about

Monday, 26 December 2011

मैयाँ



   नोट: मेरो कम्प्युटरमा फुलस्टपले नेपाली युनिकोडको पूर्णविराम नदिएका कारण पूर्णबिरामको ठाँउमा अंग्रेजीको फुलस्टप भएर पाठकमा पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छु.

   मैंयाको भित्रि बाहिरी  कुनै मनले पनि मानेको होइन बिस्ने बुढासंग अन्मिएर जान. आमा ऊ ३ बर्सकी हुदै पाठेघरको क्यान्सरले बितिन, बाबु घाँस काट्न जाँदा भिरबाट झरेर परलोक भएपछि मैंयाको लालनपालन लिचिबोटे चार दाजुभाइ र भाउजुका  भागमा परेको हो. मैंया लिचिबोटे चार दाजुभाइकि एक्ली चेलीको रुपमा पछि जन्मिएकी. घरअगाडि  दोबाटामा एमानका छत्रेवर जत्रा लिचिका जोररुख भएकाले ढुंगाना खालको नामै लिचिबोटे चलेको बाजेकै पालादेखि. अझ लिची पनि होइन लुची भन्छन सबै गाँउमा. बुढापाका त नजान्ने  भए सुने पछ्याए तर गाँउका आइ कम बि कम टेनमा टु कम सबै लुची भन्छन. त्यसैले ति पनि लिचिबोटे होइन लुचीबोटे कहलिए. अलिक टार बारीको सेरोफेरो भका, बाउले सुरु गरेको सुर्ती बेपारलाई किराना पसलमा पुर्याएर गाउँलेलाई नुन भुटुन पुर्याका ढुंगाना दाजुभाइ गाँउका हुने खाने मै गनिन्छन.

 मैंयाले  धेरै पढ्न पाउँदै पाइन. ढिलोगरि स्कुल जान  पाई. त्यो पनि बहिनीलाई काममा मात्रै जोतेर पढ्न नपठाको भनेर, भाउजुका तापमा परेकी बिचरीले के पढ्न पाओस भनेर जोरीपारीले सारै भन्न थालेपछि नाक जोगाउन पेर्मे ढुंगानाले बलैले स्कुल भर्ना गारिदियो. बिहानैउठेर आफ्ना काँटीको भारी  घाँस ल्याएर मात्रै स्कुल जाने तालिका बाँधिदिन भाउजुले त्यो  पनि कक्षा  एकमा १२ वर्षको उमेरमा. अरु भन्दा अग्ली ठुली हुने नै भई  कक्षामा. आफुलाई सबै साना भुराका बिचमा पढ्नु पर्दा उसलाई हुन सम्म लाज लागेको हो सुरुसुरुमा पढ्न जान पनि. सगैका आफ्ना दौंतरी चार पाँचमा पुगीसकेका ऊ भने एकमा. कक्षा छुट्दा  वा चौरमा लाइनमा बस्दा ऊ आफ्ना समुहमा परैबाट छुट्टिने चाल्लाका बिचमा माउ पोथी जसरी. फेरि  मैंया  अलिक लाम्घारे  हुने छाँटले  बढेकी, सुनटि जस्ता  नलीखुट्टा भसक्कै तन्किएका उँभोउँभो.अनेक कष्ट साध्य यत्नले ऊ पांचसम्म पुगी. फेल भइन. शरीर र उमेरले नै जितेर हो कि परिक्ष्याफल आउँदा ऊ सधै पहिला नै भई. १६ बर्सकी भई मैंया पाँचमा  पढ्दै छे। अब बैशाखमा  हुने जिल्ला स्तरीय परिक्षा  लेख्न पाई भने सके पहिला नै भएर छ मा उक्लिन बेर लाऊँदिन.  तर ''मंगसिर त कसैगरि काट्न दिनु हुदैन यसपाली"  भनेको उसले पटकपटक सुनेकी छ र उसलाई नै भर छैन कतिखेर स्कुलबाट बिदा हुनुपर्ने हो.

   अब त उमेरले पनि घोर्ले देखिन थालि मैंया. दिनदिनै बालेर आउन थालेकी छे ऊ. गालामा गुराँश फुलेफुले जस्तो देखिन्छ अचेल उसलाई अलिक ठम्याएर हेर्ने हो भने.अब नौलो पौलो मान्छे आउदावर्दा, सधैंका  छिमेकीसंग पनि बोल्दावर्दा आँखाले लाज पोखेको राम्ररी बुझिन थालेको छ. सबेरै उठेर धन्दापातमा लाग्नु, खेतालासंग लयो लागेर मेलो थाम्नु, कर्मैले डोकोनाम्लोमा जन्मिएँ भनी आइपर्या काम छिनिसकेर पाखा बस्तु डुलाउनु मैंयाको लेखा बनेको छ.  अरु दाजुभाइ छुट्टिएर आ-आफ्नो गरिखान थालेपछि मैंयाको बे भाग अंशसहित जेठो दाजु पेर्मेसँग छे मैंया परारका सालदेखि. घरमा पढ्न नपाए पनि कक्ष्या कोठाकै भरले परीक्षामा पहिला पहिला भको देखेर पेर्मेकी बाहुनी जिल परेकी छ एक हिसाबले मैंयादेखि. फेरि अर्को मन पनि छ उसको कि एही हिसाबले पढाउने हो भने भोलि एस. एल. सी. गर्ली सजिलै अनि त झन क्याम्पस नपढाई सुखै हुदैन. तेसै  त गाउँका आइमाई के छोरी के बुहारी टेम्पलस टु खोलेदेखि हामी त पढ्ने भनेर भुँइमा खुट्टा छैनन्. पेर्मेकी बाहुनीले मैंयालाई यही  तालले पढाउदै लानु हो भने भोलि आइपर्ने खतराको बारे गमिसकेकी छ. जसरी  भएपनि आउँदो मंगसिरमा अन्माइदिन  पाए लुतो पन्सिन्थ्यो भन्ने ध्याउन्न उसको चितमा पसिसकेको छ.

   एकदिन गाईलाई नाम्लेको दबाई ल्याउनू भनेर पेर्मेले मैंयालाई हाटखोला पठायो तल एक घन्टाको जाँदा ओरालो आउँदाको उकालो बाटो. नाम्लेको दबाई किनेर फर्किने बेलामा गाउँमा  सामान खेप्ने पिक अप हिड्न ठिक्क पर्या र छ र कसो हिड्नु परेन उसलाई. डाइवरले आफ्नै छेउमा खांदीखुंदी पारेर निक्कै रुचिपुर्बक 'जाऊँ, जाने हो ?' भन्दै ल्याएर घरैअगाडि झारिदियो. कच्ची बाटोमा डाइबरले  घुम्ती कुइनेटो घुमाउदा उसका कुइना पाखुराले मैंयालाई कति पटक अचेट्यो अचेट्यो. डाइवर पनि अल्लारे वयको परेछ. साच्चै भन्नु पर्दा मैंयालाई जोडी बाँधिदिने हो भने चिरिच्याट्ट नै हुने. मैंयाका घर पुगेपछि दोकानमा चुरोट खाने निहुले डाइवर पनि ओर्लियो गाडी छेउ लाएर. मेचमा बस्यो र पानी माग्यो. मैंयाले  लोटामा पानी ल्याएर दिई. उसकी भाउजुले डाइवरलाई खुकुरी चुरोट बेची. डाइवर चुरोट तान्दै पल्याकपुलुक आँखा चलाएर मैंयालाई खोज्दै गर्छ. खोइ डाइवरको जात अघि पो के के चिताइसको कि. मैंया पानीको लोटा लिन आई, उसले एक टकले हेरिरह्यो. मैंया लोटा लेर गई र ढोका पछाडि परेर आफ्नै चालले डाइवरलाई ठाम्याई. एउटा कानका लोतिमा पिरामिड जस्तो तिखो वस्तु खाँदेको, कपाल पछाडिबाट छाला नै  देखिनेगरि  भस्सकै पिल्स्याएर अगाडि मात्रै राखेको, नारिमा काला चुरा जस्ता लहरी लाएको राम्रो राम्रो बान्कीको बीस बाईसको जस्तो देखिने डाइवर मैंयालाई कस्तो लाग्यो, के ठानेर तेसरी लुकेर हेरी. डाइवरले जानलाई गाडी घ्यार्र  स्टार्ट गर्दा 'छ्याए' भन्दै फुलको पात खान आँटेको बाख्राको पाठोलाई धपाउने तौजी मिलाएर मैंया आँगनमै हुर्रिएर आइपुगी र फेरि डाइवरसँग  आँखाचार गरी. 'डाइवर गयो चार पांग्रा  टेकेर, लुचिबोटे मैंया लाई देखेर'.   
  •  
   मैंया तीन घन्टाको मोटर बाटोले देशको राजधानी पुर्याउने गाउँमा डोकोनाम्लोसँग जन्मी र पो. नत्र ऊ नि कम्पुटर जमाना मिले 'आई लबु' लेखी पानामा छड्के तिरले घोचिवरि च्याट गर्ने बेलाकी भइसकी. ऊ नि गर्ने थि नि क्याटवाक आफ्नु भको जायजेथो देखाएर फोटोसेसन गरिवरि. ऊसँग  नि पानामा छड्के तिर चलाएर मनपेट साट्ने दिल र छ भन्ने त डाइवरसँगको क्षणिक चालामाला मै बुझियो नि त अघिनै. क्याटवाक गर्न, फोटोसेसन गर्नलाई नभई नहुने कथाले मागे जति दिने शरीर र अंगप्रत्यंग पनि उसका सद्धे नै थिए. तर पुर्नेहाटमा किनेका  चुरा छनछन बजाउदै भुँइसीलाई कुँडो काट्नु मै उसको प्रेम जवानी सिमित भएर पो ऊ 'मिस लुचिबोटे' मै ठिंगुरीई त. 
    बेलुकाको खाना खाई धन्दापात  छिनेर चोटामा चढी मैंया सुत्न. ओछ्यान लाई बती निभाई र सुती. तर उसलाई निन्द्रा लागेन आज. त्यही हाटखोलाको दिलदार डाइवर सम्झी उसले.'तेस मोराले भुसुनु पनि नबस्या शरीरमा जथाभाबीसँग कुइनाले पाखुराले पयट लाइलाई अचेट्यो....बाटो पनि कस्तो हाम्रो भने डाइवरलाई मात्रै दोस दिएर पनि नहुने.... हा हा.....टप लगाको  केटीको जस्तो, हातमा चुरा पनि....कति सानैमा तेत्रो गाडी कुदाउने भको होला....तेस्लाई तिर्खा लागेकै होला त ?... खै ? चुरोट खाने रछ, क्यान्सरले  मर्नलाई बेलैमा. खासमा मैले भन्दा बडी त तेल्ले नै हेरेको हो, उसैले जाँऊ भन्दै गाडी चडाको, पानी दिँदा पनि लाटाले केरा हेरे जत्तिकै हेरो..ही ही...म त ओर्लेर घरै आउला त ठानेकै थिइन आयो पो...त्यो सधैं यो बाटो गाडी कुदाउने  होला कि आज मात्रै हो कि........खै पैले त नदेख्या जस्तो लागो...फेरि कुन कुन डाइवर आउँछन् ख्याल पनि त गरिदैन थ्यो नि सधैं, आज पो....' यस्तै यस्तै रनाहाले आज मैंया जागै छे.
    पल्ला कोठामा पेर्मेका जोडी सुत्छन.'मैंयालाई अब पढाउन सकिँदैन. आइमाइको जात अर्काको घर नगई सुख छैन, पढेर जागिर खाने भा पो एउटा कुरा. अब त्यो बिस्ने दंगाल जेठी मरेपछि बे गर्ने भन्दै छ, यहि कतिकमा तेस्की जेठीको बर्खान्त फुक्छ अनि मंगसिरमा गर्ने रे बे बिस्नेले. तेत्रो खेतबारी छ के खाउँ के लाउँ को पीर छैन, तेही बिस्नेलाई दिनु पर्छ मैंया.' पेर्मेकी बाहुनी पेर्मेसँग फतफताई अँध्यारामा.
 मैंयाले रिठ्ठो नबिराई सुनी. मैंया छाँगाबाट खसी. भर्खरै आफ्नै वयको डाइवरसँग कल्पेको प्रणयमहलमा पुल्ठो झोसी भाउजुले. मान्छेले जति भने पनि दिलको आगलागीमा दमकल बोलाउन नमिल्ने भएर उसले आफ्नु मन जलेको टुलुटुलु हेरेर  आफ्नै  मुटु डढेर उडेको गन्ध सुँघेरै रात काटी. 
'के भन्छे यो ? तेती बुढोसँग, तेस्की स्वास्नी कति बर्षकी  थी बिचार गरेकी छेस ?' पेर्मेले भन्यो.
'म त ठिक्क देख्छु, तेतिको घर छ. तल हाटखोलामा घडेरी पनि जोडी रछ बिस्नेले, जेठीपट्टि सन्तान पनि छैनन् कुनै लन्ठो पनि भएन.
'मैंया सिरकले मुख छोपेर रोई, मुटु निचोरेर भित्रदेखि  आँसु निकाली र निक्कै बेर सुकसुकाउँदै लडिरही तर बाहिर आवाज दिइन. 'मर्न नसकेकी डंकिनी, तेस्की छोरी पनि भकी छे त पोइ खोज्ने बेला, दिनु नि त्यो बिस्नेलाई र  आफ्नै ज्वाइँ पार्नु. मन नै कहिले रमाउँदैन भने के गर्नु त्यो खेतबारी, घडेरी  घर ? तेस्का पोइको चित्रो'. मैंयाले रिसले केही नदेख्या बेला बिस्नेलाई भाउजुकै पोइ बनाइदिई मनमनै.

  बिस्ने उमेरको चालीस हो. तर उसकी जेठी रोगाएर  पोरका  साल बिते यता ऊ कसैले नसोधी 'जिन्दगीमा तेतीस हिउँद खाइसकियो यार' भन्न थालेको छ.दुब्लो कायाको  बिस्ने अलिक कुप्रीकुप्री परेको शरीर लेर चोक चौतारो लुखुरलुखुर हिडिरको देखिन्छ. घरैमुनि २ हलको मेलो  धान फल्ने खेत र कोदोमकै फल्ने बारी मनग्गे भाको बिस्ने खनिखोस्री खाने जाँगर चलाए हुनेखाने मै गनिने हो. तर चौध बर्षदेखि रोगि स्वास्नीको गनगन र सन्तान नहुनुको बिरक्त्याईले गर्दा बिस्नेले गति छोड्यो भन्छन सबै. अजिंगर जस्तो छ महिना काम गरेर छ महिना  सुतेर डुलेर बिताउछ बिस्ने. मौसम अनुसारका सागपात फलफुल छरछिमेकमा भरिभन्न हुँदा बिस्नेका करेसाबारीमा बुकी फुल हाँसिरको हुन्छ. ऊ  जसकामा पसे पनि कैले लौकाको काटेको टुक्रो त कहिले साग को मुठो छिनेरै हिंड्छ. जतिखेरै सुर्तिको लुँडो धुवाको ध्वाई गर्छ बिस्ने, तेही भएर बिस्ने हाँस्यो भने उसका सतरीबाक्सि पहेंला दाँतको हरकपुरे गन्ध छेउछाउका ले नसुँघी धरै छैन. तास खेल्न बसो भने पर्लय हुने भो भनेपनि उठेर हिड्नेवाला छैन ऊ. साँझपख कुनाकाप्चा पसेर नखाने कुरा पनि स्वाट्टै पार्छ रे भन्ने हल्ला चलाउँछन् सबै. एउटा बुडी बाख्री र तेस्का दुइटा पाठा र एउटा लैनु भैंसी बिस्नेका कुन जाँगरले हो देखिन्छन उसका घरमा. तेही भैंसीको दूध बेचेर चुरोट र तासलाई पुर्याउँछ बिस्ने. फुर्सदमा काठमान्डूतिर कुदिहाल्छ र एकदुई महिनै  आउदैन कहिले. घरमा रंग लाउने कामको सिपालु रे ऊ काठमान्डूमा. तेही भएर खेतबारीको आएस्ता के के जिलोजालो गरेर तल हाटखोलामा एउटा जंगल बस्न पुग्नेजति घडेरी पनि किनिरछ बिस्नेले.  कालो अक्षर बिस्नेका लागि उसको लैनु भुइँसी बराबर नै हो. तर उसले लाउने ज्वारी कोटका बाहिरी खल्तीमा एउटा रातो  र अर्को कालो कलम ऊ कहिले नछुटाउने भएर साक्षर नै देखिन्छ देख्नलाई. तीन नकसो  पढ्दापढ्दै तेर बर्षको उमेरमा नजिकैको तीन सहर नेपाल छिरेको  बिस्ने बीस नपुगुन्जेल घर फिरेन. काठमान्डू मै छ भन्थे देख्ने सुन्ने. उसले इँटाभट्टी, ट्याम्पुको खलासी, ज्यामी, साइकलको पन्चेट टाल्ने सबै भ्यायो रे. कहिलेकाहिँ कैरन ल्याउछ उसको भोगाइका.
    कहाँबाट के सुइँको पाको छ बिस्नेले, आफ्ना मनले खाकासँग तेइ लुचिबोटे ढुंगानाकी छोरी ल्याउँछु भन्दै हिद्छ रे. सके पेर्मेकी जहानले भनी पनि पो सकी कि ! उनका लुचीबोटकै छेउमा बिस्नेको बारी छ. मेला जाँदावर्दा खैनीसुर्ती किन्न पस्दावर्दा बा चैं ज्वाइँ भनिसकेकी पो छे कि तेस सैंतलले ? दैब जानून. गौराँती  मेला भर्न जाँदा बिस्ने नबोलिकन मैंयाका पछिपछि हिँडो रे. भरे मेलामा पनि 'चटपटे खाने कान्छी ?' भनी सोध्यो रे.मैंया ले तेरा बाउलाई देन चटपटे भनी रे, बिस्ने खिस्रिक्क परो रे . यस्ता कुरा मेलापछि पो सुनिए गाउँमा.
 आखिर हुनेहार दैब नटार मैंयालाई बिस्नेले मंगसिरमा अन्माई छाड्यो. क कसको के के सान्सिकान्ले काम गर्यो गर्यो निदानसेखमा एक आँखाले देख्न नसक्ने बिस्नेलाई नै मैंयाले पति मान्नै परो. उमेरले १६ की मैंयाले आफ्नै भाउजुका परमकृपाले आफू भन्दा दुई उमेर बढीको  बिस्नेसँग ओछ्यान तताउनु परो. डाको छोडेर रोई रे मैंया अन्माउदा. सँगै बसेकी भाउजुलाई होइन उसकी मिल्ने साथी दिलकुमारीका काँधमा छाँद हालेर निक्कै बेर सम्हालिन सकिँ रे मैंया.
  •                                                                                                                                                       
   अनेक घामछाँया बिते. बर्ष बिते. १६ की मैंयालाई २२ मै  चारचार जनाकी आमा बनाइदियो बिस्नेले. पहिला ३ छोरी र अन्तिमको छोरो.जन्मिन पो बेर हुर्किन के बेर. त्यो पनि छ बर्षको भइसको. धन्न चौथो छोरो भयो नत्र बिस्नेले नछोड्ने रछ. बाआमा अरु मान्यजनका अगाडि जुनसुकै बेला कण्डमसन्डमका लयदार राग हाल्ने रेडियो र टेलिभिजनका पर्चाको भर्सेलै पार्दियो बिस्नेले. जेठीलाई  सत्र सत्र बर्ष थारै  चाकर गर्नु परेको रिस मैंयामाथि  पोख्यो बिस्ने मोराले भने गाउँलेले उसका कण्डापछाडि. अन्तिमको जन्म पनि सात बर्षको भयो. एकमा पढ्न स्कुल जान्छ.

   बिस्नेले तीन बीस खायो अस्ति चैतबाट.मैंया अहिले उन्तीस की भई. भुक्तमानको शारीरिक परिश्रम, चारचार जनाकी आमा खानपानको असन्तुलनले मैंया चालीस नाघेकी पितृ देखिन थालिसकी अहिले. लगाको चोलो खुकुलो भएर आङ हर्लंगहर्लंग हलिन्छ हिड्दावर्दा. साच्चै भन्नुपर्दा छातिका करंग गन्न एक्सरे गर्नै  पर्दैन मैंयाको अहिले.
   मैंयालाई दुईटी हुर्किन थालेका छोरीले राम्रै भर दिन थालेका छन्. सनिबारबाहेक तिनको भर नै पो के भो र. सातमा देखि तल एकमा सम्म पढ्ने  भए  छोराछोरी. खेत दुई हलको, बारी पनि निक्कै छ. मैंया आएदेखि बिस्नेका खेतबारीमा बहार आएको छ. मौसम अनुसारको बाली सधैं पहेंलपुर देखिन्छ. बिस्नेका पालाको बुकी फूल लोपोन्मुख बनस्पतिको बर्गमा परिसकेको छ. तेस्को ठाउँ लिएका छन मुला, तोरी, रायो, प्याज, लसुन आलुले. मकै छर्न, मल बोक्न, डल्ला फोर्न, मकै गोड्न,मकै दोहोर्याउन, दोहोर्याई सक्दा चैते धान काट्न, थन्क्याउन, थन्क्याईसक्दा  मकै बारीभित्र कोदो रोप्न, कोदो रोपिसक्दा मंसिरे धानका गावाको हिलो खेलाउन, हिलो खेलाइसक्दा झारले खिरिप्प खाइसकेको कोदो गोड्न, कोदो गोडीसक्दा मकै भाँच्न,थन्क्याउँन अनि कोदो टिप्न, मकैका ढोड पन्साउँन,कोदो  चुट्न, नल थन्क्याउँन, अनि मंसिरे धान काट्न, धानपराल बोक्न,मकै छोडाएर बजार लान, तोरी छर्न , करेसाबारीमा सागपात लाउन, धाराको पानी बोक्न, छरछिमेकमा अर्मपर्म गर्न सँगसँगै दुहुने भुइँसी अघाउँन, जतिखेरै हाब्रो च्याती रहने बाख्रालाई सेउलापानी गर्न,छोराछोरीलाई स्कुलबाट आउँदा मकै भुटेर राखिदिन जतापनि भ्याकी  छे मैंयाले. यसरी लतारिनु परेरै हो उसलाई अस्ति रगतजाने बेथाले झन्डै नलगेको. के नबुढ्योस् त मैंया अनि.गिरिजा प्रसाद कोइरालाकी छोरी सुजाता २०११ सालकी अहिले पचपन्न बर्षकी भई भन्दा मैंयाले मरेकाटे पत्याइन रे उच्च माविका हेडसरको कुरा. पचपन्नका आइमाई तेती भर्खरका देखिन्छन हेडसर भएर पनि झुटो बोल्ने भनेर हेडसर कै  अबगाल पारी रे मैयाँ ले च्या दोकानमा. त्यो पनि के तेती सारो जान्नु चिन्नु मैंयाले सुजातालाई. तै धन्न उच्च माबिको एउटा कार्यक्रममा भाषन ठोक्न आकी थी र सबैले फुलमाला देर निहुरमुन्टी गरेको हेर्न गाकी थी मैंया  र चिनेकी.
  •                                                                                                                                                 
     बिस्ने कामै नगर्ने त होइन तर मुख्यमुख्य कामको टुप्पोटुप्पो पड्काउन सघाउछ अरु बेला आफ्नै तालमा हिड्छ. बिहान दुधको ट्यामी बोकेर डेरी गको बिस्ने नौ बजेसम्म गफ जोत्दै चुरोट र च्या गनीगनी  खाएर बल्ल घर आउछ. यता मैंयाँलाई  चार गाँस टिपेर कुन बुहार्तन सम्हाल्न बिती सक्या हुन्छ.
'काँ मरेका थेउ? तिम्रा त पट्टक्क हुन पनि सक्दैनौ. कोदो गोड्ने खेताला बोलका छन् , दुई खुट्टा टेकेर हिड्न नदिने भयौ, काल पनि आउँदैन मेरो चैं. काँ कोशीपारि  पुग्यौ दूध पुर्याउन ?' सहनु को सिमा सिद्धिएपछि रसका आँखा र नाक लाई हातले सम्हाल्दै भन्छे मैंया.
 'के  बकबक गर्छे यो आइमाई ? भात पस्की मलाई पनि थाहा छ खेताला छन् भन्ने, तैंले सिकाइरनु पर्छ ? बिस्ने आफ्नै डाका ठुला पार्दै हाने गोरुले झैं हेर्छ मैंया लाई र गाग्राको पानी लोटामा सारेर रछ्यानका डिलमा गएर हातखुट्टा धुन थाल्छ.
  •                                                                                                                                                      
   हिउँदको बेला. बारीमा रोपेको सागमा कसका चराउन छोडेका बाख्रा पसेकाले घरबाट डल्ला हान्दै छ्या  छ्या भन्दै बाख्रा धपाउन कुद्छ बिस्ने र तेतिकै टहल्दै वरपर रुखबुट्टा नियाल्दै उभिदै छीमेकी कार्की माँल्दाइकातिर  पस्छ. कार्की माँल्दाइ नेपाली सेनाका निवृत फौजी हुन.अहिलेको धरमभाटी फुकिढल ज्यान हेर्दा यिनले के सेनामा जागिर खाए होला र भन्नु जस्ता छन्. तर लेबनान र इजरायलदेखिका कुरा ल्याएर अलिअलि अंग्रेजी पनि मिसाइदिएपछि माँल्दाइका अगाडि कसैको जोरले गरिखाँदैन. उमेरले दुवै दौंतरी. घरधन्दा खेतीपातीको काममा राम्ररी लागेका छन कार्की दाइ. तर बैगुन तास खेल्न पाए भने र पार्बती भाउजुले काम बितेको गनगन मात्रै एक बचन निकालिन भने अघि फौजीमा हुदा उनका जमदारसम्दारले गरेका सबै गालीले छोप्छन पार्बती भाउजुलाई. राँडीफुँडी रन्डी चण्डी केही बाँकी नराख्न उनलाई आफ्ना हुर्केका छोरीका सामुन्ने होस कि जोसुकैका अघि होस केहिले रोक्दैन. कार्की र बिस्ने गाराका खोपामा सदाबर्ती हुने पुराना तास निकालेर बस्छन. धुम्मल खेल्ने रे धुम्मल.
  •                                                                                                                                                                     
     मैंयालाई आज मल बोकिसक्नु छ तोरी छर्ने बारीमा. उसले ब्यानभरि  पनि मल बोकी. भात खाएर पनि ऊ टुसुक्क नबसी बोक्न थालेकी हो. घुँडासम्म सारी सुर्केर कम्मरको पटुकाले घुँडा मै अड्याउनेगरि कसेर सुकिसकेका सिन्के पिंडूला देखाउदै दिनभरि मल बोकिरहन्छे ऊ. मलको भारी बारीमा पुर्याउदा कार्कीकै आँगन भएर ऊ अनेकौं पटक ओहोरदोहोर गरिरहन्छे. खेपी पाँचेक भारि ओसारुन्जेल ऊ लोग्नेलाई केही भन्दिन.बिस्ने स्वास्नी आँखै अघि ठसठस कन्दै चुँइकेतांत लाएर मल बोकेको देखिरहन्छ तर तास बाट उठ्दै उठ्दैन. अत्ति भएपछि, घाम ओर्लिन लाग्दा पनि बिस्नेले उठ्ने छाँट नदेखाएपछि मैंयाले मुख फोरी.'कतिबेर खेल्नु परेको तिनको छाला. कतिबेर खेल्ने हो ? रात परिसको त, केही बितेको छैन ? मस्त आराम गर्ने बेला छ ? बरु मेरा चोक्टा खाओ अनि ढुक्क हुन्छ.' यति भन्न आँगनमा रोकिएर जान्छे र ऊ लुरुलुरु आफ्नु काम गरिरहन्छे.
 'अब उठी हालें अब उठी हालें नकरा न' बिस्ने तासबाट आँखा नझिकी भन्छ तर उठ्दैन.
 अर्को भारी लेर आई मैंया. बिस्नेको उठ्ने चाला नदेखेपछि भारीसँगै उभिएर ऊ भक्कानिइ 'यो लोग्ने मान्छे जस्तो अपराधी पापी त कोइ पनि हुदैन. भात घिचेदेखि यहाँ आएर थुप्रेका, छोराछोरी आउने बेला भइसको यसो खाजा बनाएर राखिदिए पनि त अलि सादर हुने. भुँइसीलाई राँगामा मिसाउन लानु पर्ने छ कि छैन ? खोज्याबेला  नलगे कहिले लान्छौ ?' लगभग भक्कानो फुटेको लयमा मैंया बिलाप गर्छे. बिस्ने तासबाट आँखा झिक्दैन.
 'ल ल म हिने' बिस्ने आफ्नै सुरमा तेती भन्छ.
 'आइमाईले सारै गनगन गरे हाओ ल भो' कार्कीको पालो बोल्ने. 'पख न पख' बिस्ने. दुवै बिस्तारि आ-आफु ले मात्रै सुन्ने गरि बोल्छन.
 'यो भारि  घोप्ट्याएर आउँदा पनि नउठ्या होस मात्रै न ताससास काँ पुर्याइदिन्छु म'  मैंया सुकसुकाउँदै रुन्चे स्वरले बोल्दै मल घोप्ट्याउन हिंडी. 'बरु बान लागेर पर्लक्कै भए नदेख्दा छैनन् भनेर चित बुजाइन्थ्यो , कुन जन्मको चैं ऋण खाकी रछु मैले यस पापीको' ऊ रोएको हुँ हुँ आवाजसँगै भुत्भुताउदै जान्छे.
  •                                                                                                                                                             
  बिस्नेले  दुध डेरीका छेउको दोकानमा तामांगहरुसँग बसेर गफ चुट्दै कसैले देख्ला कि भन्ने झिनो पिरले अलिक कुनातिर अँध्यारापट्टि बसेर खोयाबिर्के लडायो. तामांगहरु सित टुटफुट तामांग भाषामा दिल्लगी गर्दै बेलाबेला घोक्रो चिरिनेगरि हाँस्दै माघका रातमा आठ बज्दा समेत घर गको छैन ऊ. सबैका माझमा भुराले दालमोठ साट्न ल्याको कागजमा अलिकति सस्तो खालको दालमोठ छ. छेवैमा स्टिलका पिलेटमा काँचा लसुनका पोटी र नुन छ. बिस्ने गिलास टांगमुनितिर लुकाएर राख्छ ता कि कोइ झट्टै आइहाले ठानून उसले केही खाको छैन फगत गफ मात्रै गरेर बसेको छ. बिस्नेले गिलासको माल स्वाट्ट पार्यो र तितेपाती कुटेर बनाको झोल कसैले करबलले खाइनस कि गइस भनेर खान लाए जसरी मुख नमिठो पार्दै एकपल्ट आङ् जिरिंगजिरिंग पारो, एक पोटी काँचो लसुन नुनमा ठोसेर गर्यामगर्याम चबायो र 'ल आस्यांग हिने है' भनेर घरतिर ओर्लियो. 

  घरमा मैंया भात पकाई खाई खुवाई गरेर चुलामा बिस्नेको भाग छोपिदिएर पल्लाघरमा  टिभिमा आउने लोकदोहोरी हेर्न गई. जेठी र माइली चोटामा कम भोल्टेजले केही देखिएन भन्दै बिजुलीमाथि टुकी थपेर पढ्दै छन्. ती पनि बिचबिचमा राजेश  हमालको कुन सिनेमा हेरेको कहानी गर्दै खितितिखितिति गर्छन बेलाबेला. अरु दुईटा भुरा आमासँगै गए टिभि  हेर्न.
'आमा खोइ सिर्जे ?' बिस्नेले सोध्यो.
'खोइ टिभि हेर्न जानु भो होला पल्ला घर' माथिबाटै उतर आउँछ.
'बुबा भात छोपेर राख्या  छ खानु हये' माइलीचैंले माथिबाट भनी.
बिस्नेले  भात पस्केर के के भुत्भुताउदै खायो. पछि रातिराति घर छोडेर काँ मरेकी थिस भन्दै 'कुकुरको लिंड हेर्नु' केको टिभि हेर्नु पर्या छ भनेर झन्डै कुट्न मात्रै बाँकी राखेर दपेटो मैंयालाई.
'आफू चैं रातभरि जाँड खाएर बस्न हुने आमाले चैं बेलुका एकछिन टिभि हेर्न जान पनि नहुने ? अब त गनतन्त्र आको छ सधैं हेप्ने आमालाई ?' कक्षा सातमा पढ्ने जेठी छोरीले शसक्त हस्तक्षेप गरेपछि बिस्ने लुत्रुक्क परो र ओछ्यानतिर लागो. 
मैंयाले  सिर्जनाको शसक्त प्रतिकारले बिस्नेको मुखबुजो लाको देखेर मनमनै गर्ब गरी र मनमनै भनी पनि ' कम्ति बाठी छे यो सिर्जने, पढाका छोरी भनेको पढाकै हो..के जाति पो आको छ भनी तेल्ले ?' सिर्जनाले भनेको गणतन्त्र उसले  टिप्नै सकिन.
कुकुरको मुत धोकेर आका दिन मैंयालाई बिस्नेको मुख गनाएर जाग्रामै हुन्छ. जसोतसो मजेत्रोले मुख ढाकेर भालेको बास पारी र दैनिक भुँमरी चक्रमा फर्किई मैंया.

No comments:

Post a Comment