चोरी चकारी नगरे चतुर्याइँ हुन्न
दङ्गाफसाद नगरे इज्जतै रहन्न
कबि लेखनाथ पौडेलका सिल्पी कलमले भनेका यी हरफलाई अलिकति आफ्नै पाराले यसरी घुमाउने हो भने हाम्रो सामाजिक मुल्यले स्थापित गरेको बिदेशिनुको एउटा मनोविज्ञानलाई प्रस्ट्याउन अलिक तौजी पर्ला.
बढ, पढ र जागिर खाऊ
साच्ची कै बाठो भए पासपोर्ट बनाऊ
देशैमा बसेर केही पनि हुन्न
विदेश नगए इज्जतै रहन्न
यी हरफहरु लेख्दैगर्दा म स्वदेशमा छैन. त्रिभुवन विश्वविद्यालयबाट सन् २००४ मा अंग्रेजीमा स्ताकोतर गरेपछिको कागजी योग्यता र आफ्नो ब्यवहारिक योग्यताको फ्युजनले मलाई पढाइअनुसारको काम दिएकै थियो. स्नातकोतर सकुन्जेलसम्म हल्लुंड छिन्नेगरि बिद्यार्थी जीवन भोग्नुको पीडाले म जे जागिर भेटेपनि जहाँ भेटेपनि चुँ नबोली खाने मनस्थितिमा पुगेको थिएँ त्यो बेलासम्म. भनेजस्तै गरी क्याम्पसमा पढाउन जाने एउटा प्रस्ताब आयो २०६१ पुसको सुरुमै. सिन्धुपाल्चोकको पश्चिमी भेगमा चर्चित मेलम्ची खोलाको किनारमा हेलम्बुको काखमा एउटा ग्याल्थुम भन्ने गाउँ छ. त्यहाँ केही बर्षदेखि त्रि.वि.को सम्बन्धनप्राप्त मेलम्ची भ्याली क्याम्पस चल्दै रहेछ र त्यहाँ बि.एड.का बिद्यार्थीलाई मूल बिषय अंग्रेजी पढाउने मान्छे चाहिएको मा कुन कुन ऐनमौकाले म त्यहाँ पुगें. विश्वविध्यालयका उपप्राध्यापकले भेट्ने सुरुको तलबमा केही थपथाप गरेरै खानलाउन दिएका थिए क्याम्पस चलाउनेहरुले मलाई सुरुदेखि नै. मैले त्यहाँ २६ महिना काम गरें. तर मनमा बिचलन र अस्थिरताले कहिले छोडेन मलाई त्यहाँ बसुन्जेल. भनेको अर्थ मेरो भित्रि मनले अर्थोकै खोजेको छ, म जे गर्दै छु त्यो मेरो चाह नै होइन, म जीवनको अविरल राप भोग्ने क्रममा एकछिन यहाँ सुस्ताएको मात्रै हुँ भन्ने साँझबिहानै लागिरहन्थ्यो. यहि बिचमा मैले २०६३ जेठ १५ मा त्यहाँबाट कुलेलम ठोकिछोडें. काठमाडौंमै जसोतसो चल्दैथ्यो फेरि एउटा अर्को सिन्धुपाल्चोके उच्च मा. वि. ले सरकारी दरबन्दीको माध्यमिक शिक्षक त्यसमाथि उच्च मा. वि. को प्रमुख भनेर लोभ देखाएपछि म हिडें फेरि २०६४ साउन १५ मा उतै सिधुपल्चोकतिर भर्खरै जन्मेकी छोरी र आमालाई काठमाडौँमै छोडेर . त्यहाँ साच्ची नै ठुलै भएर बसियो २ बर्ष. तर सरकारी जागिर नै खाए पनि मलाई भित्रि देहले फेरि पिरोल्न थालिहाल्यो. तेरो यहाँ लामो बसाइ हुदैहुदैन भन्छ मनले. मनलागि बस्या भए कमाइ राम्रै थियो. एकचितले काम गरिबस्या भए औषत नेपाली परिवारको लवाइखवाइ धान्ने हो त्यो जागिरले. तर खोइ केले भित्रैदेखि हुटहुटि पार्छपार्छ त्यो पनि भएन भन्ने लाग्न छ महिना पनि लागेन. अनि फेरि हिडें म त्यो जागिर पनि छोडेर २०६६ असार १५ मा.सहकर्मीले दुईपल्ट सोच भने राजिनामा बुझाउदा. मैले सोचें भनेर जवाफ दिएँ र कुम्लोकुटुरो कसेर फेरि काठमाडौं छिरें. २०६६ असारदेखि २०६८ असारसम्म पुनः काठमाडौँमै बित्यो जीवन. यस बीचमा काठमाडौंका केही थान बोर्डिंग उच्च मा. वि. मा 'हेल्मेट टिचर' भनेर जिस्याइएको मास्टरी गरियो बिहानको समय र दिउँसो केही अन्य काम गरियो. चिसोमा आफू सस्तो दाममा खट्नु पर्ने साहुजीहरु बर्स्यानी गाडी फेर्छन बोर्डिंग स्कुलतिर. अब यो पनि होइन खोजेको भन्ने लाग्न थालेपछि विदेश हान्ने भूतले पक्डीयो. अनि क्यानाडाको बसाइसराइ भिजाको आवेदन दिएर कहिले मरी पनि नजाने गरि पनि नखाने मधौरो रुँगे जस्तो त्यसलाई रुँग्न थालियो. दस महिना कुराएपछि अनि आयो त्यो.
काठमाडौं - दिल्ली
ठट्टैठट्टामा एक्लै आबेदन गरियो परिवारलाई नहालिकन सुरुमा. पछि सबैको पासपोर्ट पठा भिजा लगाइदिन्छौं भनेर दिल्लीले भनो त्यो बेला नेपालमा एम. आर. पी. काण्डले पासपोर्ट नै रोकेको बेला परो र पठाउन नसकेपछि ४ बर्षे छोरी र आमालाई काठमाडौँ मै बस्दै गर्नु भनेर म २०६८ असार २ तदनुसार जुन , २०११ मा देश छोडेर हिड्ने भएँ.
छोरी आमा धनु र गोपाल सरले त्रिभुवन विमानस्थलको प्रस्थान बाहिर बिदाइको हात हल्लाएपछि म साच्चिकै एक्लै भएँ अब. अब कोहिसँग बोल्न मन लागे मैले चिनजानबाट सुरु गरेर साथी बनाउनु परो पहिले अनि मात्रै कुरा गर्न सकिने भो. फगत एक्लो.छोरी र उसकी आमाले रोक्दारोक्दै पनि गालाबाट उँधो गुल्टिएका आशु र छोरीको भक्कानु छुटाउने रुन्चे मुख हेरिसक्नै भएन. त्यहीबेला आँखाका छेउछाउमा भुसुनाले सु गरेर उडेछ कि क्या हो चिसोचिसो महसुस गरेपछि रुमालले चिसोपन हटाउदै भित्र छिर्ने ताँतीमा मिसिएँ. विमानस्थल सुरक्षाका अनेक विधि र सनातन पछ्याउदै म जसोजसो भन्छन तेसैतेसै गर्दै अन्तिमको रुँग्ने ठाउ सम्म पुगें. अनि रुँग्न थालियो चिलगाडि चढ्ने पालो. मेरो चिलगाडी जेट एयरको थियो, दिल्लीबाट लन्डन अनि क्यानाडाको पियर्सन अन्तरास्ट्रिय विमानस्थल. समयमै उड्ने जनाउ आयो. मेरा दुई ठुलाठुला झोले पोका अघिनै एउटाले अब एक्कै चोटी क्यानाडामै पाउनु हुन्छ भनेर के के टाँसीदिएर कता गाएप पारो पारो. पाइयो भने त भैगो पाइएन भने चैं यहाँ छोडेको माल उता खोइ भन्दा कसले सुन्ला भन्ने मनमा लागो, बाहिर भन्नु भा छैन. ओके ओके भनियो. एउटा एमानको चिल अघि ठिक्क परेर बसेको रछ हामीलाई उसका पेटभित्र हुल्न. सबै जना भित्र पसे र त्यसका मुटु कलेजो फोक्सो पित्त सबैतिर मान्छे नै मान्छे भए पछि त्यो चटपटाउन थालो. पुच्छर कुइंक्क घुमाएर थुतुनो तेर्स्यायो तेसले. दुबइ कतार जाने साथीहरु भन्थे 'एक पल्ट त आशु आउछ नि काठमाडौँबाट उड्दा'. मन एकतमासको भएको छ. कहिले बिदेशको यात्रा गरेको होस न जहाज नै उस्तरी चढेको होस. एक दुईपल्ट काठमाडौँ झापा गरेको हो चिलगाडिका नाममा यसअघि. साच्ची भन्नु पर्दा न सिटको पेटी फटाफट बाँध्न जान्या छ न खानेकुराको छनोट गरिगरि माग्न खान जान्या छ. जानलाई लन्डन भएर क्यानाडा जाने भन्नु पर्या छ. उडियो. चिलगाडीले नेपाली भुइँ छोड्यो. मिलिक्कै काठमाडौंका घर सडक बजार लाई तल छोडदै उचालियो त्यो उडन्ते. मैले झ्यालबाट तल हेरें. शरीरका भित्रि नशा छुँदै एक किसिमको कहालीको तरंग टाउकाबाट गोडातिर दौडियो. एकैछिनमा थानकोट काटेर माथि उडे जस्तो लागो मलाई. तल नेपाली रातामाटाका पहाड, जंगल, नागबेली, खोलानाला, पक्कि सडक, ठुला बजार के के देखिए र बिस्तारै छोडिए. झ्यालबाट हेर्छु दक्षिणतिर तुवाँलोले धमिल्याएको बिशाल समथर मैदान देखिन्छ. ठानें यति ठुलो मैदान नेपाली त किन हुन्थ्यो. कतिखेर महाकाली तरियो पत्तो हुने कुरै भएन. काठमाडौँबाट दिल्ली उड्दा लखनउमाथि तिरबाट उड्छ रे जहाज भन्थे. के जान्नु कहाँ उड्दै छ कहाँ. तेत्रो दुई अढाई सय मान्छेको जिन्दगी, तिनका भरका, प्रेमका, स्नेह र ममताका अरु अनेक जिन्दगीका हाँसो र आँशुका सम्बन्धहरुलाई पेटभित्र सुलुत्तई निलेर त्यो चिलगाडी टेक्ने न समाउने हावा पन्साउँदै खोइ कता हो कता हुइँकिरहेको छ सुन्यमा. आफ्नाहरुबाट छुटेको साथ आफ्नो टेक्ने धर्तीबाट छुट्टिएको साथ माथि हावामा छ एकबारको जिन्दगी. उडेको चंगा पनि धागोको भरले धर्तीसँगै हुन्छ, सुन्यमा झुन्डिएको गुडियालाई पनि झिनै सहि धागोको भर छ टुपीबाट तर हामीलाई गर्भमा हुलेर उडेको त्यो चिलगाडीको न उँधोतिर टेको छ न उँभोबाट केहिले थेगेको छ. सम्झिदा राम राम नै छ. 'चतुर्मुखी ब्रह्माको सृष्टि मान्छेले बनाएकै हो यन्त्र चैं' मैले मनमनै कुरा खेलाएँ.
मेरो छेउमा दुईजना भारतीय बाबुसाहेबहरु छन्. म झ्यालपट्टि छु. म आँखा नझिम्क्याई बाहिरको बाहिरै नजर लाइराछु. लाटाले केरा हेरे जतिकै हेरेको हुँ मैले बाहिर. भरे दिल्ली पुग्दा मुन्टो नै कानाहा भएछ एकापट्टी दुख्न पो थालो. एकछिनमा खानेकुरा बाड्दै आए राम्रा न राम्रा केटीहरु, केटीहरुका माझमा दुमु जस्तो एउटा केटो पनि थियो. ऊ पनि उस्तै राम्रो. गोरो न गोरो, आँखीभौँ मैंयाहरुकै तालमा भसक्कै थ्रेडिंग गरेको, त्यो मृदुभाषी बोल्दा हाँस्दा लोभै लाग्नेगरिको बान्की खुल्थ्यो उसमा. मान्छे केटीको मात्रै सौंन्दर्यले तान्छ लान्छ अनेक भन्छन तर म त्यो केटाको रुप, बान्की र सेवाको ब्यवशायिकीपनले मोहित भएँ.
'तपाई मांसभक्षी पर्नु भो कि भएन होला ?' एउटी रुपसीले मलाई लयालो भाकामा अंग्रेजीमा सोधी. मैले म जे थिएँ तेही भने. उसले मलाई एउटा पोको दिएर गई. छेउका बाबुसाहेबरुले हामी सात्विक भोजन गर्छौ भने. तिनलाई उसले अरु दुई पोका थमाई. मैले खोलेर पोको हेरें. त्यहाँ एउटा कुखुराको तिघ्रो, गांडको ओखती जति फुको भात, झुसिलेको आची जस्तो हरियो अलिकति लेदो र केही टुक्राटाक्री गाँजर र मूला थिए. एउटा सानो सिलबन्दी बतलमा घांटी भिजाउन पनि राम्ररी नपुग्ने पानी छ. खोलेर उदरस्थ गर्ने सुर गर्नै लाग्दा अर्की पातली आई र 'केही पेय लिनुहुन्छ कि' भनेर सोधी. मैले तेस्का ठेलुवा गाडामा के के छ त भनेर बक्रदृष्टि लगाएँ. त्यहाँ पिउन भनी बनाएका सबैथोक छन्. छेउकाले जुस भने र हात पारेर पहिले त्यही सुइंक्याउन थाले. यत्रो पखेटा लाएर उडीदैछ जाबो जुस त के खानु भन्ने भो मलाई र एउटा बियर भनें. एउटा टिनका बट्टाले बेरेको बियर दिई तेसले मलाई र आफ्नु बाटो लागी. छिमेकी भारतीयले कसोकसो घडयापघुडुप पारे कहाँ नेर दबाएदबाए अगाडिको सिटका ढाडबाट एएउटा टेबल निकाले र आफ्नु खान्की राखेर कुपुकुपु खान थाले. म पनि कुरो गम्दै थिएँ 'पहली बार आए हो दिल्ली ?' मुखले निकाल्दै हात संगसगै पुर्यायो मेरो टेबल निस्किने बटम थिच्न मेरो छेउकाले. मेरो चालामाला बिचारेर हो कि नेपालीलाई हेप्ने उनको सनातनी धर्म निर्बाहले हो उसले मलाई आदरार्थी भाषामा सोधिराख्नु पर्ने ठानेन. मैले 'हो, मेरो पहिलो अन्तरास्ट्रिय उडान पनि हो' भने भन्नलाई तर मलाई भित्रभित्रै कालापानीदेखि नालापानी सबै दुख्यो त्यसको हेपाइजतले.
मेरो पनि टेबल फुत्त निस्कियो. मैले पनि कुखुराको तिघ्रो र ओप्सानी हाल्ने जति भातको पन्चम गाँस गरें. मलाई त तिनको खान्कीले पेटमा लेउ पनि लागेन. बिहान ६ बजी कोठाबाट भोकै हिडेको ठुला दारको मान्छे तेस्तो चरी आहारले कहाँ हुनु. मैले बियर टोड्क्याउदा ती छिमेकी मित्रहरु गोजीबाट ल्वांग मरिच झिकेर कुटुकुटु पार्दै बसे. ती मुलांगखरेहरु कहिँ नभका शाकाहारी निस्किनाले ममाथि निकै कडा शाकाहारी दबाब पनि नजानिँदो पारामा परिरहेको थियो. कानाका देशमा पुगे आँखा चिम्लिनु भन्थे मैले नचिम्लिन खोज्या निक्कै सकस चैं भएको हो. बियर खाको पो के भन्नु उही मुख बिटुलो पार्नु मात्रै रछ. ठुलै बतलको एक डेढ बतलले त नछुने पारिसकेको शरीरलाई त्यो नाथे टिनका पाप्राको कति हुनु र. पंचगब्य जस्तो मात्रै भयो. तै पनि सधै जिमिनमा बसेर मात्रै ठाडो घाँटी लाएको आकाशमा उडेर खाएको पहिलो बियर भएकोले त्यो ऐतिहासिक भने पक्कै हो. जहाज गकोगइ छ. निक्कै माथिबाट उडेकाले तल पृथ्बीतलका कुरालाई तलै कता निलो दहमा छोडेर हामी हुँहुँको एकोहोरो आवाज निकाल्दै हावाहावै उडिरह्यौ. बिस्तारै बिस्तारै हामी दिल्ली नजिक नजिक पुग्न थालेको भान दिनेगरी फेरि चिलगाडीले भूतलसंगको दुरी घटाउदै ल्यायो. फेरि जंगल, सेता बगरका आँखाले देख्ने भन्दा उतैका फैलावट, गुजुमुज्ज बजार र सहर, कतै सिंचाईका नहर र मिलाएर चक्लाबन्दी गरेका खेतका अनन्त फैलिएका फाँट देखिन थाले. 'अब हामी पुग्न आँट्यौ आ-आफ्ना जुइनादाम्ला राम्ररी कसेर बस, यो यन्त्र पुरै नरोकिईकन कोइ पनि उठेर नहिडनू' भन्ने फरमान अंग्रेजी र हिन्दी मे आयो. भने मुताबिक नै गरियो. हाम्रो चिलले पाँग्रा घोट्यो इन्दिरा गान्धी अ. विमानस्थलमा. तेती बिधि उडेर आको, पाँग्रामा पनि लंकै पूगुलाझैं गरी निक्कैबेर गुड्यो. घुमाउदै घुमाउदै ल्याएर आफ्नो ढोका एउटा सुरुङजस्तो ओडारमा लगेर ठोसेपछि बल्ल मान्छे उठेर आङ् तान्न परकपरक बटारिन थाले. म पनि उठेर ढोका तिर लाम्किएँ. एकपल्ट फेरि काठमाण्डौंमा कुन चिन्नु न जान्नुकाले बुझेका पोकापन्त्यौराको सम्झना आयो.
दिल्ली विमानस्थलको भव्यता देखेर म छक्कै परें. हुन त अब मैले अगाडि देख्नेजति सबै थोकमा नै म छक्क पर्नेवाला थिएँ नै जानीजानी किनभने भने मैले के नै पो देखेको थिएँ र त्यस्तो बिधि. बँधुवा भुँइसी जस्तै त हो नि हामी औषत नेपाली मोराको जीवन. न हनिमुनको जात्रा छ न होलिडेको फन्को छ. त्यही धरहरा, हनुमानढोका, पशुपति, काठमाडौं विमानस्थल, टुडिखेल तेस्तै त हो नि मैले देखेको. अनि अब म छक्क नपरेर ती छेउमै कता बस्ने मोनमोहन सिंह छक्क पर्ने कुरा आओस कसरी. हाम्रो देशमा मानवनिर्मित आधुनिक सम्पदाको नाममा खासै केही छैन हेर्न लायकको ठाउँ. मानवनिर्मित आधुनिकता सभ्यताशैली र बिकासका नाममा भर्खरभर्खर खुलेको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टर छ अलिक अथवा. तेती देखेका भरमा भर्खरभर्खर पुनर्निर्मित र संचालित अत्याधुनिक दिल्ली विमानस्थल देखेर म छक्क नपरी सक्दै सकिन, मैले के गर्नु.
सिसैसिसा र चिल्ला चम्किला सिल्भर रंगका धातुका डाँडाभाटाले बनेका हिड्दाहिड्दै थाकिनेगरिका लामा न लामा जिमिनबाट एकतलामाथिको बाटामा हिड्न थालियो ओर्लेर. तेत्रोविधि अनन्त फैलावटमा भुइँमा भुवादार मखमली कार्पेट छापेको, तेसमाथि माथि नै मखमली कार्पेटमा हिड्दा बिझाउनेलाई भनी कुदिरहेका मान्छे र तिनका पोका बोक्ने सानासाना एक भाँतिका सवारी,सबैथोकको सम्पूर्ण सजावट, आ-आफ्ना झिटीगुन्टा तान्ने, घिस्याउने, काँधमा भिर्ने र कुनै छिटोछिटो हिड्ने प्रतियोगितामा भाग लिइरहेको जस्तोगरि केही कसैको बाल नदिई अघि लम्किरहेका मान्छेको चार गियरको गति देखेर मैले आफुलाई केही कुरामा पनि फुर्तिफार्ती नभएको गतिहीन गोर्खाली चिप्लेकिरो महसुस गरें. तर म पनि त्यहाँ ढिलो हिनिरहेको भने थिइन. जहाजबाट ओर्लेपछि कता लाग्ने होला भन्ने त डर थियो नै तर खुब अभ्यस्थ भै सकेकोझैं भाँति झिकेर जता मान्छेको मुख्य भेल बग्छ तेतैतेतै मैले पनि छाला फड्कारे.जीवनमा म तेती छिटो हिडेको थिइन होला पहिले. कि कुदेकै थिएँ कि सामान्य गतिको हिडाइ गरेको थिएँ. हाम्रो जस्तो लोसे पाराले गरिनखाइने रछ बिदेशमा भन्ने लाग्यो मलाई दिल्लीमै.
पिंडुला फर्किनेगरि निक्कै बेर कुदाइको भाइ हिडाइको दाजुमा दम बढाएपछि एउटा छेक्ने ठाँउमा पुगियो. सबै हार लागेर उभिएकोमा म पनि मिसिएँ. एताबाट उता, उताबाट पर्तिर, पर्तिरबाट झन पर्तिर गर्दै चरणचरणमा महिला तथा सज्जनवृन्द र बिरप्पन जस्ता जुँगामुठे पुलिसहरुले हाम्रा जिउ शरीर, पोका पन्त्यौरा उधिनेपछि, हाम्रा कागजपत्र र बिदेशको यात्रामा चाहिने सबै दस्ताबेजहरु दुरुस्त देखेपछि, हामी आई एस आई र अलकाइदाका मान्छे हामी होइनौ भन्ने तिनका ब्रम्हले मानेपछि हामीलाई अघि जान छोडिदिए.
काठमाडौँमा केही साथीहरुले 'लौ दिल्लीबाट गयो भने त नेपालीलाई त सकेरै छोड्छ रे अध्यागमनमा' भन्दै भारतीयहरुले लाउने एक पहिरनको नामले तिनलाई पुकार्दै भनेका थिए र 'आफू त बरु कतारबाट गइन्छ' भन्दै भगौडे शैलीको आफ्नु बठ्याँई प्रस्तुत गरेका थिए. मलाई उनीहरुका कुरा सारै लुरे र पानिसुकेका मरिच जस्तै लागेको हो सुन्ने बित्तिकै. दैनिक हजारौं मान्छे दिल्लीबाट संसारभरिको यात्रामा जान्छ अनि नेपालीलाई चैं कतिखेर आउला र झ्याँकऔंला भनेर पनि कोहि बस्छ तेत्रो ख्यातिप्राप्त विमानस्थलमा. फेरि आफूसँग सबै बैधानिक कागजपत्र भएपछि हेरौ त कसरी के गर्दा रहेछन फगत नेपाली भएकै कारण भन्ने लाग्या हो मलाई त. गरौला नि हामी पनि दुईचार बात हिन्दी र बेलाइती भाषामा भनेर हिडेको हुँ म काठमाडौँबाट. नभन्दै आयुका छोरालाई कुनै वायुले भेटेन दिल्लीमा. बरु एउटा, क्यानाडा जान खोजेर पनि जान नपाएको हो या के हो, अध्यागमनको ठिटौले केटोले मेरा कागजपत्र नियाल्दै मलाई सोध्यो 'तपाई पइन्ट सिस्टमबाट जना लाग्नु भएको ?' मेरो उत्तर 'हो' गयो उसलाई. नेपालीलाई क्यानाडाले खुब भिजा दिइरहेकोछ, दिनमा एकदुई जना गइरहेका छन्, हामीलाई पो किन दिदैन, तपाइको कति समय लाग्यो, तपाइहरु खुब भाग्यमानी हो, नेपालमा के गर्नु हुन्थ्यो, किन एक्लै त बिहे भएको छैन आदि के के सोधेर मसँग उसको अलिकति समय नै पो छुट्टाएर गफ गरो. उसले घरि हिन्दि मे घरि अँग्रेजीमा भनो. उसका कुरा सुन्दा ऊ पनि जान पाए त अहिले नै मसँगै अध्यागमनको जागिरलाई भाँडमा हालेर कुदिहाल्ने थिएँ भने जस्तो गरो. आफ्नो देश छोडेर बाहिर जानुको गरिमा जो आर्जित छ संसारैभरि ऊ मात्रै किन अछुतो होस. म तदनुरुपका जवाफ दिएर ऊ बाट छुट्टिएर अघि बढें. 'उसले सकुशल जानु होला, यात्रा मंगलमय होस' भन्दै मुसुक्क हाँसेर मलाई जान दियो. कति जाति कटौले परेछ प्रसङ्गवस, साथीरुले अत्याएभन्दा ठीक उल्टो. मलाई त्यो सहृदयी मान्छेको खोजिनिती र ब्यबहारले सारै खुसी राख्यो भरेसम्म.
मैले अघि नै मेरो उडान नम्बर, विमान कम्पनिको नाम र मेरो अबको गन्तब्य दाँजेर हेरिभ्याएको थिएँ जताततै मिल्किरहेका टिभिजस्ता भाँडामा. तेसैले म सबै थोकको केरकारबाट उम्केपछि फेरि यसरी अघिकै तालमा टर्मिनल नम्बर ७ तिर हानिएँ कि मेरा हिडेको पनि भन्न नमिल्ने कुदेको भन्न पनि नमिल्ने खालका पाइलाको फड्काराइ र मेरो शारीरिक भाषा हेर्ने कसैले यो बहादुर पहिलोचोटी दिल्ली आको हो, पहिलो चोटी विदेश जाने जहाज चडेको हो र अब पहिलो चोटी लन्डन उड्दै छ भनेर कल्पनासम्म गर्नसक्नेवाला थिएन. देश खाई शेष भको भानमा म जादै थिएँ एउटा चोक जस्तो फराकिलो न फराकिलो ठाँउ आयो र बाटाहरु चारतिर छरिए. अलमल होला, ढङ्ग नपुग्ला र कन्तबिजोक होला मेरो भन्ने खैलाबैला मनबाहेक साथमा कोहि छैन आफ्नो. एक तलामाथिको यो मेरो जानेबुझेको यात्रुको जस्तो अभिनय यहि आएर टुंगियो. त्यहाँ अन्तरास्ट्रिय स्तरका बिशाल ड्युटी फ्री भब्य दोकानहरु छन्. किन्ने किनिरहेका, हेर्ने नियाल्ने उति, भिड छिचोलेर आफ्नु गोहो पक्डिनेको सिलिबिली छ. अब टर्मिनल ७ जाने बाटो नसोधे उपाय नास्ती ठानिसकेपछि मैले बोलीमा लुरे पारा नदेखियोस भन्ने इरादाले सोध्नेकुराको मनमनै एक दुईपल्ट रियाल्स्याल गरें र एउटी ग्राहक पर्खिरहेकी तरुनीका दोकानतिर हान्निएँ. मैले किन तेस्लाई रोजें भने यसो हेरिल्याउदा अलिक नरमकरम देखिने त्योसँग ग्रह मिल्लान भन्ने भो मलाई. हिन्दुस्तानमा जोसुकैलाई बाटो सोधेर एता एता भन्दै लगेर आफ्नु सर्दोपर्दो गरेर छोडिदिन्छन रे भनेर सुनेका किस्सा मनभरि छन कहाँ सोध्नु पनि भो र जसतसलाई. म हौसिएर उसकातिर आको देखेर एकथोक बेच्ने परें ठानी होला तेसले र सेकेन्ड उम्किन नदिइकन उसले अंग्रेजीमा सोधिहाली मैले बोल्नै नपाइ 'तपाईलाई म के सघाउँ ?' मैले उसको व्यापारिक मुस्कानमा खिस्स गर्दै प्रतिक्रिया दिदै टर्मिनल ७ को बाटो पो सोधिदिएँ उसको आशा बिपरित. मेरा कुरा सुनेर खिस्रिक्क परेकी तेसले मेरो उपस्थितिलाई कुनै अभिरुचिको छनक नदिईकन 'उता' भनेर दसतिर मुख फाटेको चोकमा सारै अमुर्त हिसाबले हात उठाई. त्यसको जाँगर मरिसकेको हातले उता भनेर कुन नैरिते कुन आग्नयतिर देखाईदेखाई मेरा लागि तेसलाई सोधेको र नसोधेकोमा एकै भयो. त्यसको शैली हेर्दै फेरि सोधिस कि अनि थाहा पाउलास दिल्ली भने जस्तो छ, सोध्ने कुरा पनि भएन. तेसै गम्दै थिएँ झल्याँस्स टर्मिनल ७ देखाउने साँवा अक्षर र एउटा तिर लिएर तुन्द्रुंग झुन्डिएको पाटि देखियो. त्यो पाटि मात्रै के पिलिक्क देखिएको थियो म मैदानमा हरि खड्काले भकुण्डो भेटेर पोस्टतिर कुदे जसरी अघिकै पारामा कुद्न थालिहालें.
आँखाले भ्याएसम्म पर फैलिएको मखमली कार्पेटको अर्को बाटो देखापर्यो म नाप्न थालिहालें. कति मात्रै ठुलो र गमी नसक्नु को रछरछ दिल्ली विमानस्थल. अघि तेती विधि हत्तु हुनेगरि हिडे आइयो फेरि उत्तिनै पर देखिन्छ जाने बाटो. भुक्तभोगीहरु समय कटाउन ड्युटी फ्रीमा छिरे होला, चियाचमेनातिर लागे होला, मलमुत्र सेचनमा पसे होला, नाकमुख धोएर चङ्गा भए होला नि आफुलाई भने लन्डन जाने बाटाका मुखैमा गएर बस्न पाए फेर पर्ने थिएन भन्ने मात्रै छ मनमा, एकोहोरो बाइफाल तोड्या छ तोड्या छ. बल्ल टर्मिनल ७ मा पुगियो. म तेतैहुँदो बस्ने मेचमा बसें. माइकले लन्डन जाने फलाना विमानको फलानो उडानका सबै जना टर्मिनल ७ मा बेलैमा भेला भइसक्नु हए भनेर उर्दी गरेको कानले सुन्यो अवाज त कहाँबाट आयो आयो त्यो भवसागरमा. अब मलाई पर्खिनुबाहेको कुनै लन्ठा थिएन. म टर्मिनल ७ पुग्दा कोहि पनि थिएन. यात्रु जाच्ने टिकट मिलाउने कक्ष एतिखेर खुल्छ भनेर समय दिने एउटा सानो पाप्रो टासेर बन्द थियो. हुन पनि बेला हुदै थियो बिहान साढे एघार उड्नु थियो भरे बार साढेमा. मलाई जस्तो हतार उनलाई हुने कुरै होइन.
एकादुई गर्दै मान्छे आउन थाले. नेपालबाट एउटै उडानमा आएका मान्छे पनि देखिनथाले. भोकले पेट पनि अलिक असजिलो गर्न थाल्दै थियो. के खाने केही छैन साथमा. भरअभर भनेर दुई सय भारु साटेर बोकेको त छ जेपमा तर छेउछाउ किनिखाने ठाउँ देख्दिन म. तेतिकै मुख चाँपेर, पेटारी कसेर वरपर हेरेरै बिताइयो निक्कै बेर. मान्छे बिस्तारै भरिन थाले त्यो पर्खिने ठाउँमा. अब गोरा, काला, फाट्टफुट्ट नेपाली र बहुमत भारतीयका बथानले ठाउँ ढाक्दै छ. उठेर हिडिरहनु, एताउता छुन्मुनाइ रहनु, वरपरका दृश्यमा अर्थ खोज्नु, अर्थ बुझ्न खोज्नु, मान्छेका चालढाल नियालेर नयाँ कुरा टिप्न खोज्नु मेरो स्थायी बेहोराभित्र पर्ने कुरा हुन. एतिकैमा एकजना नेपालीनेपाली पाराको अधबैंसेका छेउमा बस्न पुगें. चिनजान गर्दा धनगढीका भोजराज भट्ट भएको पत्ता लाग्यो. एक बर्षअघि क्यानाडा गएका उनी एकताका काठमाण्डौंमा मान्छे ठोकेर मार्न कुख्यात स्वयंभू यातायातले उनका पितालाई पनि छोडेनछ र नेपाल आइवरी छोराको कर्म सकेर फर्किन लाग्दारान उनी. निक्कै दुखपूर्ण घडीमा आएर फर्किन लागेका भोजराजजीको कथाले मन अमिलो पारो एकातिर भने अर्कातिर मलाई केही नखोज्दा, ढुंगा पनि नखोज्दा, देउता मिल्यो. अब हामी दुई भाइ जे जे परिआए पनि क्यानाडा पुग्ने भयौं भनेर ढुक्क भो मन. बिन्द्रावनका माझमा हराएको एक्लो बालकले माता पाए जस्तो भो मलाई भोजराज भेट्दा.
काठमाडौँदेखि नै बेलाबेला दुई दुई आँखा चार भइरहेका थिए एउटी गोरी तरुनीसँग त्यो पनि आइपुगी. फेरि त्यो आँखा जुधाउने क्रम चल्यो. सायद नेपाल घुम्ने आम बिदेशीले सिक्ने थेगो जस्तो ' देरै राम्रो नेफाली मान्छे' लाई सँगै लन्डन जाने दाउमा लागेको देख्दा अन्तिम पटक राम्रो नेपाली जातिसँग भलाकुसारी पो गर्न चाहेकी थी कि बजिनिले. कुनै तोर्पे छ कि तेसको भनेर भनुँ भने काठमाडौँ देखिनै एउटा गाडाझोला घिच्याउदै एक्लै देख्छु. भए त यतिबेर गाला नजोडी कसरी बस्न सक्थे यी जात भन्ने ठान्छु. छेउमा गएर हाइ हेल्लो चलाएरकुरा गर्ने लेठो गर्न मन लागेन. अलिक पर्तिर अर्को नेपाली पनि देखियो. नेपाल घुमेर फर्केका गोरागोरीलाई जिब्रो बटारी बटारी अँग्रेजीमा 'नेपाल इज भेरी भेरी ब्युटिफुल' भनेर भर्खर नेपाल देखेर आएकालाई सुनाउदै छ. भोजराजजी पनि उसका कुरा सुन्दैरान मूलाले गफ त गरो ठिकै छ तर नेपाल भनेको पनि 'निफल' भन्छ सुन्नु न भन्दै मलाई सुनाए.
पर्खिने मान्छेका हुल माझमा एक जोडी नेपाली बाआमा पनि छन. तिनका साथमा छिन एक तरुनी वयकी केटी मान्छे. बाले नेपाली ढाका टोपी, तात्तातो आइरनका धार भएका नयाँ कोट प्यान्ट सट र नयाँ जुत्ता र आमाले उही हाम्रै पाराको सारी चोलो र मजेत्रो, कानमा सके नयाँ नभए पनि भर्खर उज्जिल्याएका मारबाडी, देब्रे हातका दुई औंलामा उस्तै औंठी लाएर कम्तिमा मान्छेका मुखेन्जी सारै ठुटइबुटइ हिड्नु नपरेको इज्जत राखेकी छन्. मैंयाले भने न्युरोडमा किनेको प्यान्ट र पातापाखुरा खुल्लै राख्ने हावा राम्ररी ओहोरदोहोर गर्ने वातानुकुलित एकसरो किसिमको गन्जी लाकी छन. उठ्दा बस्दा ओल्टोकोल्टो पर्दा वायुमण्डलमा खुलमखुल्ला छोडिएको लहलह तिनका केशराशीले फ्याल्ने बहुरंगी किरणले थप्नु बान्की थपेको छ तिन्को हास्नेबोल्ने शैलीको जुहारमा पनि. तिनले मलाई ती बाआमा लिएर आइपुग्ने बित्तिकै अंग्रेजीमा सोधेकी थिइन यो लन्डन जाने टर्मिनल ७ हो भनेर. सबै कुरामा छ्यानबिबेक पुर्याउदा लाग्छ ती बाआमा नेपालको कुनै ग्रामीण जीवनका अर्धसाक्षर मातेपिते हुन र पढेलेखेका जगत देखेका पौरखी सन्तानले लन्डन घुमाउने परे र त्यस्तरी विधि सिंगारपेटार पारेर कसैले छि: भन्न नसक्ने पारेर लादैछन. तेत्रा पराइका माझमा त्यो ठडीएको ढाका टोपी र ती चम्केका मारबाडीले कम्तिता सोभाउ देका थेनन दिल्लीको टर्मिनल ७ मा.
कोहि निन्द्रा पुर्याइरहेका छन् बसेकै ठाउँमा, कोहि कच्याककुचुक के के खाइरहेका छन, कोहि एताउता चलमलाई रहेकाछन. हाम्रा नेपाली मातापिता तेसै मुहुनी हराएजस्तो गरि टोलाएर हेरिरहेका छन. समय आउदै छ लन्डन जाने.
टिकट जाँच्ने खुल्यो, सबै उठेर ताहुरमाहुर गर्न थाले र हेर्दा हेर्दै हार बनिहाल्यो. सबै हारमा मिसिए. बुढापाका, जिर्ण, अशक्तलाई पहिले छिराए र हामी तिघ्रेहरुलाई पछि भने. अलकाइदालाई सिध्याउने बुसको खेलमा सघाउने ब्लेयरको देशमा छिर्न लर्तरो खानतलासीले लादेनका मान्छे कहाँ चिन्नु. अघिनै शरीरमा जनै र कन्दनिबाहेक केही नभेटेर छोडिदिएको फेरि बीचैमा केही उब्जाए कि कतै सिङ जुरो पो पलायो कि एतिबेरमा भनेर होला फेरि केटालाई केटाले केटीलाई केटीले सबैथोक छामछामछुमछुम पार्दिए. अब त भयो होला भन्या फेरि जहाजको ढोकामा अर्का जेम्दग्नी बसेका रहेछन छाम्न. खासमा तिनले हामीलाई नाजाँचिकन गोलाबारुदसहित पठाए भन्दा पनि हुन्छ किन कि प्रत्येक अघिल्लो जाँचको कुनै भर थिएन उनीहरुलाई अनि अन्तिम भन्दा बढी फेरि एकपल्ट, अनि फेरि, फेरि, फेरि,.......... जाँचेको भए पो हाम्रा पड्काउने जिनिस तिनले भेट्नु नि.
अघि काठमाण्डौंबाट आउँदाको भन्दा ठुलो तीन लहर बस्ने सिट भएको र प्रत्येकमा ३ जनाको दरले बस्ने कुर्सि भएको एमानको चिलगाडीमा पसेर आफ्नो सिटमा बसेर दिल्लीलाई बिदाइ गरियो. त्यसको काम उड्ने उडिगो. एकैछिनमा हंसमुख युवतीहरु के खाने के लाउने भनेर चाकर गर्न आउने आइहाले. अबको ८ घण्टा फेरि आकाशमा नै हुनेवाला थियो उसरी नै. अब लण्डनको हिथ्रो विमानस्थलमा साँझ सात साढेमा ओर्लिएपछि भोलिपल्ट ८ बजे बिहानको क्यानाडा एयरको उडान पक्डिन उज्यालो पार्न के खाइयो र कहाँ सुतियो भन्ने बारेको दर्दनाक कथा त बाँकी नै छ. संसारको सबै भन्दा पातलो साबुनको फिंजमा उठेको फोको जस्तो पातलो माया चै एयर होस्टेजको हुँदो रछ. एकछिन अघिसम्म मुस्कानका मुस्कान लाएर खाको नखाको सोधेर भोक तिर्खाको ख्याल गर्ने ती आमा जस्ता रुपशीहरु हिथ्रो विमानस्थल पुगेपछि हामीलाई 'अब जहाँसुकै मर' भनेजस्तो गरी स्यालको सिङझैं कता अलप भए भए. यो चिलगाडीको चलन कस्तो लोकलाजी ! कति क्षणभंगुर !! जो भोग्नु तेसपछि भोगियो. आगे लेख्दै जाउँला.
No comments:
Post a Comment