about

Sunday, 28 October 2012

तिमीले मुखै खोलेनौ
उल्टै मलाई बोलिनौ
आँखाले कति डाकें
इसाराले मनै साटें
तिमीले बुझ्ने कोसिस गरेनौ
मैले तर्नु थियो काली
पारि जाने तिमी पनि
हातेमालो गर्न रोक्यो
केले केले फेरिपनि
तिम्ले मुखै खोलेनौ
उल्टै मलाई बोलिनौ
नफक्रिदै  प्रितको फूल
सुकेपछि पानी मूल
जस अपजस केलाई कसलाई    

Saturday, 19 May 2012

पिउने चक्र


आइतबार धुम्मधाम्म तताउन खाइयो
सोमबार चर्को घामले पोल्दा चिस्याउन लाइयो

मंगलबार साथी चैं को टेन्सन धपाउनु थ्यो
बुधबार झ्वाँकैझ्वाँकमा  बिनाकारण खाइयो

बिहिबार स्याउको शुद्ध भन्दै भिराइ छाडे
शुक्रबार त ह्याप्पी फ्राइडे लाउने नै हो लाइयो

शनिबार त  नखाने है भन्दै बसेको थें
अरब गको साथी आएछ कहाँ धर पाइयो ?
चक्र यहि हो अहिलेसम्म घ्याम्पा मात्रै होइन

भर्नु भने फेवा रारा दुइटैलाई सुकाइयो !!

Friday, 6 April 2012

बालाई चिठी

चरणकमलमा लम्पसार परें बा.
सन्चै छु बा. र, पशुपतिनाथका कृपाले संबिधान बन्ने नबन्ने टुंगो भइनसके पनि बाचैं उनै भगवानका कृपाले सन्चै हुनुहोला भन्ने पुरापुरी विश्वासका साथ यो चिर्कटो कोर्दैछु.

बाटामा 
म सुबिस्तैसँग  आइपुगें  भन्दा हुन्छ बा. बाटामा अलिअलि  परेको अलमल बाहेक कुनै कठिनाई भएन यो पैसा टिप्न पाइने ठाउँमा आइपुग्न बा. 'वायुका बेगले रथ हो उडाई पुर्यायो दैंतेका देस' भन्ने बाको पुरानु शिलोक कै ताकमा त्यहाबाट हिनेका भोलिपल्ट मलाई त्यो उडाउनेले उडाको उडाई ल्याइपुर्यायो यो बिरानो देशमा. बाटामा लन्डन भन्ने ठाउमा एक रातको बास बस्नु परो बा. विमानस्थलमै गुल्जार गरियो. बाहिर निस्किन पाउनु छैन के गर्नु बा. हुन त बाहिर निस्किन पाए नै पनि कहाँ जानु थ्यो र. कहाँ जान्छस् हराउने बिलाउनेका देसमा भने झैं. त्यहाँ न सुत्न पाइयो न भनेजस्तो केही खान पाइयो. नाम नजानेका दुदुईटा पाऊरोटीका लामालामा  सुम्ला किनेर  निल्यौं र  रातभरि एक अर्को नेपाली साथी र म बरालियौ तेतैहुँदो. एउटा कामदारले चिया पसलका बेन्चिमा सुत अब ग्राहक आउदैनन भनो र राति एक बजेपछि एसो झोलाको सिराने लाएर झकाउन थाल्या  अर्को आएर खाँउलाझैं गरेर उठायो बा. दुई लाती भेटेको खिच्चोझैं झोला टिपेर त्यहाँबाट उठी अलि पर गएर बसियौ हामी रातिमास. बाले ठान्नु भो होला किन बास बस्ने ठाउँ थिएन र भनेर.थ्यो नि बा. अस्ति ओगटीसक्नु पर्ने रछ नेट वा फोनबाटै बास बस्ने ठाउँ. कहाँ हाम्रो पाख्रिबास, खन्युबास अमलेबास जस्तो सिधै गएर लजमा सुत्न पाइने हो र छ र बा. एउटीले कोठा छ त भनी एक ठाउँमा. कति खाको बसेको भनेर सोधेको त हाम्रो पाखो बारीको दाम जति भनी बा. गरिब रुपियाँलाई धनी डलरमा साटेर कम्मरमा बाँधेको ख्याउटे बिटोले आँट गर्नै सकेन नि बा. तै जसोतसो रात काटियो र फेरि उडियो आकाशमा.

कामधन्दा         
के काम गर्छस के पाउँछस जाने बित्तिकै चिठी लेखिहाल्नु भन्नु हुन्थ्यो बा. काम पाउनै एता ढुन्मुनिदा उता ढुन्मुनिदा महिना दुएक त एसै बितिगए. अहिले बल्लतल्ल काम पाको छु बा. अब काम चैं के गर्छस भन्ने खुल्दुली बालाई लाग्ने नै भयो. यता जस्तो के गर्छस भन्दा काम गर्छु भनेर सुख पाइने होइन रछ हाम्रो चलन. के काम मह्नामारी कति दाम अर्काको सबै  खुन्खोत्रो  पहिल्याउन पाए मात्रै खाको आंग लाग्ने हाम्रो चलनमा बालाई पनि अघि मनमा पसिसको होला के र कति भन्ने. अरु कुरा तेस्तै हो बा म काम गर्छु र तलब रुपियामा होइन डलरमा आउछ. अब म कमाइ होइन खर्चको विवरण दिन्छु तेत्रो बार छोरा तेरा नातिका धनि भुक्तभोगी बाले आफैँ जान्नु. महिनामा साठी हजार कोठाभाडा, खान्तेपिन्ते अरु महिनाको पैंतीस हजार, फोनसोन, मटर कुदाउदा अरु लाखार्लुखुर महिनाको अर्को बीस हजार खर्च. औंला भाँचेरै क्यालकुलेटरलाई जित्ने हाम्रा बालाई अब के भनिरहनु पर्ला र. यसमा अलेली बचेखुचेको छोराकै कमाइ  हो भनी जान्नु बा.
कामकै कुरा गर्नु  पर्दा बा म गोरु नै नार्छु भने हुन्छ. झिसमिसे हुँदा नारने गोरुलाई बाले भालेका डाकमा उठेर घाँसपराल हालेझैं म नि यहाँ बिहान झिसमिसेमै उठाउने गरी घडीचराको आवाज निकाल्ने धून मिलाएर मोबाइललाई कानैका छेउमा सुताएर सुत्छु. तेसले बिहान 'कुखुरी काँ' भनेर बासेपछि म जुरुक्कै उठ्छु. म घरमा हुदा बाले उठ भनेको १ घण्टा पछि बल्लतल्ल तिनसल्ली घामले ढाड तताएपछि मात्र उठ्थें नि बा त्यो सब अब इतिहास भयो बा. घरमा हुदा जस्तो एकभारी टाँकीका सेउला झारेर आउदा ऐया ऐया मरें मरें भनेर धर पाउदिन बा मैले यहाँ. थाकें गलें, खुइय, ऐया सबै गाएप भका छन् बा. बाआमा  छन् भनेर पो मरें गलें भुतुक्क भएँ भन्न मन लाग्दोरछ त,कोहि नदेखेपछि त गलाइ, थकाइ,  हिउँ, असिना, पसिना सबै कुन बाटो आउछन कुन बाटो जान्छन पत्तै नहुने रछ नि. छोरो बनाउनु छ भने घरबाट लखेट्नु भनेको त तेसै कहाँ हो रछ र तिमी पुर्खाहरुले. जीवन भोगाइका अनेक प्रसङ्गमा तिमीहरुले जानेरै  उखानटुक्का  रचेका रछौ नि. यहाँ जस्तो ऐया आत्था नभनी खट्नु हो भने बा त्यो हाम्रा घरमाथिको मैनाचुली  खारेर हवाइजाज गिराउन बनाउन त बेर नै नलाग्ने रछ नि. हामी त नेताले देस बनाएनन बनाएनन भनेरै बिहानदेखि बेलुकासम्मको बार घन्टामा मुस्किलले ४/५ घण्टा काम गरेर अरु जम्मै समय फलाना र ढिस्कानालाई सराप्दै उसका कुरा काट्दै बिग्रेको जति उसैका थाप्लामा मात्रै पार्दै आफूचैं जगतकै भलो अरु सबै बिगाती  भन्दै चोक चौतारो रुगेरै बिग्रेका रहेछौं बा. देश बनाउने त जनताले रहेछ बा यहाको देखिजानेको कहन मिल्छ भने. नेताले चैं  रित बाँधिदिएर आफू पनि रितमा बस्ने अरुले नटेरे तलबाट तरल र ठोसएकैचोटी निस्किने गरी पेल्ने व्यवस्था मिलाउने रछ बा. एति गरे आधाउधी देश तेसै बन्ने रहेछ बाँकी आधा तिनका घोषणापत्रले बनाउने  रहेछ बा. हाम्रामा त अस्ति कानुन नमान्ने चोरका खन्तिले कता प्रहरीलाई नै माफी पो माग्न लगाए रे नि कानुन रित पालना गर भन्दा. यहाँ त बा काल, कर र कानुन यी तीनसँग जोरी खोज्नु भनेको साढेसातलाई सिधै  निमन्त्रणा कार्ड पठाउनु जस्तै हो रे. यहाँ त सरकारी जागिर  खाऊ कि सडकमा गिट्टी कुटेर पेट पाल आफ्नु कमाइको गच्छेअनुसार सरकारका ढिकुटीमा नहाली घर लान्छु भनेर नचिताए पनि हुन्छ बा. हाम्रामा त के भन्नु र यी तीनसँग जसले बढी जोरी खोज्छ उही पुज्य हुन्छ. हाम्रो देश त नेताले बिगारेको जनताले सघाएको देश रहेछ बा. हाम्रामा त छोराले कर छलो भने बाठो छोरो जन्माएकोमा बाबु दङ्ग, लोग्नेले कर छले कागका फुल चोर्ने लोग्ने पाएकोमा स्वास्नी दङ्ग.बालाई एउटा सानो चिठीमा कस्ताकस्ता जुँगामुठेहरुले बनाउन नसकेको पुरै देश नै बनाउने योजनाका मन्त्र सुनाउदा दिक्क लागिसको होला. मुले के खान्की खान्छ, के लाउछ, उकालोओरालो, खोलानाला, खेतबारी के कसो छ लेख्छ होला भन्या त अनेकका कैरन ल्याएर झिंझो पो लाउछ भनिसक्नु भो  होला बा.

खानपान 
बा म मुख्यरुपमा पाउरोटी बढी खान थालेको छु अचेल. पिज्जा भनिने अनेकथोक हालेर साँधेको गहुँको भुकुरचाँदे रोटि भनेपछि यहाँ सबै हिरिक्क हुन्छन्. बा सबै भन्दा ठुलो कुरा त गहुँ पो रछ त गहुँ. यहाँ गहुँले नै बचाको  हुदोरछ जुनमा पनि पुग्ने अनेकथरिका यन्त्र बनाउने बैज्ञानी(क)हरुलाई पनि.गहुँको पीठोले बनाका मात्रै चौराशी थरिका ब्यन्जन छन् यहाँ. पिज्जा भनिने त्यो भुकुरचाँदे रोटि खाएपनि, नुडल भनिने आन्द्रे लुर्का सुलुलु निलेपनि, बर्गर भनिने पाउरोटिका पाप्राका बीचमा घाँसपात च्यापेर खाएपनि, हट डग  भनिने अर्को खाले पाउरोटी चपाए पनि, पास्ता भन्ने खाए पनि, स्पाघेट्टी हुले पनि जे खाए पनि जसो गरे पनि गहुँ कै वरिपरि च्यापू हल्लाइरहेको हुन्छ मान्छे. म नि झोलामा तेही भुकुरचाँदे  रोटि च्यापेर कामथलो र बासथलो गर्न जान्ने भैसकेको छु बा अहिले. अनि चामल पाइदैन त भन्नु होला. किन नपाउनु नि. भारत स्लमडग मिलिनियर बनाएर आफ्नो गरिबी र भोकमरी देखाएर भएभरका अस्कर एक्लै  कुम्ल्याउछ. उता एक पाप्रो रोटी नपाएर हाहाकार एता भारतीय बासमती चामल फालाफाल बा. चोर औंलाको आधिआधि लामा सुरिला कन्चन बियाँ भुस ढुङ्गा केही केलाउनु नपर्ने चामलका राजस्थानी, कश्मिरी प्रकार पाइन्छन बा. मान्छे संसारका सबै देशबाट आको भएर तिनका खान्की पनि आउने नै भए आका छन् बा यहाँ. काममा भात खाने छुट्टीमा छेउको अफ्रिकी इन्जरा भन्ने कोदाको रोटी जस्तो देखिने थोक खान्छ, छेउकी चिनियाँले एउटा सुँगुरको खुर र अलिकति रायोका सिंगै  पातसँग मिसाएर पकाको एक मुठी भात खान्छे, अर्को पोल्यान्डको ठिटो छाला तरेको गोरुको पुच्छरको उसिनेको परिकारलाई पाउरोटीमा मिसाएर हसुर्छ, देब्रे पट्टिको इरानी  भिल भनिने बाच्छाबाच्छीको मासुमा जिब्रो फड्कार्छ बा. कहिलेकाहीं  खानेकुराहरु बाँडेर खाने चलन पनि गर्छन. त्यो बेला सारै सकस पर्छ. म 'धन्यवाद, म पूर्ण छु' भन्दै उम्किन्छु. म गाई खान्न गोरु खान्न पनि भन्दिन बा. तेसो भए घिच्छस त भन्नु होला फेरि बाले. होइन बा. एकपल्ट एउटा बेल्जियमको अधबैसेलाई म खान्न म हिन्दु हुँ  भनिहेरेको त्यो मुलाले त अंग्रेजहरुले  भारतमा २०० बर्षसम्म गरेको राज्यदेखिको कुरा ल्याएर मलाई पेल्न खोज्यो. हिन्दु संकीर्ण हुन्छन, जातभात छुवाछुत मान्छन, फुटाउ र राज गरमा यी माहिर छन् आदि आदि अनेक भनेर फतुर लायो.अनि उसको क्रिस्तानी धर्मचैं राम्रो, मानवताबादी, भेदभाव नगर्ने भन्दै भन्दै ल्याएर बाइबलमा कुरा पुर्यायो र गफ गर्न घरमै बोलाउन थाल्यो. म तेसको पुराण सुन्नु पर्ने डरले अनेक भनेर तर्किएँ जाँदैगइन. मैले नि हाम्रो गीताको 'कर्म गर फलको आश नगर' भन्ने महानबाणी ठोक्दिउ कि ब्ज्यालाई भन्ने ठान्या हुँ एकपल्ट त तर नपुंसक घोगा फल्ने हाम्रै देशमा मात्रै होला यसको अर्थ भन्ने लागेर फेरि केही भनिन. फेरि मैले तेसो भन्या भए तेसले मेरो धतुरो झार्ने निश्चित थियो बा. उनीहरु कर्म गरेर फलको परिणामको आशा नगरी बस्नै  सक्दा रैन छन्, कसो मैले मुख खोलिन र..... 
आफू शुद्ध नेपाली आहार गर्छु भन्नेलाई सबै कुरा छ बा यहाँ. रोटीबेटीको सम्बन्ध भका  हाम्रा दख्खिनका छिमेकीहरु उहिले बराजुका पालामा आइवरी आफ्नू खानपान, भेषभूषा, चाडबाड, उठबसको थिति बसाइसक्या भएर हामीलाई सजिलो रछ यहाँ. मैले यहाँ सबैथोक भेटें बा. जस्तै चामल, मैदा, आँटा, मुसुरो, रहर, कालोदाल, मेथी ज्वानु,घीउ, दोइमोइ, कागतीको अचार, इस्कुस, रायो, घिरौंला, बोडी, हिउँदे सिंबी, करेला, बैगुन, घर तरुल ...नाम नजानेका अरु सागपात र फलफुल  उति छन् बा. बरु फर्सीका मुन्टा र बरेलो भने मैले देखिन अरु छ सबै थोक. बाले चिन्ता नलिए हुन्छ आहारबिहारमा छोरो गइन्न छ र अभछे गरेको छैन. 

भेषभूषा       
बा यहाँको पहिरनका बारेमा म अलिकति भन्छु अब. हाम्रोमा जस्तै यहाँ पनि भदौबाट चिसो बढ्दै जाने र फागुनबाट न्यानो पलाउन थाल्ने रहेछ.चिसोमा चिलिमै फर्किने गरिको चिसो बा यहाँ. गर्मीमा पुर्पुरोको रंग फेरिनेगरि घामले पोल्ने ठाउँ रछ. त्यही भएर मान्छेका पहिरन पनि उसै किसिमका छन् बा यहाँ. अझ कुरो नचपाई भन्नु पर्दा गर्मीमा लगाको लुगा भन्नै नसकिने जाडोमा लगाको लुगा गन्नै नसकिने भने नि हुन्छ. केटा बज्याको त जहाँ गएपनि उही रछ बा लाउने कुरो. तेही हर्ल्यांगहर्ल्यांग जिनिसको प्यान र ज्याकेट, गन्जीसन्जी तेस्तैउस्तै. महिलाबृन्दका पहिरनका भने अनेक भाँति छन् बा. झन्डैझन्डै सर्वस्व देखाएर हिड्नेदेखि केही छ्याँनबिबेक राख्ने पनि छन्. कुन बुडी माऊ कुन तरुनोबरुनो सबैका टांगमा जिनिस घुस्रेको हुन्छ बा. अनि दारी र फेट्टा कसेका पन्जाबी पनि उतिनै छन्. 

घुमघाम वरपर    
यहाँ घुम्ने, हेर्ने, मन बहलाउने, टोलाउने, लोलाउने ठाँउहरु धेरै छन् बा.यहाको सरकार नै पशुपतिनाथले चलाए जस्तो छ. देश चलाउने भए, प्रान्त चलाउने भए, नगरको रितथित बसाल्ने भए सानसँग चलाउ होइन भने लाखार्लुखुर चल्दैन भनेजस्तो छ यहाको चलन. नदी, तलाउ, पोखरी, बागबगैंचा, सार्बजनिक स्थलका बारे सरकारको धेरै ध्यान छ. अलिकति ओरालो भिरालो खोल्सी डांडो देख्यो कि तेस्लाई सिंगारपेटार  पारेर इन्द्रजी को बगैंचा बनाइदिन्छन. जंगलका माझमा पोखरीका वरिपरिको पक्कि चक्रपथमा फन्को मार्दै साँझको हावा खाने कि गर्मी भो डुबुल्की मार्न जाने कि आफ्नै इच्छा. फूल छोएर फोटो खिचे पनि गल्लिपिच्छेका केएफसि र म्याक डोनाल्डमा पसेर जति घिचे पनि तपाई उन्मुक्त बा. कसैले कहाँ कता किन भनेर सोध्नेवाला छैन तपाइले कानुन नमिचेसम्म सार्बजनिक जीवनका संहिता नभत्काएसम्म. सबै घरका दैलासम्म पक्कि सडक पुर्याउनु पर्ने महानगरपालिकाको मापदण्डमा छिसिक्क खोट छैन. सडकको गुणस्तर, राज्याधिन रेल र बसको भरपर्दो सेवाले तपाईलाई बा मिलिक्क एक कुनाबाट एर्को कुनामा पुर्याइहाल्छन. अस्ति नदी तलाउतिर घुम्न गको बा. एकजना नयाँ  नेपाली साथी पनि साथमा. किनारका बडेमानका ढुङ्गामा, रुखका फेदका फलैंचामा जतासुकै परेवाका जोडीझैं चुच्चो जोडेर प्रीति साट्नेहरुको बथान सम्ममा साथी आँखा लुकाइलुकाई मज्जा लिदै थिए. अलिपर्तिर एउटी तरुनी चर्का घाममा ढुङ्गामाथि बसेकी थी. लाउनेका नाममा नछोपी नहुनेबाहेकमा केही थिएन. एउटा हातमा चुरोट धुवाइरहेको छ अर्को हातमा एउटा पुस्तक छ. ढुङ्गामाथि पध्माशन बाँधेकी छ तेसले. छेवैमा अन्टारियो लेक जिउदो प्राणी सरह चलमलाई रहेको छ. डुंगामा सपरिवार आनन्द लिने लिइरहेका, तलाउको छातीमा तोरीको फूल देख्नेगरि पानी फ्याँक्दै के के कुदाउने जिनिस कुदाइरहेका, सबै घुमन्ते आआफ्नै सुरमा अनि त्यो एक्ली केटी केहीको वास्ता बेगर किताबमा मुन्टो जोतिरहेकी. मान्छेको शौख र शैली देखेर त्रिभुवन विश्वविद्यालयका एम फिल मेरा साथीले जिब्रो टोके. किनभने उनको पालो थियो  जिब्रो टोक्ने, मैले पहिले नै टोकिसकेको थिएँ. 

भाषा/बोलीचाली       
बाउन्न देसका त्रिपन्न जातिको देश रछ बा यो. हाम्रो 'सयौं थुंगा फूलका हामी एउटै माला.....' यहालाई पो मिल्छ झन सारो.यहाँ काला गोरा खैरा होचा पुड्का थसुल्ले सुरिलाका अनेक रुप र बान्की छन्. हाम्रा एकजना सोलुका शेर्पा दाइले भन्नु हुन्थ्यो "राउन्ने(रावण) खोज्न अन्त जानै पर्दैन याम भाइ".उहाको भनाइ अफ्रीकातिर सोझिएको हो भन्ने मैले लाख काटें. तेसो भएर बा यहाँ मान्छेका आफ्नै भाषा छन्. बसमा रेलमा को को के के बोल्छन बोल्छन सयथरी बाजा एकठाउ भेला पारेर सुर न ताल जजसले जेजे  भेट्छ तेहीतेही बजाए जस्तो ध्वनि कानमा गुन्जिरहन्छ. तर सबैलाई सबैले बोलाउने भाषा अँग्रेजी नै हो. तर बा हामीले पढेको अँग्रेजी र यहाँको अँग्रेजीमा कहाँ मेसो मिल्नु, मिल्दैन. हामी कति मज्जाले 'ट्वान्टी टु' भन्छौं यहाँ ' ठवाडी  ठु' भनेको सुनिन्छ. म 'टोरन्टो' मा बस्छु भनो उनीहरु 'ट्वाटो' कोहि 'टोनो' कोहि 'ट्वानो' कोहि 'टोरनो' 'ठोरनो'अनेक भनेर अलमल गोत्राय पार्दिन्छन्. तै बाले तेही अँग्रेजी नै पढाको भएर कन्न सम्म काम लाग्या छ फरर्र पारेर काम फत्ते गर्न त खोइ लाग्ला बा अझै ट्याम. यहाँकाले बोलेका कुरा 'हँ' 'के रे' फेरि भन भन' 'लाखे है' नभनी हतपत टिप्न सकिदैन. तै बिस्तारै बानी पर्दै जाँदो रछ अलिक बीसको उन्नाईस हुन थालेको छ अहिले त. ती माथि बा यहाँ छोरा मान्छेलाई 'गाई' भन्छन्. मलाई कतिपटक 'ए गाई' भनेका छन् मान्छेले. के गर्नु, के भनिस अरे भनेर   दाँतमा हान्न मिलेन 'हजुर' भनेर बोल्नु पर्छ. 

समाज/परिवार 
यहाँ सबैलाई कामको बित्तो हुन्छ. के जोई के पोइ दुवै काममा जोतिन्छन सकेसम्म. कामले गर्दा मान्छे 
एकचित्ते हुँदा रछन्. काम गर्न र जीवनको बिल रसिद बुझाउन मै मान्छेलाई फुर्सद छैन. तर हप्तामा दुई दिन मस्ती पनि यिनले नै जानेका छन्. हाम्रामा जस्तो लोग्नेले के भन्छ भन्ने होइन यहाँ स्वास्नीले के भन्छे भन्ने कुरा अलिक मुख्य हुने रहेछ बा. यहाँ स्वास्नी कथम् भड्कि भने लोग्नेको बार बजेर तेर बज्ने रहेछ तेस्लाई फकाएर घर बस्ने पार्न. हाम्रो म्यानेजर बेलाइती छ. उसलाई उसकी जहानले घरबाट फोन गरी. डार्लिङ मलाई आउदा केएफसिबाट कुखुराको साँप्रो ल्याइदेउ है भनी रे. उसले हुन्छ भनो. अरु पनि के के मा उस्ले तीन चार 'हुन्छ' लायो. नाइनास्ती किन के केही नभनी उसले खुरुक्क हस भनेको भएर मैले के भनी भनेर सोधेपछि उसले कैरन ल्यायो. ऊ ३० बर्षदेखि यहाँ छ. उमेर ४८ रे. बच्चा नपाउने सर्त दुबैलाई मन्जुर भएपछि उसले हंगकंगकि  चिनियाँ तरुनीलाई ६ बर्ष सम्म एउटै डेरा गरि बसेपछि अस्ति भर्खर दुलही बनाको रे. एक दुई बर्ष दुवै जना लिट्टी कसेर काम गर्छन रे अनि बिदा मनाउन कहिले अम्रिका कहिले युरोप जाने रे उनको शौख. भुराभुरी बनाउनु भनेको आफ्नो स्वतन्त्रामा बन्चरो हान्नु हो रे.  उसले भनेको जहानलाई खुसी राख्न पुरुषले निक्कै पापड बेल्नु पर्ने देश हो रे यो. बच्चाको रेखदेख  स्याहारसुसारमा नि बाउको पानीपेदु निकाल्ने रछन् बा महिलाले. मैले देखेको कुरा यो. बाले सिकुवा टेक्न नदिने कुकुर यहाँ त ओछ्यानमा ढलिमली गर्छ. छोराछोरी सरह हो बा यहाँ कुकुरबिरालो भन्या त. किरो कारका अगाडि सिटमा बसेर झ्यालबाट मुन्टो निकालेर घुम्न निस्किन्छ सहरतिर. तर बा कुकुर मुले जति गरे नि कुकुर नै रछ, जति चाटेपनि जति पजेरोमा राखेर कुदाएपनि  जिब्रो निकालेर पानी काढ्न र बुटो ढिस्को देखे देब्रे खुट्टो उचालिहाल्न चैं  उही रछ कुकुरको. अस्ति एउटी ९ बर्ष जातिकी 'जिना' नाम कि  कुकुर्नीले चम्ची निलिछन्. सके बाआमाका डिनरमा लामो जिब्रो गर्दैथिन होला. के चाल परो चम्ची निलिन. रुवाबासी भो घरमा. छोराछोरी मुर्छा परुँलाझैं गरि रुन थाले. बाले हतपत कता फोन लाए मिलिक्क आइपुग्यो कुइँकुइँ गर्दै  'कुकुर एम्बुलेन्स'. एक्सराइ भिडियो एक्सराइ सबैथोक तुरुन्तै भो. चम्ची छर्लंगै देखियो पेटमा सुतिरहेको. कुकुर डाक्डरहरुले तुरुन्तको तु शल्यक्रिया गरी  चम्ची झिके . भोलिपल्ट पत्रपत्रिकाले सचित्र देखाए. खर्च मुलाको बालनै भएन मुख्य कुरा कुकुर्नी बचिन. छोरो बयस्क भएपछि तरुनी लेर छुट्टै बस्छ बाआमा छोड्छ तर कुकुरले नमरुन्जेल छोड्दैन रे. यहि हो कुकुरबिरालाको मूल्य  प्रणाली बा यहाँ. यहाँ छोराछोरीलाई पनि सारै चर्को स्वरले बोलाउनु कराउनु हुदैन रे. यिनले बाउआमाले मलाई थर्काए कुटे भनेर नौ एघार पार्न बेर लाउदैनन रे. बा आठ बार परो हुदैन भन्नु हुन्थ्यो आठ बार देखि डराउनु हुन्थ्यो नि यहाँ नौ एघारदेखि डराउछन् मान्छे. नौ एघार भनेको पुलिस बोलाउने नम्बर हो बा. यहाको पुलिस फेरि नेपालको जस्तो होइन कालले छोड्छ बरु कानुन मिच्नेलाई पुलिसले छोड्दैन यहाँ. यसरी भन्दा यहाँ सबै भन्दा माथि बच्चा अनि बुढाबुढी अनि महिला अनि कुकुर अनि पुरुष रे बा. यो उट्पट्याङले बनाको होला हुन त तर देख्दा तेस्तै देखिन्छ.  
लु बा अब गन्थन गर्दै गरौला. छुटपुट लेख्दै गरौला. धेरै लामो भयो होला चिठी पनि. बाको एक बिहान नै जाने भो पढ्दैमा.
छोरो  
  

Saturday, 18 February 2012

स्यालको खुच्चिङ्


सबै एउटा न एउटा लक्ष्यले
एउटा न एउटा इरादाले
घुम्न निस्किन्छ
भन्ने हेक्कै नराखी
कालक्रममा मैले
सहरमा एकदिन पाइलो राख्दा
तँ बैगुनी मान्छे होइनस
मेरा नाममा
एकथान उखान नै बनाएर खिल्ली गर्ने ?

लौ म त दसा लागेरै सहर पसें रे
तँ चैं कुन आशिर्बादले छोपिएको छस् सहर पसेर ?
तेरा बाउले
गाउँमा बारीका कांल्लाको चिलाउने ढालेर
बर्षभरिलाई दाउरा जोहो गर्दैगर्दा
तँ आशिर्वाद  पाएर सहर पसेको मान्छे
रित्तो ग्याँसको भाँडो काँधमा हालेर
बाबुरामका नाममा एकभारी सराप
मुखाग्रे पारेर कुददैछस गल्लीमा

बेलुका काँचो चामल  भिजाएर चिनी छर्केर
टारेको छाकले छोडेर
तेरो कन्दनी घुँडाबाट तलै झरिसक्दा पनि
तँ दसा  नलागेर सहर पसेको
मनुवा लिट्टी कसेरै लागेको छस सहर पस्न

तेरा बाउले गाउमा छंगछंग काबेलीमा
'हरि हरि' जप्दै  पुण्य कमाउदै स्नान गर्दैगर्दा
तँ एक जर्किन पानीले सिर पाऊ पुछपाछ गर्छस
र अर्को एकभारि गालिसराप
पस्किन्छस केयूकेएलका नाममा
दशाले नभेट्दै सहर पसेको तँ मान्छे
डुंगडुंगति गनाउदै बस्छस
तर सहर नै बस्छस

तेरा बाउले एकदिनको बाटो हिनेर आई
अड्डाको काम सकेर फर्किसक्दा पनि तँ
पेट्रोलको ताँतीमै उँघिरहेको हुन्छस
एक डोको गालिसराप
आयल निगम र सरकारका नाममा तर्पण दिंदै

तँ भाग्य चम्केर सहर पसेको मनुवा
सरकारलाई सरापेर
मरितरी बाँच्न बानी  परिसकेको
दुर्व्यसनी होस दुर्ब्यसनी

तेरी आमाले
बारीका बोडी मूला रायो ल्याई केलाउदै गर्दा
तँ यहाँ एक मुठो साग किन्दा
अठार गाँठा पारेको गोरु अघाउने पराल छान्दै हुन्छस
ढलमतीमा स्नानादी कर्म गराएका
काउली र गाँजरमै दिल बसेको तँलाई
भोलि बिहानै पाइखानामा
पचहतर...पचहतर....पचहतर
गनेर टोलै थर्काउनु छ तँलाई
भाग्य चम्केर सहर पसेको जो परिस

उता
तेरा घरमाथिको सल्लेरी सुनसान छ
डाँडाका जुन भका
बाउआमाका जिर्ण  पाखुरीले कति थेग्नु ?
खेतबारीको  चाकर नपुगेर
मुरी घटेर मुठीमा पुगीसको
घाँसपात सेउला
पत्कर रनवन अलपत्र छ
निर्जन छ

अचेल
भेडाबाख्रा चर्न जंगल आउन छोडेकाले
आँगन बारीमा डुल्ने कुखुरालाई
तँ बैगुनी मनुवाले पोल्ट्री फार्म भन्दै
झ्यालखाना हालेपछि
गाउँमा आहारको चरम  अभाव हुन थालेर
हामी स्यालहरु लोप हुने खतरा बढ्दै जाँदा
सहरमा खाद्यान्न स्थिति बुझ्न
अध्ययन भमणमा निस्किदा
उखान बनाई बनाई पेल्ने तँ बैगुनी मनुवा
भेटिस अहिले
खुच्चिङ!!!!! खुच्चिङ!!!!!!!

बस सहर नै बस
पस अझै सहर नै पस
भोकले कन्दनी खुकुलो भए पनि बस
तिर्खाले काकाकुल भए पनि बस
अभाब, महँगी, भिड, प्रदुषण
बिना बाँच्नै नसक्ने भइसकेको तँ
लेकको याकलाई नेपालगन्ज होस न
तँलाई सफा शान्त सुन्दर
हराभरा गामबेंशी होस

बस सहर नै बस
पस अझै सहर नै पस
छिरिसकेको कन्दनी बरु अलिक कस
तर सहर नै बस.

 यम घिमिरे
टोरन्टो, क्यानाडा


 






काकाकुल नै बाँच्छस  
 
  

Sunday, 15 January 2012

पिछडिएको लिंग- लघुकथा

लौ सुन कथा यस्तो हो  भन्दै कथा भन्नको रिपु  सुरज कथा भन्न तम्सियो: 
बेदनिधि साथीहरु माझ कहिले घुलमिल नहुने. सधैं सटका सिरानैसम्मका टाँक लाएर किलकिले कसेर हिड्छ. सगैका साथीहरु बजारमा निस्किने अनेक भाँतिका नयाँनयाँ पहिरनमा खुलेर हिड्छन ऊ भने एउटा पुरानो छालाको खुइलिसकेको पेटी कसेर सधैं सटका बाउला लमतन्न फेदैसम्म झारेर हिंड्छ. ऊ प्राय लुगा सधैं एउटै जसो लाउछ. नपुगेर नभएर पनि होइन. खोइ अहिलेको जमानाको भएर पनि के भाका टिपेन टिपेन बेदनिधिले उसलाई कसैले पनि आफ्नो चित्तको साथी बनाउन कोहि अघि सरेन. सबैसँग उसको उही 'हल्लो' दोस्ती मात्रै छ. प्राय कलेजमा पनि लुखुरलुखुर एक्लै आफ्नो बाटो नापिरहेको देखिन्छ. पढाइमा पनि तेती अब्बल छैन ऊ. पढ्न लाई ऊ सबै बेला पढिनै  रहेको हुन्छ तर जाँचको  परिणाम आउदा ऊ सोचे जस्तो केही ल्याउन सक्दैन. सगैका दौतरीले साथीभाई, भेला जमघट, घुमघाम, पिकनिक, मनोरंजन, डेटिङलाई दिने समय ऊ पढाइलेखाइ  मै लाउछ  र पनि अहँ ऊ कलेजको गन्तीमा आउने विद्ध्यार्थी हुन सकेको छैन.

डेराको विद्यार्थी जीवन हेर्दा निक्कै नै सादगीपूर्ण छ बेद्निधिको. सामान्य दालभात औशी पुर्न्यामा एसो बोइलर्को फिलो र एक मुठो किन्दा गोरु अघाउने पराल पनि सँगै आउने तेही साग र पानी चडेको अररो काउलीको झोल. ऊ एक्लै बस्छ.पहिला साथीसँग बस्थ्यो तर साथी अलिक उच्छट परो भनेर ऊ एक्लै बस्न थालो. साथी कि एउटी केटी लेर आउने र उसलाई नाकका चालले बाहिर जा मलाई चान्स दे भन्ने कि रातभरि केटीसँग फोनमा गफ गरेर न सुत्न दिनु न पढ्न दिनु पारेपछि उसले एक्लै बस्ने निर्णय गरेको.

बेद्निधिले एकदिन रत्नपार्कका सडक पेटीबाट "सर्बाङ्ग'' भन्ने बाहिर गाताको तस्बिरमा एउटी केटीको सबैथोक जसो देखाएको एउटा पत्रिका किनेर ल्यायो कोठामा. उसलाई त्यो तस्बिरले नै किनौ किनौ पारेको हो. उसले उचालेर एसो पल्टायो, भित्र अझ तामझामका कुरा देखेपछि खुरुक्कन रु. २५ झिकेर बुझाएको हो उसले त्यसलाई. कोठामा आएर उसले चित्त दिएर त्यो किताब जस्तो पत्रिका पढो, पल्टायो, दोहोर्यायो र मनमनै के के सोच्यो. त्यस साँझ वेदनिधिले एउटा कविता लेख्ने बिचार गरो. अनेक पल्ट केरकार गरेपछि उसको लेखनीले अन्तिम रुप पायो.
'क्याम्पसको पढाइ डेराको बास
कता पर्छ चाबी कता पर्छ साँचो
भात पकायो भातै काँचो,
शरीरलाई पनि खोइ तिम्रै हो कि खाँचो

बेदनिधि एकपल्ट पढेर मुस्कुरायो. अब त ऊ रत्नपार्क जाँदा एउटा न एउटा मनकारी सर्दाम बोकेरै आउन थालो. कहिले कामसुत्र, कहिले हटगल.....

क्याम्पसमा पिकनिक जानेबारे बठैक बस्ने भो. बेदनिधिलाई मन त थिएन तर एउटा साथीले तानेरै घिस्यायो उम्कनै  दिएन र ऊ पनि बैठकमा बस्यो. केटी लाने कि नलाने पिकनिकमा भन्नेबारे तेतिकै कुरा उठ्यो. खासमा केटी बिनाको पनि पिकनिक हुन्छ भन्ने सबैलाई थाहा छ. गर्दागर्दै केटाहरु अनेक भन्न थाले. कोहि पहिलो समागमको अनुभव दिन थाले, कोहि ह्याट्रिक गरेको गर्व सुनाउन थाले. बेदनिधिलाई केटाहरुको यहि बानी ठीक नलागेर हो बैठकमा बस्न नमानेको अघि. 'खाली अर्काका चेलीबेटीलाई गिद्दे लाउन मात्रै जानेका'  उसका मनले यहि भनो.
'गिद्दे, चमेरे, चिले, कागे, ढुकुरे जे लाउनु अर्कैका चेलीबेटीलाई नै त  हो भन्ने पनि भुल्यो कि क्या हो बेदेले' कथाको बीचैमा नरेशले रयाक हानो.
'सुन न सुन, हा हा हाहा'  सुरजले एक पल्ट हाब्रो च्यातेर हाँसो र फेरि कथा भन्न थालो. 
बेदनिधिले पिसाब आयो भनेर त्यहाँबाट उठेर चम्पट हानो होइन. पिकनिक तय भयो फागुन ७ गतेलाई. भोलिपल्ट क्याम्पसमा पिकनिकमा जानेको नाम टिप्दै हिड्दा बेदनिधिले आफ्नो नाम दिएन. १५ दिन पछि पिकनिक हुने भो केटाकेटी सबैको जमघट. खुलेर रमाइलो गर्ने, नाच्ने, केटाकेटी 'नो  डीस्क्रिमिनेसन'   
पिकनिकको नीति निर्माण भयो. बेदनिधिले सबै सुन्यो तर नसुने जस्तो गरो. ऊ नजाने  भो पिकनिक.

भाग्यको लेखा बेदनिधि एउटा सवारी दुर्घटनामा पर्यो तेही साँझ. उसलाई सिकिस्त स्थितिमा अस्पताल पुर्याइयो तर ऊ बाँचेन. सबै साथीले दुख माने र बिर्सिए. फागुन ७ को पिकनिकमा सबै रमाए झुमे. बेदनिधि त ढिलो ढिलो गरी पिकनिक पो पुग्छ त गाँठे !!!!! सबैले प्रेत भनेर डराए. डराएर काम थिएन. बिरेनले साहस गरेर बेदनिधिलाई सोध्यो- 'ए तिमी त बितेको होइन दुर्घटनामा ?' 'हो नि तर फर्किनु पर्यो नि फेरि' बेदनिधिले रुन्चे मुख लाएर भन्यो. 'किन नि के भो मरेर पनि कोहि फर्किन पाउछ?' अर्कोले डराइडराइ  सोध्यो. 'चित्रगुप्तले खाता पल्टायो र मलाई घुरेर हेर्यो  र खाता लिएर  मलाई पछि पछि आइज भन्दै यमराजका मा पुर्यायो   र खाता जाहेर गर्यो. खाता हेर्ने बित्तिकै यमराजले खाउँलाझैँ गरेर 'थुक्क' भन्दै जोडले भुइमा थुक्यो र मलाई एक चड्कन लायो.....' 'अनि?' बिरेनले भन्यो. अरु सास दबाएर बेदेको जागित्रका कुरा सुन्दैछन. '...अनि ए मुर्ख नालायक युवक, तेरो के हो चाला ? तेत्रो गणतन्त्र आयो तेरो देशमा अझै तँ.... 'किन महाराज ? आउन ता आको छ महाराज'  मैले भने. 'लौ भन युवक तेरो पहिलो यौन आनन्दको कथा, सुना तेरो पुरुषार्थ' भनेर ऊ गर्जियो. 'म त महाराज कुमार नै छु, एकदम पबित्र महाराज' मैले भने. ' तेरीमा पिछडीएका लिङ्ग, उन्तीस उन्तीस बर्ष सम्म   प्रकृतिको मुलधारमा अनाइकन के हेरेर बसिस त तँ ? यस्ता पिछडीएका लिङ्गलाई यहाँ ठाउ छैन' भनेर एउटा चन्ड बोलाएर मुन्टयाउन लगायो अनि घरै नगई सोझै पिकनिक आको म त' भनेछ अरे बेदेले. केटाहरु गलल हाँसे. 'लू यार म त तेसो भा आउनु पर्ने रछ फर्केर' अशिकले भनो. हाँसोको अर्को एक राउण्ड चल्यो. पकाउने तयारीमा लागेका केटीहरु केटाको हाँसो सुनेर फर्किएर हेरे र फेरि काममा लागे. केटा पनि  आफ्नो भागमा परेको काममा लागे.

'हि हि हि पिछडिएको लिङ्ग' जनक ढुंगाको चुलो बनाउदै एक्लै हास्छ.  
   

Saturday, 14 January 2012

गजल

सबै भन्दा चिप्लो हुने सम्बन्धको बाटो रैछ
सजिलो छ ठान्ने मान्छे एक नम्बरको लाटो रैछ

छेउ भित्ता अघि पछि खुब नियालिहिड्दा पनि
भित्रभित्रै गुम्सिआउने नजानिँदो फाटो रैछ

कोहि छ कि नचिप्लिने तेन्जिंग जस्तो बुझिहेर्दा
कोहीका आला घाउ भेटें  कोहीका भर्खर खाटो रैछ

प्रेममा भन मित्रतामा नातेदारमा जेमा पनि
जस्तै मिहिन पारें भन्नू  बार हातको राँटो रैछ

बाँच्न सके खुसी मनले रिस राग पखालेर
सबले सोचौं यो नि एउटा जिन्दगीको पाटो रैछ   

Tuesday, 10 January 2012

आँखाको बन्ध्याकरण

मन भालेको बाससँगै हरेक बिहान
डुल्न निस्किन्छ बाहिर

दिनभरिमा ककसको  के के
पुगिसरी देखेर आउँछ
हरेक साँझ आखाहरुलाई गर्भवती बनाउछ
अनि उज्यालो हुन नपाउदै
आँखाले कोरल्छे सपनाका चल्लाहरू
धेरै जसो  बिल गेट्स या लक्ष्मी मितल  जन्माउछे
आठपाँज देवकोटा र बाबुराम
टम क्रुज, ब्रिटनी स्पेयर्स
र माइकल ज्याक्सन

लालनपालन गर्ने
हुर्काउने सक्षम बनाउने
हुती बिचारै नगरी
लबस्तरो मन
हरेक साँझ यसरी नै
आँखाहरुलाई दुइजिउ बनाउदै
बिल गेट्स, देवकोटा र बाबुरामलाई
क्रुज, स्पेयर्स र ज्याक्सनलाई
सडकमा लगेर फालदिन्छ
र फर्केर साँझमा पुन:
आँखामाथि जाइलाग्छ

आँखा अनेकौं बेत ब्याएर
खोक्पा बुढी भइसकी
तेत्रो सन्तान उसका कहाँ गए
कुनै हिसाबै नदिइकन
लबस्तरो असन्तोकी  मन सधैं.....

अब आँखाले स्थायी बन्ध्याकरण सोच्दै छे
आफ्नु गच्छेअनुसार
त्यही बाँचेको एउटा बिर्खेलाई
हुर्काएर ठुलो मान्छे पार्छे रे ऊ.

Monday, 9 January 2012


नपाली सिनेमा नि हेर्दिनुस न हजुर

नपाली सिनेमा नि हेर्दिनुस न हजुर
हुलका हुल आई विश्वज्योति घेर्दिनुस न हजुर

बेग्लै बनाएँ छुट्टै बनाएँ फरक बनाएँ मैले
भन्ने कुरा यति नै हो टेर्दिनुस न हजुर

हुलका हुल आई विश्वज्योति घेर्दिनुस न हजुर

नाङलो पसल थापेको त जुगौ बितिसक्यो
लौन अब उद्ध्योगमा फेर्दिनुस हजुर

हुलका हुल आई विश्वज्योति घेर्दिनुस न हजुर

शाहरुख र प्रियंकाले जे गरे नि राम्रो
हाम्लाई पनि अंगालोमा बेर्दिनुस न हजुर

हुलका हुल आई विश्वज्योति घेर्दिनुस न हजुर

यसमा एउटा हिरो हुन्छ हिरोइन त भैगई
बाँकी कुरा पर्दैबाट हेर्दिनुस न हजुर

हुलका हुल आई विश्वज्योति घेर्दिनुस न हजुर
 
पिप्ली लाइभ सिप्ली लाइभ त्यो नाथे चैं राम्रो
हाम्रा पनि पिलपिल लाइफ हेर्दिनुस न हजुर

नपाली सिनेमा नि हेर्दिनुस न हजुर
साच्ची कमाल बनेको छ टेर्दिनुस न हजुर
हुलका हुल आई विश्वज्योति घेर्दिनुस न हजुर




Sunday, 8 January 2012

भुन्टे सारै भोकायो

भुन्टे सारै भोकायो फाँडो बसाऊ काली
खाएर सुतोस बेलैमा चाँडो  बसाऊ काली

दिनभरि धुलो खेल्छ कुद्छ गलो सारै
लत्र्याकलुत्रुक परिसको भाँडो बसाऊ काली

कुकर किन्न यो महिना नि सकिएन हेर
हलुंगेको त्यही पुरानु ठाँडो  बसाऊ काली


धानका चामल निख्रीगए कति  मीठो भाथ्यो
खाने हुती त्यही छ हाम्रो फाँडो बसाऊ काली


भुन्टे सारै भोकायो फाँडो बसाऊ काली
खाएर सुतोस बेलैमा चाँडो  बसाऊ काली


कसले भन्यो मेरो देशलाई सतीले सरापेको

कसले भन्यो मेरो देशलाई  सतीले सरापेको
डाडु पुनिउँ हातमा लिनेका मतिले  सरापेको

साँझ नपर्दै काम छोडी कुनाकानी पसिहाल्छन
जनताको करमा चल्ने राग र रतिले सरापेको

कुकुरबिराला मिल्न थाले पसु बरु फेरिदैछ
कहिले नसोझिने ढुंग्रे पुच्छरको अतिले सरापेको

दिन छउन्जेल डुली बिताई उजेलीले लखरलखर
घाम पुगे डाँडामाथि बुद्धिको खतिले सरापेको

श्राद्ध गरे बरखी बारे तिम्रा नाममा पिण्ड दिए
कति हेर्छौ टुलुटुलु भए जतिले सरापेको

कसले भन्यो मेरो देशलाई  सतीले सरापेको
डाडु पुनिउँ हातमा लिनेका मतिले  सरापेको

केही नबुझ्ने ठान्या लाटो अचेल कुरा बुझ्न थालो

केही नबुझ्ने ठान्या लाटो अचेल कुरा बुझ्न थालो
कोदालीको बिंड समाई  बारीतिर  कुद्न थालो

अरुका भर पर्दा पर्दा चेतेको पो हो कि त्यसले
आफैं ढुङ्गो ठड्याएर आफ्नो देउता पुज्न थालो

अघिपछि ट्वा परेर हेर्थ्यो मात्रै बोल्दैन थियो
दर्केझरी भन्दैन ऊ काममै मात्र रुझ्न थाल्यो

साग मूला आलु तोरी फलाउछ   बारी भरि
पैसा राख्ने बैंक कता छ जान्नेसँग बुझ्न थालो

केही नबुझ्ने ठान्या लाटो अचेल कुरा बुझ्न थालो
हिंड्न पनि जान्दैन थियो भटभटेमा कुद्न थालो 

प्रभावशाली नेता हुन उखानतुक्का घोके हुन्छ

प्रभावशाली नेता हुन उखानतुक्का घोके हुन्छ
जिब्रो सारै बोधो भए अकबरे टोके हुन्छ

बिपक्षीलाई खुइल्याउने एउटै खेति गर्दा पनि
पत्रकार दाहिना हुन्जेल चर्कीचर्की खोके हुन्छ

अघिपछि दक्षिण फर्की यतैबाट अर्घ दिए नि
आँठे  पर्दा उतै गई दण्डवतले ढोगे हुन्छ

देशका नाममा सिन्को भाँच्ने लेठो किन गर्नु पर्यो
कुन कुन संघका डाम्नालाई टाउको टेकाई बोके हुन्छ

ठेकी छोडी हातमा दहि जमाएर बस्नु हुन्न
मकै खाने दाँतमै हान्नू दुई चार जना ठोके हुन्छ

तिघ्रा बलिया बनाउनु फेटा रातो कस्नु माथि
हान्ने तुजुक अझै नआए टन्न पहिल्यै धोके हुन्छ

शक्तिशाली नेता हुन उखानतुक्का घोके हुन्छ
बन्न लाग्या काम छ भने छिर्के हाली रोके हुन्छ  

Saturday, 7 January 2012

अर्को गजल

घरमै पाल्नुस  एकान्तमा एउटा गोप्य भेट गरौं
'मालपानी' त चाहियो नि दिनेलिने रेट गरौं

सरुवा बढुवा ठेलुवा तनुवा सबै कुरा अनि हुन्छ
ढुङ्ग्रो कति  लुकाउनु कुरा अब  ठेट गरौं

के भन्छन ती जनता त्यहाँ ढिलो भयो ढिलो भयो
पिना सुक्ने सुकिहाल्छ अझ अलिक लेट गरौं

पिण्ड दिउन कि बरखी बारुन सभासद हौँ जिउँदा हामी
स्विट्जरल्यान्डमा गोष्टी रैछ हिड सबै जेट भरौं


जोर मुखले कोहि खाँदैन खाने मुख एउटै हुन्छ
चिकेन चिल्ली मीठो सारै   पहिले हामी पेट भरौं


घरमै पाल्नुस  एकान्तमा एउटा गोप्य भेट गरौं
'मालपानी' त चाहियो नि दिनेलिने रेट गरौं

प्रश्न

अघिपछि लाउथ्यौ धाँक
पितृसत्ताको
खुब
कर्मैले जितेको सत्ता

हेरुँ न त पाइन म पनि भनी
भाकाले मात्रै मन पराइदिएँ
आँखाले मात्रै मन पराइदिएँ
तिम्ले माग्यौ भने बिचार गरौला भनी
ठिक्क पारेर मन मुटु
कुरें
औंशी गए पुर्ने गए

छेउ सम्म त आयौ
बस न भनेपछि बल्ल बस्यौ
आकाश हेर्यौ र पानी पर्ला जस्तो छ भन्यौ
धर्ती हेर्यौ र दशैं पनि आयो है भन्यौ
औंशी गए पुर्ने गए

खै
तिमीमा गहिरो गरी  गाडिएको
के छ!!!
मेरो बारे जान्न
मलाई कस्तो छ सुन्न
तिमी लागिपर्दा रहेछौ त
तिमीले मुटुमा उमारेर
मेरो लागि केही हुर्काएका त छैनौ ?

भन न त
पितृ सत्ताका माननीयज्यू
तिमीले ओठैमा ल्याएर
के अड्काएको ???
   

Monday, 2 January 2012

देश छोड्दा

चोरी चकारी नगरे चतुर्याइँ हुन्न
दङ्गाफसाद नगरे इज्जतै रहन्न

कबि लेखनाथ पौडेलका सिल्पी कलमले भनेका यी  हरफलाई अलिकति आफ्नै पाराले यसरी  घुमाउने हो भने हाम्रो सामाजिक मुल्यले स्थापित गरेको बिदेशिनुको एउटा मनोविज्ञानलाई प्रस्ट्याउन अलिक तौजी पर्ला.

बढ, पढ र जागिर खाऊ
साच्ची कै बाठो भए  पासपोर्ट बनाऊ
देशैमा बसेर केही पनि हुन्न
विदेश नगए इज्जतै रहन्न

यी हरफहरु लेख्दैगर्दा म स्वदेशमा छैन. त्रिभुवन विश्वविद्यालयबाट सन् २००४ मा  अंग्रेजीमा स्ताकोतर गरेपछिको कागजी योग्यता र  आफ्नो ब्यवहारिक योग्यताको फ्युजनले मलाई पढाइअनुसारको काम  दिएकै थियो. स्नातकोतर सकुन्जेलसम्म  हल्लुंड छिन्नेगरि बिद्यार्थी जीवन भोग्नुको पीडाले म जे जागिर भेटेपनि जहाँ भेटेपनि चुँ नबोली खाने मनस्थितिमा पुगेको थिएँ त्यो बेलासम्म. भनेजस्तै गरी क्याम्पसमा  पढाउन जाने एउटा प्रस्ताब आयो २०६१ पुसको सुरुमै. सिन्धुपाल्चोकको पश्चिमी भेगमा चर्चित मेलम्ची खोलाको किनारमा हेलम्बुको काखमा एउटा ग्याल्थुम भन्ने गाउँ छ. त्यहाँ केही बर्षदेखि  त्रि.वि.को सम्बन्धनप्राप्त मेलम्ची भ्याली क्याम्पस चल्दै रहेछ र त्यहाँ बि.एड.का बिद्यार्थीलाई मूल बिषय अंग्रेजी पढाउने मान्छे चाहिएको मा कुन कुन ऐनमौकाले म त्यहाँ पुगें. विश्वविध्यालयका उपप्राध्यापकले भेट्ने सुरुको तलबमा केही थपथाप गरेरै खानलाउन दिएका थिए क्याम्पस चलाउनेहरुले मलाई सुरुदेखि नै. मैले  त्यहाँ २६  महिना काम गरें. तर मनमा बिचलन र अस्थिरताले कहिले छोडेन मलाई त्यहाँ बसुन्जेल. भनेको अर्थ मेरो भित्रि मनले अर्थोकै खोजेको छ, म जे गर्दै छु त्यो मेरो चाह नै होइन, म जीवनको अविरल राप भोग्ने क्रममा एकछिन यहाँ सुस्ताएको मात्रै हुँ भन्ने साँझबिहानै लागिरहन्थ्यो. यहि बिचमा मैले २०६३ जेठ १५ मा त्यहाँबाट कुलेलम ठोकिछोडें. काठमाडौंमै  जसोतसो चल्दैथ्यो फेरि एउटा अर्को सिन्धुपाल्चोके उच्च मा. वि. ले सरकारी दरबन्दीको माध्यमिक शिक्षक त्यसमाथि उच्च मा. वि. को प्रमुख भनेर लोभ देखाएपछि म हिडें  फेरि २०६४ साउन १५ मा  उतै सिधुपल्चोकतिर भर्खरै जन्मेकी छोरी र आमालाई काठमाडौँमै छोडेर . त्यहाँ साच्ची नै ठुलै भएर बसियो २ बर्ष. तर सरकारी जागिर नै खाए पनि मलाई भित्रि देहले फेरि पिरोल्न थालिहाल्यो. तेरो यहाँ लामो बसाइ हुदैहुदैन भन्छ मनले. मनलागि बस्या भए कमाइ  राम्रै थियो. एकचितले  काम गरिबस्या भए औषत नेपाली परिवारको  लवाइखवाइ धान्ने हो त्यो जागिरले. तर खोइ केले भित्रैदेखि हुटहुटि पार्छपार्छ त्यो पनि भएन भन्ने लाग्न छ महिना पनि लागेन. अनि फेरि हिडें म त्यो जागिर पनि छोडेर २०६६ असार १५ मा.सहकर्मीले दुईपल्ट सोच भने राजिनामा बुझाउदा. मैले सोचें भनेर जवाफ दिएँ र कुम्लोकुटुरो कसेर फेरि  काठमाडौं छिरें. २०६६ असारदेखि २०६८ असारसम्म पुनः काठमाडौँमै बित्यो जीवन. यस बीचमा काठमाडौंका केही थान बोर्डिंग उच्च मा. वि. मा 'हेल्मेट टिचर' भनेर जिस्याइएको मास्टरी गरियो बिहानको समय र दिउँसो केही अन्य काम गरियो. चिसोमा आफू सस्तो दाममा  खट्नु पर्ने साहुजीहरु बर्स्यानी गाडी फेर्छन बोर्डिंग स्कुलतिर. अब यो पनि होइन खोजेको भन्ने लाग्न थालेपछि विदेश हान्ने भूतले पक्डीयो. अनि क्यानाडाको बसाइसराइ भिजाको आवेदन दिएर कहिले  मरी पनि नजाने गरि पनि नखाने मधौरो रुँगे जस्तो त्यसलाई रुँग्न थालियो. दस महिना कुराएपछि  अनि आयो त्यो. 

काठमाडौं - दिल्ली 
ठट्टैठट्टामा एक्लै आबेदन गरियो परिवारलाई नहालिकन सुरुमा. पछि सबैको पासपोर्ट पठा भिजा लगाइदिन्छौं भनेर दिल्लीले भनो त्यो  बेला नेपालमा एम. आर. पी. काण्डले पासपोर्ट नै रोकेको बेला परो र पठाउन नसकेपछि  ४ बर्षे छोरी र आमालाई काठमाडौँ मै बस्दै गर्नु भनेर म २०६८ असार २ तदनुसार जुन , २०११ मा देश छोडेर हिड्ने भएँ.

छोरी आमा धनु र गोपाल सरले त्रिभुवन विमानस्थलको प्रस्थान बाहिर बिदाइको हात हल्लाएपछि म साच्चिकै एक्लै भएँ अब. अब कोहिसँग  बोल्न मन लागे मैले चिनजानबाट सुरु गरेर साथी बनाउनु परो पहिले अनि मात्रै  कुरा गर्न सकिने भो. फगत एक्लो.छोरी र उसकी आमाले रोक्दारोक्दै पनि गालाबाट उँधो गुल्टिएका आशु र छोरीको भक्कानु छुटाउने रुन्चे मुख हेरिसक्नै भएन. त्यहीबेला आँखाका छेउछाउमा भुसुनाले सु गरेर उडेछ कि क्या हो चिसोचिसो महसुस गरेपछि रुमालले  चिसोपन हटाउदै भित्र छिर्ने ताँतीमा मिसिएँ. विमानस्थल सुरक्षाका अनेक विधि र सनातन पछ्याउदै म जसोजसो भन्छन तेसैतेसै गर्दै अन्तिमको रुँग्ने ठाउ सम्म पुगें. अनि रुँग्न थालियो चिलगाडि चढ्ने पालो. मेरो चिलगाडी जेट एयरको थियो, दिल्लीबाट लन्डन अनि क्यानाडाको पियर्सन अन्तरास्ट्रिय विमानस्थल. समयमै उड्ने जनाउ आयो. मेरा दुई ठुलाठुला झोले पोका अघिनै एउटाले अब एक्कै चोटी क्यानाडामै पाउनु हुन्छ भनेर के के टाँसीदिएर कता गाएप पारो पारो. पाइयो भने त भैगो पाइएन भने चैं यहाँ छोडेको माल उता खोइ भन्दा कसले सुन्ला भन्ने मनमा लागो, बाहिर भन्नु भा छैन. ओके ओके भनियो. एउटा एमानको चिल अघि ठिक्क परेर बसेको रछ हामीलाई उसका पेटभित्र हुल्न. सबै जना भित्र पसे र त्यसका मुटु कलेजो फोक्सो पित्त सबैतिर मान्छे नै मान्छे भए पछि त्यो चटपटाउन थालो. पुच्छर कुइंक्क घुमाएर थुतुनो तेर्स्यायो तेसले. दुबइ कतार जाने साथीहरु भन्थे 'एक पल्ट त आशु आउछ नि काठमाडौँबाट उड्दा'. मन एकतमासको भएको छ. कहिले बिदेशको यात्रा गरेको होस न जहाज नै उस्तरी चढेको होस. एक दुईपल्ट काठमाडौँ झापा गरेको हो चिलगाडिका नाममा यसअघि. साच्ची भन्नु पर्दा न सिटको पेटी फटाफट बाँध्न जान्या छ न खानेकुराको छनोट गरिगरि  माग्न खान जान्या छ. जानलाई लन्डन भएर क्यानाडा जाने भन्नु पर्या छ. उडियो. चिलगाडीले नेपाली भुइँ छोड्यो. मिलिक्कै काठमाडौंका घर सडक बजार लाई तल छोडदै उचालियो त्यो उडन्ते. मैले झ्यालबाट तल हेरें. शरीरका भित्रि नशा छुँदै एक किसिमको कहालीको तरंग टाउकाबाट गोडातिर दौडियो. एकैछिनमा थानकोट काटेर माथि उडे जस्तो लागो मलाई. तल नेपाली रातामाटाका पहाड, जंगल, नागबेली, खोलानाला, पक्कि सडक, ठुला बजार के के देखिए र बिस्तारै छोडिए. झ्यालबाट हेर्छु दक्षिणतिर तुवाँलोले धमिल्याएको बिशाल समथर मैदान देखिन्छ. ठानें यति ठुलो मैदान नेपाली त किन हुन्थ्यो. कतिखेर महाकाली तरियो पत्तो हुने कुरै भएन.  काठमाडौँबाट दिल्ली उड्दा लखनउमाथि तिरबाट उड्छ रे जहाज भन्थे. के जान्नु कहाँ  उड्दै छ कहाँ. तेत्रो दुई अढाई सय  मान्छेको जिन्दगी, तिनका भरका, प्रेमका, स्नेह र ममताका  अरु अनेक जिन्दगीका हाँसो र आँशुका  सम्बन्धहरुलाई पेटभित्र सुलुत्तई  निलेर त्यो चिलगाडी  टेक्ने न समाउने हावा पन्साउँदै खोइ कता हो कता हुइँकिरहेको छ सुन्यमा. आफ्नाहरुबाट छुटेको साथ आफ्नो टेक्ने धर्तीबाट छुट्टिएको साथ  माथि हावामा छ एकबारको जिन्दगी. उडेको चंगा पनि धागोको भरले धर्तीसँगै हुन्छ, सुन्यमा झुन्डिएको गुडियालाई पनि झिनै सहि धागोको भर छ टुपीबाट  तर हामीलाई गर्भमा हुलेर उडेको त्यो चिलगाडीको न उँधोतिर टेको छ न उँभोबाट केहिले थेगेको  छ. सम्झिदा राम राम नै छ.   'चतुर्मुखी ब्रह्माको सृष्टि मान्छेले बनाएकै हो यन्त्र चैं' मैले मनमनै कुरा खेलाएँ.

मेरो छेउमा दुईजना भारतीय बाबुसाहेबहरु छन्. म झ्यालपट्टि छु. म आँखा नझिम्क्याई बाहिरको बाहिरै नजर लाइराछु. लाटाले केरा हेरे जतिकै हेरेको हुँ मैले बाहिर. भरे दिल्ली पुग्दा मुन्टो नै कानाहा भएछ एकापट्टी दुख्न पो थालो. एकछिनमा खानेकुरा बाड्दै आए राम्रा न राम्रा केटीहरु, केटीहरुका माझमा दुमु जस्तो एउटा केटो पनि थियो. ऊ पनि उस्तै राम्रो. गोरो न गोरो, आँखीभौँ मैंयाहरुकै तालमा भसक्कै थ्रेडिंग गरेको,  त्यो मृदुभाषी बोल्दा हाँस्दा लोभै लाग्नेगरिको बान्की खुल्थ्यो उसमा. मान्छे केटीको मात्रै सौंन्दर्यले तान्छ लान्छ अनेक भन्छन तर म त्यो केटाको रुप, बान्की र सेवाको ब्यवशायिकीपनले मोहित भएँ.

'तपाई मांसभक्षी पर्नु भो कि भएन होला ?' एउटी रुपसीले मलाई लयालो भाकामा अंग्रेजीमा सोधी. मैले म जे थिएँ तेही भने. उसले मलाई एउटा पोको दिएर गई. छेउका बाबुसाहेबरुले हामी सात्विक भोजन गर्छौ भने. तिनलाई उसले अरु दुई पोका थमाई. मैले खोलेर पोको हेरें. त्यहाँ एउटा कुखुराको तिघ्रो, गांडको ओखती जति फुको भात, झुसिलेको आची जस्तो हरियो अलिकति लेदो र  केही टुक्राटाक्री गाँजर र मूला थिए. एउटा सानो सिलबन्दी बतलमा घांटी भिजाउन पनि राम्ररी  नपुग्ने पानी छ. खोलेर उदरस्थ गर्ने सुर गर्नै लाग्दा अर्की पातली आई र 'केही पेय लिनुहुन्छ कि' भनेर सोधी. मैले तेस्का ठेलुवा गाडामा के के छ त भनेर बक्रदृष्टि लगाएँ. त्यहाँ पिउन भनी बनाएका सबैथोक छन्. छेउकाले जुस भने र हात पारेर पहिले त्यही सुइंक्याउन थाले. यत्रो पखेटा लाएर उडीदैछ जाबो जुस त के खानु भन्ने भो मलाई र एउटा बियर भनें. एउटा टिनका बट्टाले बेरेको बियर दिई  तेसले मलाई र आफ्नु बाटो लागी. छिमेकी भारतीयले कसोकसो घडयापघुडुप पारे कहाँ नेर दबाएदबाए अगाडिको सिटका ढाडबाट एएउटा टेबल निकाले र आफ्नु खान्की राखेर कुपुकुपु खान थाले. म पनि कुरो गम्दै थिएँ 'पहली बार आए हो दिल्ली ?' मुखले निकाल्दै हात संगसगै पुर्यायो मेरो टेबल निस्किने बटम थिच्न मेरो छेउकाले. मेरो चालामाला बिचारेर हो  कि नेपालीलाई हेप्ने उनको सनातनी धर्म निर्बाहले  हो उसले मलाई आदरार्थी भाषामा सोधिराख्नु पर्ने ठानेन. मैले 'हो, मेरो पहिलो अन्तरास्ट्रिय उडान पनि हो' भने भन्नलाई तर मलाई भित्रभित्रै कालापानीदेखि नालापानी सबै  दुख्यो त्यसको हेपाइजतले.

मेरो पनि टेबल फुत्त निस्कियो. मैले पनि कुखुराको तिघ्रो र ओप्सानी हाल्ने जति भातको पन्चम गाँस गरें. मलाई त तिनको खान्कीले पेटमा लेउ पनि लागेन. बिहान ६ बजी कोठाबाट भोकै हिडेको ठुला दारको मान्छे तेस्तो चरी आहारले कहाँ हुनु. मैले बियर टोड्क्याउदा ती छिमेकी मित्रहरु गोजीबाट ल्वांग मरिच झिकेर कुटुकुटु पार्दै बसे. ती मुलांगखरेहरु कहिँ नभका शाकाहारी निस्किनाले ममाथि  निकै कडा शाकाहारी दबाब पनि नजानिँदो  पारामा परिरहेको थियो. कानाका देशमा पुगे आँखा चिम्लिनु भन्थे मैले नचिम्लिन खोज्या निक्कै सकस चैं भएको हो. बियर खाको पो के भन्नु उही मुख बिटुलो पार्नु मात्रै रछ. ठुलै बतलको एक डेढ  बतलले त नछुने पारिसकेको शरीरलाई त्यो नाथे टिनका पाप्राको कति हुनु र. पंचगब्य जस्तो मात्रै भयो. तै पनि सधै जिमिनमा बसेर मात्रै ठाडो घाँटी लाएको आकाशमा उडेर खाएको पहिलो बियर भएकोले त्यो ऐतिहासिक भने पक्कै हो. जहाज गकोगइ छ. निक्कै माथिबाट उडेकाले तल पृथ्बीतलका कुरालाई तलै कता निलो दहमा छोडेर हामी हुँहुँको एकोहोरो आवाज निकाल्दै हावाहावै उडिरह्यौ. बिस्तारै बिस्तारै हामी दिल्ली नजिक नजिक पुग्न थालेको भान दिनेगरी फेरि चिलगाडीले भूतलसंगको दुरी घटाउदै ल्यायो. फेरि जंगल, सेता बगरका आँखाले देख्ने भन्दा उतैका फैलावट, गुजुमुज्ज बजार र सहर, कतै सिंचाईका नहर र मिलाएर चक्लाबन्दी गरेका खेतका अनन्त फैलिएका फाँट देखिन थाले. 'अब हामी पुग्न आँट्यौ आ-आफ्ना जुइनादाम्ला राम्ररी कसेर बस, यो यन्त्र पुरै नरोकिईकन कोइ पनि उठेर नहिडनू' भन्ने फरमान अंग्रेजी र हिन्दी मे आयो. भने मुताबिक नै गरियो. हाम्रो चिलले पाँग्रा घोट्यो इन्दिरा गान्धी अ. विमानस्थलमा. तेती बिधि उडेर आको, पाँग्रामा पनि लंकै  पूगुलाझैं गरी  निक्कैबेर गुड्यो. घुमाउदै घुमाउदै ल्याएर आफ्नो ढोका एउटा सुरुङजस्तो ओडारमा लगेर ठोसेपछि बल्ल मान्छे उठेर आङ् तान्न परकपरक बटारिन थाले. म पनि उठेर ढोका तिर लाम्किएँ. एकपल्ट फेरि काठमाण्डौंमा कुन चिन्नु न जान्नुकाले बुझेका पोकापन्त्यौराको सम्झना आयो.

दिल्ली विमानस्थलको भव्यता देखेर म छक्कै परें. हुन त अब मैले अगाडि देख्नेजति सबै थोकमा नै म छक्क पर्नेवाला थिएँ नै जानीजानी किनभने भने मैले के नै पो देखेको थिएँ र त्यस्तो बिधि. बँधुवा भुँइसी जस्तै त हो नि हामी औषत नेपाली मोराको जीवन. न हनिमुनको जात्रा छ न होलिडेको फन्को छ. त्यही धरहरा, हनुमानढोका, पशुपति, काठमाडौं विमानस्थल, टुडिखेल तेस्तै त हो नि मैले देखेको. अनि अब म छक्क नपरेर ती छेउमै कता बस्ने मोनमोहन सिंह छक्क पर्ने कुरा आओस कसरी. हाम्रो देशमा मानवनिर्मित आधुनिक सम्पदाको नाममा खासै केही छैन हेर्न लायकको ठाउँ. मानवनिर्मित आधुनिकता सभ्यताशैली र बिकासका नाममा भर्खरभर्खर खुलेको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टर छ अलिक अथवा. तेती देखेका भरमा भर्खरभर्खर पुनर्निर्मित र संचालित अत्याधुनिक  दिल्ली विमानस्थल देखेर म छक्क नपरी सक्दै सकिन, मैले के गर्नु.

सिसैसिसा र चिल्ला चम्किला सिल्भर रंगका धातुका  डाँडाभाटाले बनेका हिड्दाहिड्दै थाकिनेगरिका लामा न लामा जिमिनबाट एकतलामाथिको बाटामा हिड्न थालियो ओर्लेर. तेत्रोविधि अनन्त फैलावटमा  भुइँमा भुवादार मखमली कार्पेट छापेको, तेसमाथि माथि नै मखमली कार्पेटमा हिड्दा बिझाउनेलाई भनी कुदिरहेका मान्छे र तिनका पोका बोक्ने सानासाना एक भाँतिका सवारी,सबैथोकको सम्पूर्ण सजावट, आ-आफ्ना झिटीगुन्टा तान्ने, घिस्याउने, काँधमा भिर्ने र कुनै छिटोछिटो हिड्ने प्रतियोगितामा भाग लिइरहेको जस्तोगरि केही कसैको बाल नदिई  अघि लम्किरहेका मान्छेको चार गियरको गति देखेर मैले आफुलाई केही कुरामा पनि फुर्तिफार्ती नभएको गतिहीन गोर्खाली चिप्लेकिरो महसुस गरें. तर म पनि त्यहाँ ढिलो हिनिरहेको भने थिइन. जहाजबाट ओर्लेपछि कता लाग्ने होला भन्ने त डर थियो नै तर खुब अभ्यस्थ भै सकेकोझैं  भाँति झिकेर जता मान्छेको मुख्य भेल बग्छ तेतैतेतै मैले पनि छाला फड्कारे.जीवनमा म तेती छिटो हिडेको थिइन होला पहिले. कि कुदेकै थिएँ कि सामान्य गतिको हिडाइ गरेको थिएँ. हाम्रो जस्तो लोसे पाराले गरिनखाइने रछ बिदेशमा भन्ने लाग्यो मलाई दिल्लीमै.

पिंडुला फर्किनेगरि निक्कै बेर कुदाइको भाइ हिडाइको दाजुमा दम बढाएपछि एउटा छेक्ने ठाँउमा पुगियो. सबै हार लागेर उभिएकोमा म पनि मिसिएँ. एताबाट  उता, उताबाट पर्तिर, पर्तिरबाट झन पर्तिर गर्दै चरणचरणमा महिला तथा सज्जनवृन्द र बिरप्पन जस्ता जुँगामुठे पुलिसहरुले  हाम्रा जिउ शरीर, पोका पन्त्यौरा उधिनेपछि, हाम्रा कागजपत्र र बिदेशको यात्रामा चाहिने सबै दस्ताबेजहरु दुरुस्त देखेपछि, हामी आई एस आई र अलकाइदाका मान्छे हामी होइनौ भन्ने तिनका ब्रम्हले मानेपछि हामीलाई अघि जान छोडिदिए.

काठमाडौँमा केही साथीहरुले 'लौ दिल्लीबाट गयो भने त नेपालीलाई त सकेरै  छोड्छ रे अध्यागमनमा' भन्दै भारतीयहरुले लाउने एक पहिरनको नामले तिनलाई पुकार्दै भनेका थिए र 'आफू त बरु कतारबाट गइन्छ' भन्दै भगौडे शैलीको आफ्नु  बठ्याँई प्रस्तुत गरेका थिए. मलाई उनीहरुका कुरा सारै लुरे र पानिसुकेका मरिच जस्तै लागेको हो सुन्ने बित्तिकै. दैनिक हजारौं मान्छे दिल्लीबाट संसारभरिको यात्रामा जान्छ अनि नेपालीलाई चैं कतिखेर आउला र झ्याँकऔंला भनेर पनि कोहि बस्छ तेत्रो ख्यातिप्राप्त विमानस्थलमा. फेरि आफूसँग सबै बैधानिक कागजपत्र भएपछि हेरौ त कसरी  के गर्दा रहेछन फगत नेपाली भएकै कारण भन्ने लाग्या हो मलाई त. गरौला नि हामी पनि दुईचार बात  हिन्दी र बेलाइती भाषामा  भनेर हिडेको हुँ म काठमाडौँबाट. नभन्दै  आयुका छोरालाई कुनै वायुले भेटेन दिल्लीमा. बरु एउटा, क्यानाडा जान खोजेर पनि जान नपाएको हो या के हो,  अध्यागमनको ठिटौले केटोले मेरा कागजपत्र नियाल्दै मलाई सोध्यो 'तपाई पइन्ट सिस्टमबाट जना लाग्नु भएको ?' मेरो उत्तर 'हो'  गयो उसलाई.  नेपालीलाई क्यानाडाले खुब भिजा दिइरहेकोछ, दिनमा एकदुई जना गइरहेका छन्, हामीलाई पो किन दिदैन, तपाइको कति समय लाग्यो, तपाइहरु खुब भाग्यमानी हो, नेपालमा के गर्नु हुन्थ्यो, किन एक्लै त बिहे भएको छैन आदि के के सोधेर मसँग  उसको अलिकति समय नै पो छुट्टाएर गफ गरो. उसले घरि हिन्दि मे घरि अँग्रेजीमा भनो. उसका कुरा सुन्दा ऊ पनि जान पाए त अहिले नै मसँगै अध्यागमनको जागिरलाई भाँडमा हालेर कुदिहाल्ने थिएँ भने जस्तो गरो. आफ्नो देश छोडेर बाहिर जानुको गरिमा जो आर्जित छ संसारैभरि ऊ मात्रै किन अछुतो होस. म तदनुरुपका जवाफ दिएर ऊ बाट छुट्टिएर अघि बढें. 'उसले सकुशल जानु होला, यात्रा मंगलमय होस' भन्दै मुसुक्क हाँसेर मलाई जान दियो. कति जाति कटौले परेछ प्रसङ्गवस, साथीरुले अत्याएभन्दा ठीक उल्टो. मलाई त्यो सहृदयी मान्छेको खोजिनिती र ब्यबहारले सारै खुसी राख्यो भरेसम्म.

मैले अघि नै मेरो उडान नम्बर, विमान कम्पनिको नाम र मेरो अबको गन्तब्य दाँजेर हेरिभ्याएको थिएँ जताततै मिल्किरहेका टिभिजस्ता भाँडामा. तेसैले म सबै थोकको केरकारबाट उम्केपछि फेरि यसरी अघिकै तालमा टर्मिनल नम्बर ७ तिर हानिएँ कि मेरा हिडेको पनि भन्न नमिल्ने कुदेको भन्न पनि नमिल्ने खालका पाइलाको फड्काराइ र मेरो  शारीरिक भाषा हेर्ने कसैले यो बहादुर पहिलोचोटी दिल्ली आको हो, पहिलो चोटी विदेश जाने जहाज चडेको हो र अब पहिलो चोटी लन्डन उड्दै छ भनेर कल्पनासम्म गर्नसक्नेवाला थिएन. देश खाई शेष भको भानमा म जादै थिएँ एउटा चोक जस्तो फराकिलो न फराकिलो ठाँउ आयो र बाटाहरु चारतिर छरिए. अलमल होला, ढङ्ग नपुग्ला र कन्तबिजोक होला मेरो भन्ने खैलाबैला मनबाहेक साथमा कोहि छैन आफ्नो. एक तलामाथिको यो मेरो जानेबुझेको यात्रुको जस्तो अभिनय यहि आएर टुंगियो. त्यहाँ अन्तरास्ट्रिय स्तरका बिशाल ड्युटी फ्री भब्य दोकानहरु छन्. किन्ने किनिरहेका,  हेर्ने नियाल्ने उति, भिड छिचोलेर आफ्नु गोहो पक्डिनेको सिलिबिली छ. अब टर्मिनल ७ जाने बाटो नसोधे उपाय नास्ती ठानिसकेपछि मैले बोलीमा लुरे पारा  नदेखियोस भन्ने इरादाले सोध्नेकुराको मनमनै एक दुईपल्ट रियाल्स्याल गरें र एउटी ग्राहक पर्खिरहेकी तरुनीका दोकानतिर हान्निएँ. मैले किन तेस्लाई रोजें भने यसो  हेरिल्याउदा अलिक नरमकरम देखिने त्योसँग ग्रह मिल्लान भन्ने भो मलाई. हिन्दुस्तानमा जोसुकैलाई बाटो  सोधेर एता एता भन्दै लगेर आफ्नु सर्दोपर्दो गरेर छोडिदिन्छन रे भनेर सुनेका  किस्सा मनभरि छन कहाँ सोध्नु पनि भो र जसतसलाई. म हौसिएर उसकातिर आको देखेर एकथोक बेच्ने परें ठानी होला तेसले र सेकेन्ड उम्किन नदिइकन उसले अंग्रेजीमा सोधिहाली मैले बोल्नै नपाइ 'तपाईलाई म के सघाउँ ?' मैले उसको व्यापारिक मुस्कानमा खिस्स गर्दै प्रतिक्रिया दिदै टर्मिनल ७ को बाटो पो सोधिदिएँ उसको आशा बिपरित. मेरा कुरा सुनेर खिस्रिक्क परेकी तेसले मेरो उपस्थितिलाई कुनै अभिरुचिको छनक नदिईकन 'उता' भनेर दसतिर मुख फाटेको चोकमा सारै अमुर्त हिसाबले हात उठाई. त्यसको जाँगर मरिसकेको हातले उता भनेर कुन नैरिते कुन आग्नयतिर देखाईदेखाई मेरा लागि तेसलाई  सोधेको र नसोधेकोमा एकै भयो. त्यसको शैली हेर्दै फेरि सोधिस कि अनि थाहा पाउलास दिल्ली भने जस्तो छ, सोध्ने कुरा पनि भएन. तेसै गम्दै थिएँ झल्याँस्स टर्मिनल ७ देखाउने साँवा अक्षर र एउटा तिर लिएर तुन्द्रुंग झुन्डिएको पाटि देखियो. त्यो पाटि मात्रै के पिलिक्क देखिएको थियो म मैदानमा हरि खड्काले भकुण्डो भेटेर पोस्टतिर कुदे जसरी अघिकै पारामा  कुद्न थालिहालें. 

आँखाले भ्याएसम्म पर फैलिएको मखमली कार्पेटको अर्को बाटो देखापर्यो म नाप्न थालिहालें. कति मात्रै ठुलो र गमी नसक्नु को रछरछ दिल्ली विमानस्थल. अघि तेती विधि हत्तु हुनेगरि हिडे  आइयो फेरि उत्तिनै पर देखिन्छ जाने बाटो. भुक्तभोगीहरु समय कटाउन ड्युटी फ्रीमा छिरे होला, चियाचमेनातिर लागे होला, मलमुत्र सेचनमा पसे होला, नाकमुख धोएर चङ्गा भए होला नि आफुलाई भने लन्डन जाने बाटाका मुखैमा गएर बस्न पाए फेर पर्ने थिएन भन्ने मात्रै छ मनमा, एकोहोरो बाइफाल तोड्या छ तोड्या छ.  बल्ल टर्मिनल ७ मा पुगियो. म तेतैहुँदो बस्ने मेचमा बसें. माइकले लन्डन जाने फलाना विमानको फलानो उडानका सबै जना टर्मिनल ७ मा बेलैमा भेला भइसक्नु हए भनेर उर्दी गरेको कानले सुन्यो अवाज त कहाँबाट आयो आयो त्यो भवसागरमा. अब मलाई पर्खिनुबाहेको कुनै लन्ठा थिएन. म टर्मिनल ७ पुग्दा कोहि पनि थिएन. यात्रु जाच्ने टिकट मिलाउने कक्ष एतिखेर खुल्छ भनेर समय दिने एउटा सानो पाप्रो टासेर बन्द थियो. हुन पनि बेला हुदै थियो बिहान साढे एघार उड्नु थियो भरे बार साढेमा. मलाई जस्तो हतार उनलाई हुने कुरै होइन.

एकादुई गर्दै मान्छे आउन थाले. नेपालबाट एउटै उडानमा आएका मान्छे पनि देखिनथाले. भोकले पेट पनि अलिक असजिलो गर्न थाल्दै थियो. के खाने केही छैन साथमा. भरअभर भनेर दुई सय भारु साटेर बोकेको त छ जेपमा तर छेउछाउ किनिखाने ठाउँ देख्दिन म. तेतिकै मुख चाँपेर, पेटारी कसेर वरपर हेरेरै बिताइयो निक्कै बेर. मान्छे बिस्तारै भरिन थाले त्यो पर्खिने ठाउँमा. अब गोरा, काला, फाट्टफुट्ट नेपाली र बहुमत भारतीयका बथानले ठाउँ ढाक्दै छ. उठेर हिडिरहनु, एताउता छुन्मुनाइ रहनु, वरपरका दृश्यमा अर्थ खोज्नु, अर्थ बुझ्न खोज्नु, मान्छेका चालढाल नियालेर नयाँ कुरा टिप्न खोज्नु मेरो स्थायी बेहोराभित्र पर्ने कुरा हुन.  एतिकैमा एकजना नेपालीनेपाली पाराको अधबैंसेका छेउमा बस्न पुगें.  चिनजान गर्दा धनगढीका भोजराज भट्ट भएको पत्ता लाग्यो. एक बर्षअघि क्यानाडा गएका उनी एकताका काठमाण्डौंमा मान्छे ठोकेर मार्न कुख्यात स्वयंभू यातायातले उनका पितालाई पनि  छोडेनछ र नेपाल आइवरी छोराको कर्म सकेर फर्किन लाग्दारान उनी. निक्कै  दुखपूर्ण घडीमा आएर फर्किन लागेका भोजराजजीको कथाले मन अमिलो पारो एकातिर भने अर्कातिर मलाई केही नखोज्दा, ढुंगा पनि नखोज्दा, देउता मिल्यो. अब हामी दुई भाइ जे जे परिआए पनि क्यानाडा पुग्ने भयौं भनेर ढुक्क भो मन. बिन्द्रावनका माझमा हराएको  एक्लो  बालकले माता पाए जस्तो भो मलाई भोजराज भेट्दा.

काठमाडौँदेखि नै बेलाबेला दुई दुई आँखा चार भइरहेका थिए एउटी गोरी तरुनीसँग त्यो पनि आइपुगी. फेरि त्यो आँखा जुधाउने क्रम चल्यो. सायद नेपाल घुम्ने आम बिदेशीले सिक्ने थेगो जस्तो ' देरै राम्रो नेफाली मान्छे' लाई सँगै लन्डन जाने दाउमा लागेको देख्दा अन्तिम पटक  राम्रो नेपाली जातिसँग भलाकुसारी पो गर्न चाहेकी थी कि  बजिनिले. कुनै तोर्पे छ कि तेसको भनेर भनुँ भने  काठमाडौँ देखिनै  एउटा गाडाझोला घिच्याउदै एक्लै  देख्छु. भए त यतिबेर गाला नजोडी कसरी  बस्न सक्थे यी जात भन्ने ठान्छु. छेउमा गएर हाइ हेल्लो चलाएरकुरा गर्ने लेठो गर्न मन लागेन. अलिक पर्तिर अर्को नेपाली पनि देखियो. नेपाल घुमेर फर्केका गोरागोरीलाई जिब्रो बटारी बटारी अँग्रेजीमा 'नेपाल इज भेरी भेरी ब्युटिफुल' भनेर भर्खर नेपाल देखेर आएकालाई सुनाउदै छ. भोजराजजी पनि उसका कुरा सुन्दैरान मूलाले गफ त गरो ठिकै छ तर नेपाल भनेको पनि 'निफल' भन्छ सुन्नु न भन्दै मलाई सुनाए.

पर्खिने मान्छेका हुल माझमा एक जोडी नेपाली बाआमा पनि छन. तिनका साथमा छिन एक तरुनी वयकी केटी मान्छे. बाले नेपाली ढाका टोपी, तात्तातो आइरनका धार भएका नयाँ कोट प्यान्ट सट र नयाँ जुत्ता र आमाले उही हाम्रै पाराको सारी चोलो र मजेत्रो, कानमा सके  नयाँ नभए पनि भर्खर उज्जिल्याएका मारबाडी, देब्रे हातका दुई औंलामा उस्तै औंठी लाएर कम्तिमा मान्छेका मुखेन्जी सारै ठुटइबुटइ हिड्नु नपरेको इज्जत राखेकी छन्. मैंयाले भने न्युरोडमा किनेको प्यान्ट र पातापाखुरा खुल्लै राख्ने हावा राम्ररी ओहोरदोहोर गर्ने वातानुकुलित एकसरो किसिमको गन्जी लाकी छन. उठ्दा बस्दा ओल्टोकोल्टो पर्दा वायुमण्डलमा  खुलमखुल्ला छोडिएको लहलह तिनका केशराशीले फ्याल्ने बहुरंगी किरणले थप्नु बान्की थपेको छ तिन्को हास्नेबोल्ने शैलीको जुहारमा पनि. तिनले मलाई ती बाआमा लिएर आइपुग्ने बित्तिकै अंग्रेजीमा सोधेकी थिइन यो लन्डन जाने टर्मिनल ७ हो भनेर. सबै कुरामा छ्यानबिबेक पुर्याउदा लाग्छ ती बाआमा नेपालको कुनै ग्रामीण जीवनका अर्धसाक्षर मातेपिते हुन र पढेलेखेका जगत देखेका पौरखी सन्तानले लन्डन घुमाउने परे र त्यस्तरी विधि सिंगारपेटार पारेर कसैले छि: भन्न नसक्ने पारेर लादैछन. तेत्रा पराइका माझमा त्यो ठडीएको ढाका टोपी र ती चम्केका मारबाडीले कम्तिता सोभाउ देका थेनन दिल्लीको  टर्मिनल ७ मा.

कोहि निन्द्रा पुर्याइरहेका छन् बसेकै ठाउँमा, कोहि कच्याककुचुक के के खाइरहेका छन, कोहि  एताउता चलमलाई रहेकाछन. हाम्रा नेपाली मातापिता तेसै मुहुनी हराएजस्तो गरि टोलाएर हेरिरहेका छन. समय आउदै छ लन्डन जाने.

टिकट जाँच्ने खुल्यो, सबै उठेर ताहुरमाहुर गर्न थाले र हेर्दा हेर्दै  हार बनिहाल्यो. सबै हारमा मिसिए. बुढापाका, जिर्ण, अशक्तलाई पहिले छिराए र हामी तिघ्रेहरुलाई पछि भने. अलकाइदालाई सिध्याउने बुसको खेलमा सघाउने ब्लेयरको देशमा छिर्न लर्तरो खानतलासीले लादेनका मान्छे कहाँ चिन्नु. अघिनै शरीरमा जनै र कन्दनिबाहेक केही नभेटेर छोडिदिएको  फेरि बीचैमा केही उब्जाए कि कतै सिङ जुरो पो  पलायो कि एतिबेरमा भनेर होला फेरि केटालाई केटाले केटीलाई केटीले सबैथोक छामछामछुमछुम पार्दिए. अब त भयो होला भन्या फेरि जहाजको ढोकामा अर्का जेम्दग्नी बसेका रहेछन छाम्न. खासमा तिनले हामीलाई नाजाँचिकन  गोलाबारुदसहित पठाए भन्दा पनि हुन्छ किन कि प्रत्येक  अघिल्लो जाँचको  कुनै भर थिएन उनीहरुलाई अनि अन्तिम भन्दा बढी फेरि एकपल्ट, अनि फेरि, फेरि, फेरि,..........  जाँचेको भए पो हाम्रा पड्काउने जिनिस तिनले भेट्नु नि. 
    
अघि काठमाण्डौंबाट आउँदाको भन्दा ठुलो तीन लहर बस्ने सिट भएको र प्रत्येकमा ३ जनाको दरले बस्ने कुर्सि भएको एमानको चिलगाडीमा पसेर आफ्नो सिटमा बसेर दिल्लीलाई बिदाइ गरियो. त्यसको काम उड्ने उडिगो. एकैछिनमा  हंसमुख युवतीहरु के खाने के लाउने भनेर  चाकर गर्न आउने आइहाले. अबको ८ घण्टा फेरि आकाशमा नै हुनेवाला थियो उसरी नै. अब लण्डनको हिथ्रो विमानस्थलमा साँझ सात साढेमा ओर्लिएपछि भोलिपल्ट  ८ बजे बिहानको क्यानाडा एयरको उडान  पक्डिन उज्यालो पार्न के खाइयो र कहाँ सुतियो भन्ने बारेको दर्दनाक कथा त बाँकी नै छ.  संसारको सबै भन्दा पातलो साबुनको फिंजमा उठेको फोको जस्तो पातलो माया चै एयर होस्टेजको हुँदो रछ. एकछिन अघिसम्म मुस्कानका मुस्कान लाएर खाको नखाको सोधेर भोक तिर्खाको ख्याल गर्ने ती आमा जस्ता रुपशीहरु हिथ्रो विमानस्थल पुगेपछि  हामीलाई 'अब जहाँसुकै मर' भनेजस्तो गरी स्यालको सिङझैं कता अलप भए भए. यो चिलगाडीको चलन कस्तो लोकलाजी ! कति क्षणभंगुर !! जो भोग्नु तेसपछि भोगियो. आगे लेख्दै जाउँला.



                    
       
   

Sunday, 1 January 2012

आजका बाउको बिलाप

बढ, पढ र जागिर खाऊ
बाउकै छोरो भए पासपोर्ट बनाऊ
देशैमा बसेर केही पनि हुन्न
विदेश नगए इज्जतै रहन्न

फलानाका छोराको देखिस के चाला
घर मोटर के के हो सुनका बाला
एउटा छ अम्रिका अर्को छ युके
जोरीपारी सबैले मलाई चैं थुके
तँईं मोरोचैं के दिनमा जन्मेर आइस
देशैमा कुहेर  इज्जतै  डुबाइस
बढाएँ पढाएँ पुर्याएँ डिग्री
हेर छोरा सधैं यसरी  नबिग्रि

बना न छोरा ए पासपोर्ट बना
कुदिहाल जिल्ला सुब्बालाई समा

काजीका छोरा हेर दशैंमा आए
पैसाका बिटा र सुन कति ल्याए
सहरमा  अर्को घर काँ हान्ने परो
जे गर्नू यहाँ सब काजीले गरो
नाम मात्रै काजि थ्यो मान्छे थ्यो पाजी
ऐले ऊ थाप्दिन्छ  हजारकै बाजी
दशैं हेर तीनकामा के बिधि आको
दुदुईटा खसीको सबै पक्कु लाको
के मनले बुझाउनु मैंले हरे चित
पाकेर आउने भो भित्रभित्रै पित्त
खिच्न जा फोटो भरिहाल फाराम
कतिन्जेल गर्छस ए  बोडिंगमा आराम

बना न छोरा ए पासपोर्ट बना
कुदिहाल जिल्ला सुब्बालाई समा


भाबी नै जन्माएछ काजीले छोरा
रुप पनि उस्तै गोरा न गोरा
मेरो चैं  महिनाको खै कति पाउँछ
जहिले नि फुलबुट्टे तेही सुइटर लाउँछ
चाउरीसको छाला किलकिले छ बाहिर
न खोज्छ वधू न हुन्छ वर
जैले नि काठमान्डू काठमान्डू भन्छ
बोडिंगको मास्टर छु आराम र सन्च
म चामल गुन्द्रुक खेपेको खेपेई
काजीले छिमेकमा हेपेको हेपेई
ए छोरा गइहाल न कुदिहाल ऐले
पासपोर्ट बनाएर झट्टै आ पैले
पेसीहाल ठाउँ ठाउँमा अलि चंख बन्नू
सबथोक जान्दछु एस एस भन्नू
गइहाल पठाइहाल आइएमईको पोको
म यता छोड्दिन्छु नाम्लो  र डोको
बुझिदे बेलैमा बाउको धोको

बना न छोरा ए पासपोर्ट बना
कुदिहाल जिल्ला सुब्बालाई समा


बढ, पढ र जागिर खाऊ
बाउकै छोरो भए पासपोर्ट बनाऊ
देशैमा बसेर केही पनि हुन्न
विदेश नगए इज्जतै रहन्न.