about

Sunday, 1 January 2012

आजका बाउको बिलाप

बढ, पढ र जागिर खाऊ
बाउकै छोरो भए पासपोर्ट बनाऊ
देशैमा बसेर केही पनि हुन्न
विदेश नगए इज्जतै रहन्न

फलानाका छोराको देखिस के चाला
घर मोटर के के हो सुनका बाला
एउटा छ अम्रिका अर्को छ युके
जोरीपारी सबैले मलाई चैं थुके
तँईं मोरोचैं के दिनमा जन्मेर आइस
देशैमा कुहेर  इज्जतै  डुबाइस
बढाएँ पढाएँ पुर्याएँ डिग्री
हेर छोरा सधैं यसरी  नबिग्रि

बना न छोरा ए पासपोर्ट बना
कुदिहाल जिल्ला सुब्बालाई समा

काजीका छोरा हेर दशैंमा आए
पैसाका बिटा र सुन कति ल्याए
सहरमा  अर्को घर काँ हान्ने परो
जे गर्नू यहाँ सब काजीले गरो
नाम मात्रै काजि थ्यो मान्छे थ्यो पाजी
ऐले ऊ थाप्दिन्छ  हजारकै बाजी
दशैं हेर तीनकामा के बिधि आको
दुदुईटा खसीको सबै पक्कु लाको
के मनले बुझाउनु मैंले हरे चित
पाकेर आउने भो भित्रभित्रै पित्त
खिच्न जा फोटो भरिहाल फाराम
कतिन्जेल गर्छस ए  बोडिंगमा आराम

बना न छोरा ए पासपोर्ट बना
कुदिहाल जिल्ला सुब्बालाई समा


भाबी नै जन्माएछ काजीले छोरा
रुप पनि उस्तै गोरा न गोरा
मेरो चैं  महिनाको खै कति पाउँछ
जहिले नि फुलबुट्टे तेही सुइटर लाउँछ
चाउरीसको छाला किलकिले छ बाहिर
न खोज्छ वधू न हुन्छ वर
जैले नि काठमान्डू काठमान्डू भन्छ
बोडिंगको मास्टर छु आराम र सन्च
म चामल गुन्द्रुक खेपेको खेपेई
काजीले छिमेकमा हेपेको हेपेई
ए छोरा गइहाल न कुदिहाल ऐले
पासपोर्ट बनाएर झट्टै आ पैले
पेसीहाल ठाउँ ठाउँमा अलि चंख बन्नू
सबथोक जान्दछु एस एस भन्नू
गइहाल पठाइहाल आइएमईको पोको
म यता छोड्दिन्छु नाम्लो  र डोको
बुझिदे बेलैमा बाउको धोको

बना न छोरा ए पासपोर्ट बना
कुदिहाल जिल्ला सुब्बालाई समा


बढ, पढ र जागिर खाऊ
बाउकै छोरो भए पासपोर्ट बनाऊ
देशैमा बसेर केही पनि हुन्न
विदेश नगए इज्जतै रहन्न.









No comments:

Post a Comment