडुमा उसिन्न बसाए  जस्तो गरी पाकिएको छ. मामालाई यसो  हेर्छु आँखा झिमिक्क नपारी मिथुनको करामतमा एक चित लाइरहनु भएको छ. सिनेमाको सुरुतिरै हुनु पर्छ त्यहाँ एउटा पाटेबाघ आयो. अहिले बुझ्दा क्लोज अपमा खिचेको बाघको हिडाइ र छ त्यो. बाघ आको आएइ आको आएइ नाकै छुँला जस्तोगरि आयो. सत्ते मेरो सातो  गको हो त्यो बेला. मैले त भाग्नु पर्दा भनेर ढोका कहाँनेरि छ भन्ने पनि हेरिसकेको थिएँ. मामातिर पुलुक्क हेरें मामालाई वास्तै छैन, अरुलाई बिचार्छु उही ताल छ. केही नहुने रछ कि जस्तो पनि लाग्छ, तर त्यो बाघ ओझेल नपरुन्जेल म ढुक्क हुनै सकिन.  दुईजना पन्जाबी एत्राएत्रा हावाले फर्फर्याउने सुरुवाल लाएर लुइँलुइँ हिनेर आफूतिर आइरहेको देख्छु. आको आएइ छन्, यिनलाई बाटो छोड्दिनु त पर्छ भनेर मैले  दायाँबायाँ कताबाट जालान भनेर आफ्नु दाहिने देब्रे हेरें पनि.मलाई यो सब भएको सिनेमा भनेको के हो भन्ने नै थाहा नभएर रहेछ. सिनेमा भनेको मान्छे नै सशरीर आएर गर्ने काम हो कि त्यो पर्दामा देखाइने चल्ने चित्र हो भन्ने न्युनतम सिने ब्याकरणको ब ममा नभएर म तेसरी त्राहिमाम हुनु परेको रहेछ. 

मैले मेरो पहिलो सिनेमाको बारे त्यो पाटेबाघ र ती दुई पन्जाबी बाहेक केही सम्झिन्न सकेको छैन अहिले. सिनेमा सकेर बिर्तामोडबाट मटर चढेर हामी सन्सरेतिर लागेका थियौं. खासमा म किन मामाका पछि लागें मामाले किन घरबाट मलाई लिएर हिड्नु भो बा आमाले किन पठाउनु भो मलाई अहिले केही थाहा छैन. मटर चढ्नु पहिले मामाले एउटा कैंयाँका हुटेलमा लगेर सिंगडा किन्दिनु भो मलाई आफूले पनि खानू भो. खुदुनाबारीमा मामाका दाजुभाइको ठुलो लहरो छ. तेतै लागेका हामी. म फुच्चे केटो सुज न बुझ जाल हेरिवरि मामाका पछिपछि दगुरेको. मनमा त्यो दिन  केही बेग्लै भएजस्तो के के न पराक्रम गरेजस्तो  लागिरहेको थियो मलाई तर शब्दमा भन्नु परेको भए मेरो केही बाक्य फुट्ने थिएन पक्कै पनि. मलाई सिनेमा सकेर मामासँग उता कता खुदुनाबारी जानु भन्दा घर झिलझिले नै फर्किन पाए हुने जस्तो लागेको थियो. कतिखेर घर पुगेर नमोनारायण हरि केही नबुझे पनि घरकै पहिलो सिनेमा हेर्ने मान्छे भएको कुरा सुनाउनु भन्ने खटपटीले खलक्कै खाएको थियो मलाई सिनेमा हेरेपछि पनि मामाका पछि लाग्नु पर्दाचाँहि. बिशेषगरि एउटै वयदमालको भाइ डिल्लीरामलाई आफूले सिनेमा हेरेको हाँक सुनाएर जिल्ल पार्न पाए केटाको फुर्ती पग्लिएको हेर्न पाइन्थ्यो भन्ने छ आफुलाई. 

मामाले सन्सरेसम्म मटरमा लगेर हिडाउनुभो त्यहाँबाट करिब डेढ घन्टाको बाटो उतर खुदुनाबारीसम्म. सन्सरेबाट गाडी चल्न थालेका थिएनन् क्यार खुदुनाबारी त्यो बेला. कुरो २०४४/४५ को हो. ठुलाका पछि पछि हिड्ने भुराको दसा मैले सबैको एउटै देखेको छु. उनीहरुको  हिडाइको गतिसँग गति मिलाउन सक्ने कुरै भएन अनि हरेक दुइचार मिनेटमा खुर्रर्रर कुद्यो भेट्यो अनि फेरि पछि पर्यो कुद्यो. एबम् रितले मैले त्यो डेढ घन्टाको पदयात्रा तय गरें मन नलाई नलाई किन कि मेरो भित्र अर्कै औडाहाले मलाई फिटिरहेको थियो छिटोछिटो घर पुगेर सिनेमा हेरेको फुर्ती देखाउने. हामी बेलुका खोइ कुन खनालका घर पुग्यौं. ठुलाबडा के के बात मार्छनमार्छन. रस लिएर जग्गाको भाउ छोइनसक्नु भएको...... तेतापट्टि भन्दा एतापट्टि अलिक रसिलो छ जिमिन....... त्यो किन्न पाए त माल हुने नि........ तेस्ले सारै मुंगो गरो......एस्तै एस्तै भुरालाई अति नै झ्याउ लाग्ने कुरा गरे मामाहरुले. म मामा को भान्जो भको भएर अरु सबै खनालको पनि भान्जो नै परें. 'को अरे यो फुच्चे' भनेर चासो गर्नेलाई मामाले चिनाएपछि  'ए फलानिको छोरो ?' भन्दै आमाको नाममा बाइमात्रा लाएर चिने मलाई सबैले.

एकछिन गफ गरेपछि चिया आयो.  सबै चिया सुर्क्याउँन थाले. ल्याउने बितिक्कै एकछिन पनि भुइँमा नराखी तेस्तो बाफ उडेको भकभकी उम्लेको चिया खान्छन मान्छे. मलाई पनि एउटा स्टिलको पेलामा चिया आउने नै भयो. आयो. त्यो एति तातो छ कि सिधै आगोका कोइला मुखमा हाल्नु जतिकै छ मेरा लागि. मैले कुनामा बसेर निरिह भावमा चियालाई फु का फु लाई रहें तर उठाएर मुखमा लान सकिन. घरमा चिया खाने बानी नै नभएको  हाम्रामा चैं. मान्छे आउदावर्दा मात्रै नत्र घरका ठुलाको लत  नभएपछि चिया नित्यपेय नहुने रछ. हाम्रामा भएन. तातो चिया खानै  परे घरमा त कहल गरेरै भए पनि थालमा बटुकामा सलाइवरि खान पाइने. अरुले चिया खाइसक्दा पनि म चियामा फु फु नै उडाइरहेको थिएँ. अब कुन लुइँटेलले बेच्ने भएको छ रे घरबारीनै, हेर्न जाने भए. सबैजना जर्याकजुरुक उठे. मेरो चियाको हालत देखेर मामा ले 'ए यिनले त खाकै रैनछ त, ल तिमी चिया खाएर बस्दै गर हामी एकछिन डुलेर आउछौं' भन्नु भो. मैले हुन्छ पनि भनिन हुदैन पनि भनिन. मलाई छोडेर कहाँ जाने होला भनेर म झन्डै रुन मात्रै सकिन. मेरो निलोकालो घुंक्का छुट्नै आँटेको मुख अनुहार देखेर मामाले 'ल चिया छोडिदेउ, हिंड' भन्दा मेरो देही तेसै बलेर आएको थियो. कता सिनेमा हेरेको फुर्ती लाएर साँढे हुने दाउ कताको रुन्चेपिन्चे हालतमा चौखुरिनु परेको दिन. मलाई मर्नु भको थियो.

मेरो नजरको परिसिमनमा मौरी भुन्भुनाए जस्तो तेही सिनेमाका मुक्कामुक्की, कुन पाराको हो गीत र नाच, तेही पाटेबाघ नाचेका छन् जतिखेरै. सिनेमा भनेको के चाँहि हो त ? ती मान्छे, त्यो मिथुन त्यो पाटेबाघ कहाँ गए त ? हामी हलबाट निस्किदा सँगै निस्केको पनि देखिएन. आखिर सिनेमा के हो त ? मेरो बालमस्तिमा एस्तै के के कुरा खेले जस्तो पनि लाग्छ फेरि कुरो छिनाएर सोच्ने बुद्धि पनि पुग्दैन. म तेसै उदेकले रन्थनिएको थिएँ त्यो दिन. कुन लुइँटेलको घरखायल हेर्न भन्दै मामाहरु कसका पाटा बारीबारी कुदेको र सुद्नु न बुद्नु  टुँडिखेलमा कुद्नु भने जस्तो म पनि चिया समेत नखाइकन पाटाबारी कुदेको हुँ त्यो दिन. बेलुका बद्रेका तिर जानु पर्छ आज भन्दै मामाले अलिक बजार जस्तो ठाउतिर लानु भो. त्यहाँ फेरि ठूलाबडाका उही सुनिनसक्नुका गन्थन चले. म भोकले बोल्न नसक्ने भइसकेंछु त्यो बेलासम्म. सिनेमा हेरेको कुनै तुजुकले पनि मलाई लल्याकलुलुक हुनबाट रोकेनछ. मामाले मेरो अनुहारको लत्र्याकलुत्रुकपन अघि पक्डीनु भएछ 'ल मेरो भान्जो भोकायो' भन्दै तेस दिनको भोजन गर्ने ठाउँको टुंगो लाग्या बद्रेका भान्साघरतिर लानु भो. टेबल कुर्सीमा बसेर खानू पर्ने रछ त्यहाँ. घरमा खोस्टा र परालका  घुमाउने पिरामा मात्रै बसेर खाको मान्छे म, त्यो चाला देख्दा महाजनका मा पो पुगिएछ भन्ने ठाँने मैले मनमनै. तर दुर्भाग्य सबै बसेर खान मात्र के थालेका थिए मैले टेबलमा मलाई राखिदेको पानी गिलासमा अघि एक घुस्सी हानिहालेंछु. भुइँमा बसेर उनको काम गर्ने पनि खाँदै थियो तेस्का भागमा मैले फेवाताल नै बनाइदिएको म किन बिर्सिन्थें र. मेरो बिचारमा मैले ठुलै अबगाल पारेको हुनुपर्छ त्यो दिन. केटाकेटी मन काम बिगारेपछि अकाट्य कुटाइ  नै खाइन्छ भन्ने हुदो र'छ म निलिइ सकेको थिएँ तर भैगो भैगो भने ककसले र मेरो कुनै पुजा भएन तेस क्षण.  

बेलुका खानापछि गफका क्रममा मामाले भान्जालाई सिनेमा देखाइदिएको भन्ने मेसो पारेर जाल हेरेको कुरा निकाल्नु भो. बद्रेले 'ए कुनमा उर्वसीमा ?' भनेर अर्को हलको नाम लिएर सोधे. 'होइन शिवमा जाल लाग्या र छ, तेही हेरियो' मामाको जवाफ थियो.  मामाले सुनाइसक्नु  भो सिनेमाको कुरा आफू त फुस्रै.

भोलिपल्ट मामासँगै  घर पुगियो. मामा गफमा अल्मलिनु भो मैले चैं डिल्लीलाई नाकका चालले घरपछाडि बोलाइहालें. ऊ पनि केही नयाँ कुरा नै हुनु पर्छ सके आफुलाई केही हात लाग्ने नै पो हो कि भनेजस्तो आशा निकाल्दै बेर नगरी दौडियो मतिर. 'बुजिस मैले फिलिम हेरें जाल, क्या दामी थ्यो' मेरो फुर्ती निस्कियो. दामी थियो कि थिएन, मेरो दामी र नदामी छुट्याउन सक्ने हुती के हो भन्ने मैलाई थाहा छ भित्र तर, मैले दुई दिन देखिको जमेको फुर्ती निकाली छोडें.
'काँ थे पैसा ?' डिल्लीले मुख अमिलो पार्दै भनो. मैले बाँकी सबिस्तार लगाएँ. डिल्ली त हेरेको हेरेइ.                           

No comments:

Post a Comment